site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘म्यान्ली रोमाञ्च’मा रोमाञ्चित मन !
Tiktok banner adTiktok banner ad

सँगै थियौँ नियात्राकारका रूपमा । एउटै संस्थाभित्र । मिटिङमा बसेकै बेलामा उहाँले झोलाबाट फुत्त किताब निकाल्नुभयो । वरै बसेकी मैले छोटा हात तन्काएर भने, “दाजु, यो किताब मलाई ।”

आडैमा बस्नुभएका प्रतीक ढकाल दाजुले भन्नुभयो, “अध्यक्षसँगै छु, प्रेसबाट ल्याएको पहिलो पुस्तक नै मलाई भन्न मिल्छ !”

पुस्तकको पाना पल्टाउँदै म हाँसे । सायद केटौलेपनको थियो ।

पुस्तक अष्ट्रेलियाको रहेछ । म्यान्ली भन्नेबित्तिकै मेरा आँखामा नीलो महासागर लमतन्न तेर्सियो ! छालको उत्ताउलोपन र पौडीबाजहरूको जोस आँखाअगाडि नाच्न थाल्यो ।

“ए ! यो त अष्ट्रेलियाको नियात्रा रहेछ । मैले नछाड्ने भएँ ।” म फेरि बोलेँ ।

लेखक तेजप्रकाश श्रेष्ठ दाजुले भन्नुभयो, “साधारणसभाको दिन विमोचन गर्न मिल्दैन ?”

अध्यक्षले उत्निखेरै भन्नुभयो, “किन नहुनु !” आफ्नै घरमा परिवारको सदस्यको पुस्तक विमोचन गर्न अकमकाउनुपर्ने कुनै कारण नै पनि त थिएन ।

“गीताजी, त्यस दिन किताब पढेर तपाईंले नै बोल्नु ।” प्रेसबाट निस्कनेबित्तिकैको तातोतातो पुस्तक समातेपछि मैले नाइँ भन्नै हुन्थेन । मैले सहर्ष ‘हुन्छ’ भनेँ ।

अगाडि–पछाडि हेरेँ । सँगै भएर पनि कहाँ सबै थोक थाहा हुन्छ र ! जन्ममितिमा ठोक्किएका आँखाले मेरो बुबाको उमेर सम्झायो । दाजु भनिरहेको उहाँ र मेरो बुबाको जन्म त एउटै सालमा भएको रहेछ । मभित्र अपार श्रद्धा जाग्यो ।

मेरा बुबा मास्टर हुनुहुन्थ्यो, उहाँले मास्टर्स गर्नुभएको ! पुरस्कार र सम्मानले भरिनुभएको । प्रकाशित पुस्तक गन्दै गएँ । कथा, कविता, उपन्यास, बालसाहित्य र नियात्रा गरेर मेरो हातमा परेको ‘म्यान्ली रोमाञ्च’ सयौँ पुस्तक पो रहेछ । ओहो ! अकस्मात् मेरो मुखबाट आवाज निस्कियो ।

पुस्तक पढ्न थालेँ , छोटामिठा वाक्य गठनका कारण पढ्न धेरै नै सहज । आफू हिँडेको बाटो मात्रै नभएर प्रसंगवश निस्किएका कुराको इतिहासको खोजी गर्नु लेखकको विषेशता नै रहेछ । जान त छोराछोरी भेट्न नै जानुभएको हो । तर, बाहिर घुम्न निस्कँदाचाहिँ पाठकलाई पनि सँगसँगै घुमाउने खुबी लेखकमा भरपुर रहेछ ।

हिन्दुहरूको धार्मिक सहिष्णुताको नमुना छ यहाँ । चर्च मात्रै होइन, भेटेजति सबै धर्मका देवालयहरू एउटै पुस्तकमा भेटिन्छन् । उहाँ खोजीखोजी सबै चर्च, मस्जिद र मन्दिरहरूमा जानुहुन्छ र देखेका कुरा सप्पै भनिदिनुहुन्छ !

हो, यात्रा गतिशील हुन्छ भन्दैमा कहाँ दौडी रहँदो रहेछ र, पछाडि फर्केर खोतल्दो रहेछ इतिहास पनि ! त्यति बेलाका घटनाहरू अहिले ओहो भनेजस्तो लाग्ने ।

पुस्तक पढ्दै गर्दा अष्ट्रेलियाको खडेरी र आगलागी आँखाअगाडि नै ह्वारह्वार्ती भएर आयो । हामी हरेक कुरा छिट्टै बिर्सेर तंग्रिन सक्छौँ नि !

