site stats
बाह्रखरी :: Baahrakhari
खेल
सूर्य नेपाल च्यालेन्ज सम्पन्न, कोर्स रेकर्डसहित शुक्रलाई उपाधि

काठमाडौं । पूर्वनम्बर एक गल्फर शुक्रबहादुर राई सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गतको सातौँ प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको उपाधि कोर्स रेकर्डसहित जित्न सफल भएका छन् ।

समग्रमा १७–अन्डर २५५ को प्रभावशाली स्कोरमा शुक्रले निरज तामाङलाई ४ स्ट्रोकले हराउँदै उपाधि आफ्नो नाममा लेखाए । शुक्रले एमेच्योर खेलाडी सद्भाव आचार्यको नाममा रहेको १५–अन्डर ५७ को रेकर्ड तोडे । सद्भावले यही सिजन सूर्य नेपाल काठमाडौं ओपनमा सो रेकर्ड बनाएका थिए ।

अन्तिम दिन ६–अन्डर ६२ को स्कोर बनाएका शुक्रले उपाधिसँगै नगद १ लाख १० हजार प्राप्त गरे । उनको यो करियरको एघारौँ उपाधि हो ।

Argakhachi Cement Island Ad

यो सिजन तीन उपाधि जितेका निरजले आज ६–अन्डर ६२ को स्कोर जोडे । समग्रमा १३–अन्डर २ सय ५९ को स्कोरमा निरज दोस्रो भए । उनले नगद ७० हजार हात पारे ।

समग्रमा ८–अन्डर २ सय ६४ को स्कोरमा दिनेश प्रजापतिले तेस्रो स्थानमा प्रतियोगिता सकाए । आज शुक्रबार उनले ३–अन्डर ६५ को स्कोर दर्ज गरे । तेस्रो भएका उनलाई ५० हजार प्रदान गरिएको छ । 

आज १–ओभर ६९ स्कोरसहित समग्रमा ७–अन्डर २ सय ६५ को नतिजमा भुवनकुमार रोक्का चौथो हुँदा ४२ हजार प्राप्त गरे । समग्रमा ५–अन्डर २ सय ६७ सहित सञ्जय लामा पाँचौँ भए । उनले ३–अन्डर ६५ को स्कोर तयार पारे । उनले ३७ हजार नगर पुरस्कार आफ्नो नाममा लेखाए ।

तोरणविक्रम शाही, साबिक विजेता रवि खड्का र वसन्तराज गुरुङले समग्रमा ४–अन्डर २ सय ६८ सहित संयुक्त रूपमा छैटौँ स्थान बाँडे । उनीहरूले जनही ३० हजार प्राप्त गरे ।

समग्रमा १–अन्डर २ सय ७१ बनाएका नेपाल नम्बर एक भुवन नगरकोटीले नवौँ स्थानमा चित्त बुझाए । आज उनले २–अन्डर ६६ स्कोर गरे । समग्रमा२–ओभर २ सय ७४ सहित रमेश अधिकारी दशौँ भए । भुवनले २४ हजार र रमेशले २१ हजार हात पारे ।

अन्तिम १८ होलको सुरुवात गर्दा आज शुक्रसँग ३ स्ट्रोकको अग्रता रहेको थियो । उनले दोस्रोदेखि पाँचौँ होलसम्म लगातार चार बर्डी प्रहार गरे । उनलाई अन्य खेलाडीले चुनौती समेत दिन सकेनन् । फ्रन्ट नाइन ४–अन्डर ३०मा सकाए । यसपछि ५–पारको १०औँ होलमा इगलको सफलता प्राप्त गरे । १३औँ र १४औँ होलमा एक–एक सट बचाए । १२औँ र १८औँ होलमा बोगी खेप्दै ब्याक नाइन २–अन्डर ३२ मा सकाए । 

निरजले पहिलो, चौथो र पाँचौँ होलमा बर्डी प्रहार गर्दा सातौँ होलको बोगीले फ्रन्ट नाइन २–अन्डर ३२ मा पूरा गरे । यसपछि १०औँ होलमा इगल तथा १२औँ र १८औँ होलको बर्डीले ब्याक नाइनमा ४–अन्डर ३०को नतिजा निकाले । 

दिनेशले फ्रन्ट नाइन १–अन्डर ३३ र ब्याक नाइन २–अन्डर ३२ मा सकाए । उनले पहिलो, चौथो सातौँ, एघारौँ र १६औँ होलमा एक–एक सट बचाए । आठौँ र नवौँ होलमा बोगी खेपे ।

एमेच्योरतर्फ समग्रमा ३–ओभर २ सय ७५ सहित राहुल विश्वकर्माले निश्चयजंग रायमाझीलाई एक स्ट्रोकले हराउँदै उपाधि जिते । समग्रमा ४–ओभर २ सय ७८ सहित निश्चय दोस्रो भए । दुवैले आज २–ओभर ७०मा खेल सकाएका थिए ।

७२ होलको चार दिने प्रतियोगितामा ३६ प्रोफेसनल र ११ एमेच्योर गरी कुल ४७ खेलाडीको सहभागिता रहेको थियो । कुल ६ लाख नगद पुरस्कार राशि रहेको प्रतियोगितामा शीर्ष २१ भित्र पर्ने प्रोफेसनल गल्फरहरूले पनि नगद प्राप्त गरे । 

विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका डेपुटी जनरल मेनेजर (मार्केटिङ) केशव प्रधान, एनपीजीएका अध्यक्ष रवीन्द्रमान श्रेष्ठ, एनपीजीएका सल्लाहकार घनश्याम थापा, नेपाल गल्फ संघका अध्यक्ष टासी घले र रोयल नेपाल गल्फ क्लबका क्याप्टेन मिथुन राईले पुरस्कार वितरण गरे ।

प्रतियोगिताको अन्तिम दिन शनिबार प्रो–एम प्रतिस्पर्धा हुनेछ, जसमा एमेच्योर खेलाडीले प्रोफेसनल गल्फरसँग खेल्ने अवसर प्राप्त गर्नेछन् ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  २२:५४
प्रतिक्रिया दिनुहोस्