site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसदीय चुनावबाट उदाएका तीन दल सरकारमा जान्छन् ? 

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट तीनवटा नयाँ दल उदाए । 

पार्टी गठनको छोटो समयमै चुनावमा होमिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले संसद् यात्रा तय गरेका छन् । 

रवि लामिछाने नेतृत्वको रास्वपा समानुपातिकतर्फ चौथो दल र डा. सीके राउत नेतृत्त्वको जनमत पार्टी राष्ट्रिय दल बन्ने पक्कापक्की जस्तै छ । रास्वपाले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ७ सिट जित्यो । 

समानुपातिकतर्फ १५ सिट ल्याएर २२ सिटको दल बन्ने सम्भावना छ । 

मधेश केन्द्रित दलहरु जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलाई चुनौती दिँदै मधेसबाट जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी अनुमोदित भएका छन् । 

जनमत पार्टीले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सिट जितेको छ ।  समानुपातिकतर्फ ४ सिट जितेर ५ सिटको पार्टी बन्ने देखिन्छ । 

मधेस प्रदेसमा प्रत्यक्षतर्फ ६ सिट जितेको छ । समानुपातिकमा ७ सिट ल्याउने सम्भावना छ । मधेस प्रदेशमा १३ सिटसहितको पार्टी हुने सम्भावना छ । 

लुम्बिनी प्रदेशमा १ सिट जितेको छ भने समानुपातिकतर्फ २ सिट पाउने सम्भावना छ । अर्थात् संघ र प्रदेशमा गरी कूल २१–२२ सिटको पार्टी बन्ने देखिएको छ । 

टिकापुर हत्या कान्डमा अदालतले दोषी ठहर गरी जेल जीवन बिताइरहेका पूर्वसांसद रेशम चौधरीकी श्रीमती रन्जिता श्रेष्ठ चौधरीको नेतृत्वमा रहेको नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभामा ३ सिट ल्याएको छ । 

समानुपातिकतर्फ २ लाख ६८ हजार बढी मत पाएको छ । थ्रेसहोल्ड कटाउने सम्भावना कम देखिन्छ । नागरिक उन्मुक्तिले लुम्बिनी प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा ५ सिट प्रत्यक्षतर्फ जितेको छ । 

सत्ता गठबन्धन र प्रतिपक्षी दल नेकपा एमाले सरकार गठनको गृहकार्यमा छन् । हालको अवस्थामा सत्ता गठबन्धन र प्रतिपक्षीमा पनि बहुमत देखिँदैन । सरकार गठनका लागि यी नयाँ दलहरु पनि निर्णायक बन्ने देखिन्छ । यी दलहरुसँग गठबन्धन र प्रतिपक्षीका नेताहरुले कुराकानी थालिसकेका छन् । 

कुन दलको कस्तो छ तयारी ? 
अन्योलमा रास्वपा 

रास्वपा सरकारमा जाने वा नजाने भन्नेमा अन्योलमा छ ।

रास्वपाका महामन्त्री समेत रहेका प्रवक्ता मुुकुल ढकाल दलहरुसँग ‘हाईहेलो’ सुरु भएको बताउँछन् । सत्ता गठबन्धन र प्रतिपक्षीसहितका दलका दोस्रो तहका नेताहरुबीच समान्य कुराकानी भएको उनी बताउँछन् । 

“हाइ हेलो, सामान्य चिनजान सुरु भएको छ । जनअनुमोदित शक्ति भइसकेपछि कुराकानी त हुन्छ नै,” उनी भन्छन्, “दुवै पक्षका दोस्रो तहका नेताहरु आउनुभएको छ । साना दलसहितका नेताहरुसँग पनि छलफल भन्दा पनि चिनजान भइरहेको छ ।” 

आफूहरुका वाचा पूरा भए सोही पक्षसँग मिलेर सरकारमा जाने उनले बताए । जनताका वाचा पूरा हुने अवस्था नभए प्रतिपक्षमा बस्ने ढकाल बताउँछन् । 

