site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महाकालीमा बग्दै दार्चुलावासीका सपना, २९ वर्षमा एउटै वडाका २७ जना बेपत्ता

डडेलधुरा । यही पुस २१ गते दार्चुलाको व्याँस गाउँपालिका–४, डोकटकी राइमती बिष्ट घरबाट घाँस काट्न निस्किइन् । घाँस काट्नका लागि भारत जानुपर्ने थियो । तर, महाकाली नदी तर्न पुल थिएन । सधैँजस्तै उनले अस्थायी तुइनमार्फत महाकाली पार गरिन् ।

“राइमती तुइनमार्फत महाकाली तरेर रोडसम्म पुग्दा उनले १० वर्षीय आफ्नै छोरा दीपक तुइन तरिरहेको दृश्य देखिन्,” व्याँस गाउँपालिकाका उपाध्यक्ष विनोद कुँवरले भने, “हतारहतार रोडबाट तुइनसम्म पुग्दा दीपक भने तुइनबाट खसेर महाकाली नदीमा बगे ।”

उपाध्यक्ष कुँवरका अनुसार घाँस काट्न मेलातर्फ हिँडेकी उनले दीपक पनि पछि लागेको पत्तै पाएकी थिइनन् । “तुइनमा झुन्डिएको देखेपछि मात्रै राइमतीले छोरा दीपक पछिपछि लागेर आएको थाहा पाएको जानकारी हामीलाई दिएकी छिन्,” शनिबार राइमतीलाई भेटेर फर्किएका उपाध्यक्ष कुँवरले बाह्रखरीलाई टेलिफोनमा भने ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत मगरले बिहीबार घटना भए पनि शनिबार मात्र जानकारी आएको बताए । “शनिबार घटनाबारे जानकारी आएपछि घटनास्थलमा प्रहरी पठाइएको छ,” उनले भने, “आज घटनास्थलमा मुचुल्का उठाउने काम पनि हुन्छ ।” 
०००
०७९ असार तेस्रो साता व्याँस गाउँपालिका–२, दुम्लिङका सचिन बुढाथोकीको घरमा नुनतेललगायत उपयोग्य सामान सकिएको थियो । सधैँजस्तै सामान किन्नका लागि भारतको गर्भाधार बजार पुग्नुपर्ने भयो । त्यहाँ पुग्न उनलाई एक घण्टा समय लाग्ने गरेको थियो ।

भारत आउजाउ गर्दा तुइनमार्फत महाकाली तर्नुपर्ने दुम्लिङवासीको बाध्यता छ । तुइनमार्फत महाकाली तरेर गर्भाधार बजार पुगेका सचिन किनमेलपछि घर फर्कन लागे । महाकालीको बीच भागमा पुगेका बेला भारततर्फ बाँधिएको तुइनको तार भाँचियो । तुइनसँगै १८ वर्षीय सचिन उर्लंदो महाकालीमा बेपत्ता भए । महाकालीमै बग्यो सचिन र उनको परिवारको सपना पनि । 
०००
०७८ साउन १५ गते व्याँस गाउँपालिका–२ का ३३ वर्षीय जयसिंह धामी सदरमुकाम जान लागेका थिए । सदरमुकाम खंलगा पुग्न महाकाली तरेर सुरुमा भारत पुग्नुपर्ने थियो । महाकाली तर्न पुल थिएन । विकल्पका रूपमा मालघाटमा थियो तुइन । उनलाई पारि पुर्‍याउने जिम्मा लिए तुइन सञ्चालक कल्याणसिंह धामीले ।

तर, जयसिंह पारि पुग्न पाएनन् । पारि पुग्न एक मिटर मात्र बाँकी रहँदा उनी महाकालीमा खसेर बेपत्ता भए । पारि (भारततर्फ) बाँधिएको तुइनको फेरो भारतीय सीमा सुरक्षा बलका जवानले फुकालेपछि जयसिंह बेपत्ता भएका थिए । उनी बेपत्ता भएपछि विदेश गएर परिवार पाल्ने उनको सपना पनि महाकालीमै बिलायो ।

akdfsafggf1673158287.jpg

जयसिंह बेपत्ता भएको डेढ वर्ष पुगेको छ । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको समितिले छानबिन गरी घटनामा भारतीय एसएसबीलाई दोषी देखाएको थियो । छानबिन समितिले त्यसमा संलग्नलाई कारबाही गर्न सरकारलाई आग्रह गरेको थियो । तर, अहिलेसम्म पीडित परिवारले न्यायको अनुभूति गर्न पाएको छैन । जयसिंह पनि भेटिएका छैनन् ।

२९ वर्षमा एउटै वडाका २७ जना बेपत्ता
आफ्नै जिल्ला सदरमुकाम पुग्नका लागि भारतीय मार्ग प्रयोग गर्नुपर्ने दार्चुलाको व्यासवासीको बाध्यता छ । भारतीय मार्ग प्रयोग गर्नुअघि व्याँसवासीले महाकाली नदी तर्नुपर्छ । महाकालीमाथि पर्याप्त पुल नहुँदा ठाउँठाउँमा तुइन बनाइएको छ । तर, तुइनकै कारण कैयौँका सपना महाकालीमा बगेका छन् ।

पछिल्लो २९ वर्षको अवधिमा व्याँस गाउँपालिका–२ मा रहेका तुइन तर्ने क्रममा मात्र २७ जना बेपत्ता भएका छन् । ०७८ साउनमा जयसिंह धामी बेपत्ता भएपछि गाउँपालिकाले तथ्यांक संकलन गर्दा २७ जना तुइन तर्ने क्रममा बेपत्ता भएको भेटिएको व्याँस–२ का वडाध्यक्ष धीरनसिंह बुढाथोकीले बताए ।

“२०५० सालदेखिको तथ्यांक संकलन गरेका छौँ,” वडाध्यक्ष बुढाथोकीले भने, “सचिनसहित २७ जना महाकाली नदीमा तुइन तर्ने क्रममा बेपत्ता भएका छन् । बेपत्तामध्ये अधिकांशको शव पनि फेला परेको छैन ।”

तुइन तर्दा अरू वडाका थुप्रै बासिन्दा पनि महाकालीमा बेपत्ता भएको तथ्यांक रहेको र उनीहरू फेला नपरेको वडाध्यक्ष बुढाथोकीले बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, पुस २४, २०७९  ११:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro