काठमाडौं । मलेसियामा सम्पन्न एसीसी यु–१९ एसिया कप छनोट क्रिकेटको उपाधि उचाल्दै नेपाली युवा टिमले पुनः एकपटक नेपाली क्रिकेटलाई ब्युँताएको छ । हुन त नेपालले उमेर समूहमा थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जितेको छ । विशेषगरी यु–१९ टिमले अहिलेसम्म ५ पटक एसियन क्रिकेट काउन्सिल (एसीसी) ले आयोजना गरेको प्रतियोगिताको उपाधि उचालिसकेको छ ।
यु–१९ क्रिकेट टिमले पाएको यो सफलताले नेपाली क्रिकेटको सुनौलो भविष्यको संकेत देखाएको छ, किनभने नेपाली क्रिकेटको अभिभावक नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा रहेको बेला यो उपलब्धि निकै ठूलो हो ।
सबै खेलमा अलआउट
नेपाली सिनियर टिमको गुण यु–१९ क्रिकेट टिममा पनि देखिन्छ । एकैछिन ब्याटिङलाई बिर्सिने हो भने नेपाली बलरको प्रदर्शन विश्व स्तरीय खेलाडीको भन्दा कम छैन ।
एसीसी यु–१९ एसिया कप छनोटअन्तर्गत समूह ए मा रहेको नेपालले आफ्नो पहिलो खेलमा प्रतिद्धन्दी थियो, थाइल्याण्ड । थाइल्याण्ड महिला क्रिकेटमा अब्बल मानिए पनि पुरुष क्रिकेटमा तल्लो स्तरकै हो । टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २८१ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको थाइल्याण्डले १० ओभरमा अलआउट हुँदै २६ बनाएपछि नेपालले २५५ रनको फराकिलो अन्तरले जित हात पारेको थियो ।
प्रतियोगिताको दोस्रो खेलमा पहिले टस जितेर ब्याटिङ गरेको भुटानलाई नेपालले २८ ओभरमा ५० हुदा अलआउट गर्यो । नेपाली बलरसामु भुटानका कुनै पनि ब्याट्सम्यान टिक्न सकेनन् । ५० ओभरको खेलमा ५१ रनको लक्ष्य पाएको नेपालले ८.३ ओभरमा नै १ विकेटको क्षतिमा जित हात पारेको थियो ।
अन्तिम खेल खेल्नुअघि नै सेमिफाइनलमा प्रवेश गरेको नेपालले तेस्रो खेलमा सिंगापुरसँग प्रतिस्पर्धा गर्दै थियो, जुन खेलले समूहको विजेता तथा उपविजेताको टुंगो लगाउँदै थियो । जुन खेलमा पनि नेपाली खेलाडीले आफ्नो लयलाई निरन्तरता दिँदै सिंगापुरलाई ६७ रनमा २९ ओभरको खेल चलिरहँदा अलआउट गर्न सफल भयो । ६८ रनको चुनौती पाएको नेपालले सिंगापुरमा माथि ७ विकेटको जित दर्ता गरेको थियो ।
सेमिफाइनलमा आयोजक मलेसियासँग प्रतिस्पर्धा गरेको नेपालले घरेलु टोलीलाई पनि अलआउटकै सिकार बनायो । ४२ ओभरको खेल समाप्तीमा १२१ रन हँुदा मलेसियालाई अलआउट गरेको थियो । ओपनर ब्याट्सम्यान आशिफ शेख र सन्दिप सुनारले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले मलेसियालाई १० विकेटले पराजित गर्न सफल भयो ।
फाइनल पुगेसँगै नेपालले आगामी नोभेम्बरमा हुने एसिया कपमा पनि स्थान बनायो । आइतबार नेपालले आफूभन्दा माथिल्लो स्तरको हङकङलाई ५ पराजित गर्दै प्रतियोगिताको ट्रफिसमेत हात पार्यो । हङकङको ३२.१ ओभरमा ७६ रन हुदा सबै विकेट लिँदै नेपालले आफ्नो सबै प्रतिद्धन्दीलाई अलआउट गर्न सफल भएको हो ।
सर्वाधिक विकेटमा नेपालका दुई खेलाडी
प्रतियोगिताको सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा सन्दिप लामिछाने शीर्ष स्थानमा छन् । सन्दिपले कुल ५ खेलबाट १६ विकेट लिएका छन् । उनले ५ खेलबाट १६ विकेट लिँदा मात्र ४७ रन दिएका छन् भने उनको प्रतियोगितामा १.४३ इकोनोमी छ ।
सन्दिपले पहिलो खेलमा नै थाइल्याण्डविरुद्ध ७ विकेट लिएका थिए । त्यस्तै उनले भुटान विरुद्ध ४, हङकङ विरुद्ध ३ तथा मलेसिया र सिंगापुर विरुद्ध समान १–१ विकेट लिए ।
त्यस्तै, कप्तान दिपेन्द्र सिंह ऐरीले १३ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा दोस्रो स्थानमा रहे । उनले भुटान र मलेसिया विरुद्ध समान ५–५ विकेट लिए । त्यस्तै, थाइल्याण्ड, सिंगापुर र हङकङ विरुद्ध समान १–१ विकेट लिए ।
टेष्ट राष्ट्रविरुद्ध धेरै सुधार आवश्यक
नेपाली युवा टिम एसीसी यु–१९ एसिया कपमा छनोट भएसँगै नेपालसामु ठूलै चुनौती थपिएको पनि छ । गत वर्ष नेपाली युवा टिम एसीसी यु–१९ एसिया कपमा बलियो मानिएको श्रीलंकासँग जित नजिक पुगेर मात्र १ रनले पराजित भएको थियो । आगामी नोभेम्बरमा हुने एसिया कपमा सबै राष्ट्र नेपाल भन्दा अब्बल र टेष्ट मान्यता प्राप्त हुनेछन् ।
मलेसियामा सम्पन्न प्रतियोगितामा नेपालले खेलेको दुई खेलमा बाहेक अन्य खेलमा ब्याटिङ चल्न सकेन । थाइल्याण्डसँग २८१ रन र मलेसिया विरुद्ध उत्कृष्ट विना विकेट १२५ रन बनाएको नेपाली ब्याट्सम्यान अन्य तीन खेलमा भने खासै चल्न सकेन । नेपालले चुनौति कम स्कोरको पाएकोले पनि जित हात पार्न सक्यो । तर, १५० भन्दा माथिको लक्ष्य भएको भए नेपालको अवस्था निकै कम्जोर हुन सक्ने अवस्था आउने थियो ।
हङकङ विरुद्ध ७९ रन बनाउँदा नेपालको ५ विकेट झरेको छ । त्यस्तै, सिंगापुर विरुद्ध ६८ रन बनाउँदा नेपालले ३ गुमाएको छ ।
अबको लक्ष्य भनेको एसिया कपमा राम्रो प्रदर्शन गर्दै टेष्ट मान्यता राष्ट्रलाई पराजित गर्नु हो । तर, नेपाली युवा खेलाडीको प्रतिभालाई अझै निखार्न बाँकी छ । किनभने एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र भर्खरै टेष्ट मान्यता प्राप्त अफगानिस्तान छन् ।
तस्बिरहरू : रंगशालाडटकम