“केन्द्रीय समितिलगायतको बैठक त बस्न बाँकी छ ।  के गर्ने भन्ने निर्णय लिन्छ । जनतामा जाँदाका वाचापत्रहरु छन् । त्यहाँबाट मुख्य एजेन्डा निकाल्छौं । जनताको एजेन्डा पूरा गर्नुपर्‍यो । जनताको पक्षमा काम हुनुपर्‍यो । यो–यो काम हुनुपर्छ भनेर स्पष्ट रुपमा आउँछौं,” ढकाल भन्छन्, “यदि कसैले एजेन्डा पूरा गर्छन् भने त्यो पक्षमा जान पनि तयार छौं । नभए सहयोगमात्रै गर्न पनि तयार छौं । विपक्षमा बस्न पनि तयार छौं ।”

जनमत छलफलमा    
सत्ता गठबन्धनले जनमत पार्टीसँग छलफल थालेको छ । बुधबार नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले जनमतका अध्यक्ष राउतसँग छलफल गरेका छन् । जनमतका प्रवक्ता हरेन्द्र चौधरी सरकारका बारेमा छलफल भइरहेको बताउँछन् । कुनै निधोमा भने पुगिनसकेको उनको भनाइ छ । 

“हामीसँग सरकारमा जाने, समर्थन गर्ने र प्रतिपक्षमा बस्ने विकल्प छन् । अहिलेसम्म के गर्ने निधो भएको छैन । समय पनि त बाँकी नै छ । कांग्रेससँग कुरा भएको छ ,” उनी भन्छन्, “हिजो विमलेन्द्र निधिजीसँग कुरा भएको छ । हाम्रो माग मुद्दा सम्बोधन कताबाट हुन्छ । त्यसमै भयो भने सरकारमा जान्छौं ।” 

उनका अनुसार भ्रष्टाचार नियन्त्रयण र सेवा प्रवाहलाई जनमत पार्टीले मुख्य एजेन्डा बनाएको छ । 

“हाम्रो मुख्य कुरा भनेको भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाह हो । नागरिकले मेरो सरकार आयो । जनताको सरकार आयो भन्ने अनुभूति गर्न पाउनुपर्‍यो । त्यो एजेन्डा मिलेन भने सरकारमा गएर काम नै छैन नि,” उनी भन्छन्,“ छलफल मात्रै भइरहेको छ । मधेस प्रदेशमा हामी बिना सरकार बनाउन दुवै पक्षको बहुमत पुग्दैन । त्यसले गर्दा केन्द्रमा पनि सरकारमा जाने सम्भावना छ ।”

नागरिक उन्मुक्ति सरकारमा जाने 

नागरिक उन्मुक्ति पार्टी सरकारमा जाने पक्षमा छ । पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी आफूहरुको मुद्दा सम्बोधन गर्ने पक्षसँग सरकारमा सहभागी हुने बताउँछिन् ।  

“हामी सरकारमा त जाने हो । तर, सरकारमा कुन पक्षले माग सम्बोधन गर्छ । हाम्रो माग दुईपक्ष मध्ये कसले सहकार्य गर्छ । उसँगै सहकार्य गर्न तयार छौँ,” उनले बाह्रखरीसँग भनिन् । 

सत्ता गठबन्धनले रेशम चौधरीसँग छलफल थालिसकेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भेट गरेका छन् । दुई नेताहरुसँगको भेटमा भएको कुराकानीबारे आफू जानकारी नभएको उनको भनाइ छ । 

“रेशमजीसँग पूर्वप्रधानमन्त्रीहरु प्रचण्ड र माधव नेपालजीहरूले छलफल गर्नुभएको छ । म कैलालीमा छु । के कुरा भएको छ थाहा छैन,” उनले बाह्रखरीसँग भनिन्, “कारागारमा राजबन्दीमा रहेकाहरु रिहाइ हुनुपर्छ भन्ने हाम्रो माग हो । जुन पक्षले हामीलाई साथ दिनुहुन्छ त्यही पक्षसँग सरकारमा जानेछौं ।” 

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  १८:०६