
काठमाडौं । चलचित्र विकास बोर्ड आफ्ना मागमा केही लचिलो भएपछि चलचित्र संघ वार्तामा बस्ने तयारीमा रहेको छ । संघको बैठक अहिले बसिरहेको छ । बैठकमा सहभागी संघका द्वितिय उपाध्यक्ष गोपालकाजी कायस्थले बोर्डले वार्ताका लागि आह्वान गरेको भन्दै वार्तामा जाने तयारी गरिरहेको बताए ।
“हाम्रो कार्यसमिति अहिले छलफलमा छ । बोर्डले वार्ताका लागि पत्राचार गरेको छ । सेन्सर गर्ने समय सात दिनबाट घटाएर चार दिनमा झारेको छ,” उनले भने, “रातिको ११ बजे पछि पनि बोर्डलाई जानकारी गराए पुग्ने भन्ने बोर्डले निर्णय गरेको छ । यसलाई संघले सकारात्मक रुपमा लिएको छ । बाँकी हाम्रा माग वार्तामा बसेपछि पूरा होला भन्ने विश्वास छ ।”
बोर्डले सल्लाहकार नियुक्त गर्दा चलचित्र संघलाई नसमेटेको गुनासो गर्दै असन्तुष्ट बनेको संघले आफ्नोतर्फबाट बोर्डमा सल्लाहकार नियुक्त गर्न नाम सिफारिस गरेको छ । स्रोतका अनुसार संघका उपाध्यक्ष गोपालकाजी कायस्थलाई सल्लाहकारमा नियुक्त गर्न सिफारिस गरेको छ ।
सम्भव भए आजै नभए भोलिसम्ममा बोर्डसँग वार्तामा बस्ने संघको तयारी छ ।