मेरा घरका आधा सदस्य अष्ट्रेलियामा छन् । र, तिनका सुख र दुःख म नजिकैबाट नियाल्छु । यो खडेरी र डढेलो मैले टीभीमा मात्रै हेरिनँ, उनीहरूसँग प्रत्यक्ष संवादमा पनि महसुस गर्थेँ ।

अहिले भुलेको भनौँ वा खाटा बसेको जस्तो भएको रहेछ । यो पुस्तक पढ्दै जाँदा डढेलोमा परेर छटपटाइरहेका जनावर मात्रै होइन, अग्निनियन्त्रकको छटपटी पनि आँखैमा नाच्यो ।

यहाँ अष्ट्रेलिया घुमेका त धेरै हौँला । पुस्तक लेख्ने पनि धेरै नै छौँ होला । युवराज नयाँघरेको ‘आँैला औँलामा अष्ट्रेलिया’, वियोग बुढाथोकी दाजुको ‘बेलग्रेभको छुकछुके रेल’, पोष चापागार्इंको ‘पश्चिम अष्ट्रेलिया यात्रा संस्मरण’ र कलाधर काफ्लेको ‘सिडनीको सेरोफेरो’ ।

मन खुसी हँुदा संसारै खुसी देखिँदो रहेछ । दाजु जतासुकै खुसी हुनुभएको छ । म पीडामा थिएँ, पीडै खोज्न हिँडे–अवैधानिक बसोबास गरेका बेखबर श्रमिकहरू । कागजी विवाहले निम्त्याएको समस्या ।

विदेशबाट घर आउँदा नेपालीको फर्याकफुरुक र विदेशमा नेपालीको परिश्रम । शौचालयको डिउटी रोस्टरमा नेपाली नाम मात्रै देख्दा कसरी कटक्क भएथ्यो मन । सम्झना आयो र फेरि दुख्यो ।

दाजुलाई जस्तै आदिवासी भेट्ने हुटहुटी मलाई पनि कहाँ नभएको हो र ? जब फुर्सदको एक दिन दिदीले मलाई आदिवासीसम्बन्धी एउटा डकुमेन्ट्री देखाउनुभएको थियो, त्यो हेरेपछि मैले तिनलाई भेट्ने लालसा त्यागेँ । बेलायतीहरूले गरेको ज्यादतीको क्षतिपूर्ति कुनै चिजले हुन सक्थेन ।

आदिवासीलाई सम्मान गर्न नसक्ने तर भाग्नचाहिँ सक्ने ! जन्मिएका बच्चा गोरा भए राख्ने र काला भए मार्ने या खेद्ने । कस्तो निकृष्ट मानवीयता हो ! म पनि भेउ पाउन नसकेर हैरान भएको थिएँ ।

दाजुले तिनै खोसिएका पुस्ता पनि धुइँपत्तालसँग खोजेर टेन्ट एम्बेसीको प्रतीकसम्म भेट्टाउनुभएको छ । आदिवासीका धर्म, संस्कृति र चाडपर्वहरू गजबले देखाउनुभएको छ ।

तेज दाजुले आदिवासीप्रति देखाएको चासो, तिनको इतिहास पस्केको कुरा एकदम मन पर्यो । तर, म पनि त आदिवासी हुँ नि भन्ने शब्द दोहोरिरहँदाचाहिँ मनभित्र खै के–के भयो भयो !

अष्ट्रेलियाले भनौँ वा बेलायतीले २६ जनवरीका दिन स्वतन्त्रता दिवस मनाइरहँदा आदिवासीले कालो दिवसका रूपमा मनाएको कुराले कम्ता सन्तोष दिँदैन ।

यस कृतिले सुनखानीको ओडारदेखि समुद्रको नीलो पानी र छालसँग उफार्दै वेल्स, भिक्टोरिया र क्यान्बेरा राज्यका केही भूगोल घुमाउँछ । समुद्री तट होस् या पार्कको कुनै छेउमा बनेको युद्ध स्मारक । तिनमा लिपिबद्ध योद्धाका नामले मनमा गुमेको श्रद्धा फिर्ता ल्याउँछ ।

दुई दर्जन शीर्षकमा बाँडिएका नियात्राहरूले प्लेन चढेर अष्ट्रेलिया उडेदेखि घर फर्केर बसेसम्मका कुरा भन्छन्, खररर ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २३, २०७९  १२:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro