site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad

निजी क्षेत्रका उद्यमी व्यवसायीको प्रतिनिधि संस्था नेपाल उद्योग वाणिज्य महासंघले यथास्थितिमा व्यवसाय सञ्चालन गर्न नसकिने भन्दै आन्दोलनको चेतावनी दिएको छ । महासंघका अनुसार नेपालको अर्थतन्त्रलाई तत्काल गतिशील नबनाउने हो भने मुलुक गम्भीर दुर्घटनामा पर्नसक्छ । 

सरकारी नीतिका कारण देशमा उद्यमको वातावरण कुण्ठित भएको गुनासो निजी क्षेत्रले केही वर्षदेखि गर्दै आए पनि सरकारले त्यसमा खासै ध्यान दिएन । उल्टै यसबीचमा सरकारले अपनाएको नीतिका कारण उद्यम व्यवसायमा सङ्कट थपिएको छ । 

कोभिड कहरका कारण शिथिल नेपालको अर्थतन्त्र त्यसपछि बौरिनै सकेन । संसारका धेरै मुलुकका सरकारले निजी क्षेत्रलाई हौसला दिने नीति अपनाए र अर्थतन्त्रलाई  गतिशील बनाए । दुर्भाग्य, नेपालमा भने सत्ताधारीले निजी क्षेत्रलाई सधैँ शङ्काको दृष्टिले हेरे ।

अहिले पनि नेपाल राष्ट्र बैंकका गभर्नरले अर्थतन्त्रमा सुधार भएको र प्रचलित मौद्रिक तथा वित्तीय नीति कायमै रअने पटकपटक दोहोर्‍याउँदै आएका छन् । तर, निजी क्षेत्रले भने त्यसको ठीकविपरीत अहिलेको नीतिलाई ‘नियामकीय अपरिपक्वता’ भनेको छ ।

महासंघले अर्थतन्त्रको सुधारका लागि उपायहरू पनि सुझाएको छ । नेपाल राष्ट्र बैंकले हालै लागु गरेको ‘चालु पुँजी मार्गदर्शन, २०७९’ को कार्यान्वयन दुई वर्ष नगर्ने र तरलता व्यवस्थापन तथा ब्याजदरमा स्थायित्व हुनुपर्ने माग महासंघले राखेको छ । 

राष्ट्र बैंकको नीति निजी क्षेत्रका लागि प्रतिकूल भएकै अवस्थामा सरकार राजनीतिक सङ्क्रमणको चरणमा छ । कुनै पनि दलले स्पष्ट बहुमत पाउने भएन भने चुनावपूर्व नै गरिएको गठबन्धन पनि कायमै रहन्छ भन्ने ठोकुवा गर्न सकिने अवस्था छैन ।

कर्मचारीतन्त्रमा निजी क्षेत्रप्रति बढी द्वेषभाव देखिन्छ । व्यवसायीको मागप्रति सकारात्मक हुने सरकार बन्ने नै भए पनि कम्तीमा एक महिना त पक्कै लाग्नेछ । यसैले व्यवसायीका मागहरू सम्बोधन भए नै पनि तत्काल हुन सक्तैन । 

हुनत, व्यवसायीहरूले अर्को सरकार गठन नहुँदै आन्दोलन थाल्ने हतार पक्कै नगर्लान् । त्यस्तो हतार उनीहरूकै लागि प्रत्युत्पादक हुनसक्छ । यसैले आन्दोलनको धम्की दिए पनि व्यवसायीले धैर्य गुमाउनु आत्मघाती हुनसक्छ भन्ने हेक्का रहोस् । 

महासंघमाथि ठूला व्यापारिक घरानाको स्वार्थमा नीतिगत परिवर्तनका लागि दबाब दिने गरेको आरोप पनि लाग्दैआएको छ । यसैले आन्दोलन सीमित व्यवसायीको स्वार्थ पूरा हुने साधन नबनोस् भन्नेमा साना तथा मझौला व्यवसायी पनि चनाखो हुनुपर्छ । 

निजी क्षेत्रप्रति वैरभाव राखेर अर्थतन्त्र बलियो हुन सक्तैन । अर्थ मन्त्रालयको नेतृत्व अनुदार भयो र राष्ट्रबैंकका गभर्नरको रबैया यही रह्यो भने व्यवसायीमाथि पनि आन्दोलनका लागि दबाब पर्न सक्छ ।

यसैले महासंघले आन्दोलनका लागि उपयुक्त समय पर्खने धैर्य गर्नुपर्छ । नयाँ सरकार बनेपछि वार्ताबाटै माग पूरा भए आन्दोलन गर्नै नपर्ला । निजी क्षेत्रको धैर्य र संयम कायमै रहोस् ।   
 
 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  ११:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro