
वासिङटन । अमेरिकी सर्वोच्च अदालतले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कर फारमहरू डेमोक्रेटिक नियन्त्रित कंग्रेस कमिटीलाई सार्वजनिक गर्ने बाटो खुला गरेको छ ।
न्यायाधीशहरूले गत अक्टोबरमा तल्लो अदालतले दिएको निर्णय रोक्ने ट्रम्पको प्रयास अस्वीकार गरेका छन् । सो निर्णयले ट्रम्पको वित्तीय अभिलेखको लागि अयोगको अनुरोधलाई स्वीकार गरेको थियो ।
वर्षाैँदेखि आफ्नो आयलाई गोप्य राखेका उनलाई सर्वोच्चको यो कदम ठूलो धक्का साबित भएको छ । अमेरिकाको चालिस वर्ष लामो इतिहासमा आफ्नो पहिलो राष्ट्रपतीय उमेदवारी घोषणा गरिसकेपछि कर विवरण प्रस्तुत नगर्ने ट्रम्प पहिलो राष्ट्रपति बनेका थिए ।
प्रतिनिधसभाको वेज एन्ड मिन्स कमिटीले सन् २०१९ देखि नै उनको कर अभिलेखसम्म पुग्ने प्रयास गर्दै आएको हो ।

गत साता मात्र ह्वाइट हाउसका लागि आफ्नो तेस्राे अभियान घोषणा गरेका ट्रम्पले आफनो व्यापार व्यवसायसँग सम्बन्धित अन्य थुप्रै अनुसन्धान पनि खेपिरहेका छन् । तर, उनले आफूले कुनै पनि गलत काम नगरेको अडान लिँदै आएका छन् ।
सर्वोच्च अदालतको मंगलबारको यस निर्णयलाई लिएर कुनै पनि न्यायाधीशले नोट अफ डिसेन्ट जनाएका थिएनन् ।यसकाे अर्थ अब अमेरिकी कोष विभागले ट्रम्प र उनका केही व्यवसायका सन् २०१५ देखि २०२० सम्मको कर विवरण डेमोक्रेटिक नियन्त्रित समितिलाई बुझाउन सक्ने भएको छ ।
यसै महिनाको मद्यावधि चुनावपछि रिपब्लिकनहरूले प्रतिनिधिसभामाथि नियन्त्रण राख्नै लाग्दा सर्वोच्चका यो निर्णय आएको हो । बीबीसीबाट