
काठमाडौं । संसदीय व्यवस्था अभ्यास गरेका अधिकांश देशमा पार्टी संगठन र संसदीय दलको नेतृत्व प्रायः अलग–अलग व्यक्तिले गर्ने अभ्यास छ । अर्थात्, देशको प्रधानमन्त्री हुन पार्टीकै नेतृत्वमा रहनु पर्दैन ।
पछिल्लो समयमा नेपालमा भने पार्टी नेतृत्वमा रहेको व्यक्तिले नै सरकारको नेतृत्व गर्ने अभ्यास चलेको छ । तर, अहिले ठूला दलका शीर्ष नेतृत्त्वमा रहेकाहरू भने पार्टीको नेतृत्वमा नपुग्दै संसदीय दलको नेता चुनिएका थिए र प्रधानमन्त्री पनि भएका थिए ।
कृष्णप्रसाद हार्दा गिरिजाप्रसादलाई अवसर
प्रजातन्त्र पुनःस्थापनापछि २०४८ मा भएको संसदीय निर्वाचनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेपाली कांग्रेसका सभापति थिए ।
उच्च राजनीतिक व्यक्तित्व (टावरिङ पर्सनालिटी) भए पनि २०४८ सालमा कृष्णप्रसाद भट्टराई नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारीसँग चुनाव हारे ।
त्यसपछि कांग्रेसका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइराला संसदीय दलको नेता बने र उनकै नेतृत्त्वमा सरकार बन्यो । तीन वर्षसम्म चलेको कोइराला सरकारले थुप्रै सुधारका काम गरेको थियो ।
विसं २०५१ सालमा कोइराला सरकारले संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रम कांग्रेसको बहुमत हुँदाहुँदै आफ्नै सांसदको अनुपस्थितिका कारण पारित हुन सकेन ।
त्यसपश्चात् कोइरालाले संसद् विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेका थिए । तर, २०५१ को निर्वाचनमा कुनै पनि दललाई बहुमत प्राप्त भएन । कांग्रेस दोस्रो पार्टीको हैसियतमा खुम्चिन पुग्यो ।
कोइरालाले हारको जिम्मा लिँदा देउवालाई अवसर
निर्वाचन परिणामको जिम्मा लिँदै गिरिजाप्रसाद कोइरालाले संसदीय दलको चुनाव लडेनन् । कोइरालाका विश्वास पात्र २०४८ का गृहमन्त्री शेरबहादुर देउवा संसदीय दलको नेता चुनिए ।
एमालेको अल्पमतको सरकार नौ महिना टिकेर ढल्यो । त्यसपछि देउवा प्रधानमन्त्री भएका थिए ।
एउटै कार्यकालमा कांग्रेसका दुई नेता तीन प्रधानमन्त्री
विसं २०५६ सालको निर्वाचनमा कांग्रेसका सभापति थिए –गिरिजाप्रसाद कोइराला । उनकै नेतृत्वमा चुनावमा जाँदा प्रधानमन्त्रीको उमेदवारका रूपमा भने कृष्णप्रसाद भट्टराईलाई अघि सारिएको थियो ।
कांग्रेसले बहुमत प्राप्त गरेकाले पार्टी सभापति गिरिजाप्रसाद नै भए पनि कृष्णप्रसाद भट्टराई संसदीय दलको नेता सर्वसम्मत भए र प्रधानमन्त्री बने । तर, कांग्रेसभित्रको अस्वस्थ प्रतिस्पर्धाले भट्टराईले बीचमै राजीनामा दिए । उनको राजीनामापछि कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको संसदीय दलको नेता र प्रधानमन्त्री बने ।
माओवादीको हिंसात्मक द्वन्द्व चर्केको बेला रोल्पाको होलेरीमा माओवादी लडाकुका कमान्डरहरूलगायत शाही नेपाली सेनाको घेराबाट उम्केपछि सरकारमाथि चर्को दबाब पर्यो ।
संसद्मा सरकारको चर्को विरोध भइरहेकै बेला गृहमन्त्री रहेका रामचन्द्र पौडेलले प्रधानमन्त्रीको विरोध गर्दै राजीनामा दिए । त्यसपछि प्रधानमन्त्री कोइरालाले पनि राजीनामा दिए ।
संसद्मा बहुमत भएको कांग्रेसबाटै अर्को प्रधानमन्त्री छान्नुपर्ने भयो । त्यसक्रममा संसदीय दलको नेताको चुनावमा कांग्रेसका महामन्त्री सुशील कोइरालालाई हराएर केन्द्रीय सदस्य देउवा संसदीय दलको नेता निर्वाचित भए ।
पार्टी सभापति गिरिजाप्रसाद कोइराला तटस्थ बसेको बताइए पनि उनी निकटका मानिने केही प्रभावशाली नेताहरू देउवाका पक्षमा खुलेका थिए । कोइराला समूहका भनेर चिनिएका केही सांसदले मात्र सुशीललाई समर्थन गरेपछि देउवाले जिते ।
देउवालाई हराएर पौडेल
पहिलो संविधानसभा निर्वाचन २०६४ मा कांग्रेस दोस्रो दल बन्यो । कांग्रेसका सभापति भने गिरिजाप्रसाद नै थिए । उनी निवर्तमान प्रधानमन्त्री भएको र पुनः प्रधानमन्त्री हुने संसदीय अंकगणित नभएकाले आफू संसदीय दलको नेता बन्न चाहेनन् ।
त्यसैले नेपाली कांग्रेस (प्रजातान्त्रिक)लाई कांग्रेसमा विलय गराई दोस्रो वरीयताका नेता रहेका शेरबहादुर देउवा र पार्टी उपसभापति रामचन्द्र पौडेलबीच संसदीय दलको नेतामा प्रतिस्पर्धा भएको थियो । देउवालाई पराजित गरेर पौडेल कांग्रेस संसदीय दलको नेता चुनिएका थिए ।
अध्यक्ष खनाललाई हराएर २०७० मा संसदीय दलको नेतामा ओली
विसं २०७० मा भएको संविधान सभाको दोस्रो निर्वाचनमा नेकपा (एमाले) दोस्रो दल बनेको थियो । एमालेमा संसदीय दलको नेता चयनका लागि चुनाव भयो ।
त्यतिबेला एमालेका अध्यक्ष झलनाथ खनाल थिए । संसदीय दलको नेता छान्ने चुनावमा भने खनाल र तेस्रो वरीयतामा रहेका नेता केपीशर्मा ओलीबीच प्रतिस्पर्धा भयो ।
अध्यक्षलाई हराउँदै ओली दलका नेतामा चुनिए । उनले खनाल समूहका नेताहरुको साथ पनि पाएका थिए । ओलीले खनालको भन्दा २३ मत बढी ल्याएका थिए ।
ओलीले ९८ मत पाउँदा खनालले ७५ मत प्राप्त गरेका थिए । त्यसपछि २०७१ सालमा पार्टी अध्यक्ष बनेका ओली २०७२ असोज २४ गते प्रधानमन्त्री भए ।
विसं २०७४ मा कांग्रेस दोस्रो दल बनेको थियो । कांग्रेसमा दलको नेता चयनका लागि चुनाव भयो । नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका थिए । संसदीय दलको नेतामा भने देउवा नै चुनिए । अरु दलमा चुनाव भएन ।
विसं २०७९ मंसिर ४ गते भएको चुनावमा कांग्रेस पहिलो दल बनेको छ । कांग्रेसमा संसदीय दलको नेता बन्नका लागि आकांक्षी नेताहरुको लर्को नै छ । प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले केही नेताहरुलाई दलको नेतामा आफूलाई सहयोग गर्न आग्रह गरिसकेका छन् ।
नेताहरु रामचन्द्र पौडेल, डा. शेखर कोइराला, पूर्वमहामन्त्री डा. शंशाक कोइराला र महामन्त्री गगन थापाले दलको नेताका लागि आकांक्षा राखेका छन् । महामन्त्री थापाले त प्रतिनिधि सभाको चुनावअघि नै संसदीय दलमा ‘अटेम्ट’ गर्ने घोषणासहित भोट मागेका थिए ।
दोस्रो ठूलो दल नेकपा (एमाले)मा भने संसदीय दलको नेतामा चुनाव हुने सम्भावना देखिँदैन । चुनावअघि नै केन्द्रीय कमिटीले अध्यक्ष केपीशर्मा ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गर्ने निर्णय गरेको थियो ।
तेस्रो नेकपा (माओवादी केन्द्र)मा हालसम्म संसदीय दलको नेता चयनका लागि चुनाव नै भएको छैन र अहिले पनि चुनाव हुने सम्भावना देखिएको छैन ।