अनुभूतिको अवतरण
(निबन्धसंग्रह : रञ्जना निरौला)
समकालीन साहित्यिक वृत्तमा क्रियाशील सर्जक हुन्, रञ्जना निरौला । कविता लेखनमा दरिलो उपस्थिति जनाउँदै आएकी रञ्जनाको पछिल्लो सक्रियता निबन्ध लेखनमा पनि देखिएको छ । उनको केही समयअघि सार्वजनिक भएको निबन्धकृति हो, ‘अनुभूतिको अवतरण’ । जसमा उनले आफ्ना भावनालाई काव्यात्मक विम्बमा उन्दै निबन्धमा उतारेकी छन् ।
निबन्धकृतिलाई लिएर आफ्ना कुरा रञ्जनाले यसरी राखेकी छन्, “मैले चियाउन खोजेको समय संवेदनाहरूभित्र नै छन्, अनुभूतिका प्रमाण । मेरो चेतनाको अवतरणले समयानुकूल नेतृत्व लिन नसकेको समयप्रति स्वयम् खेद गर्छ र माग्छ, आस्थाको अपभ्रंशसँग समृद्धिको हिसाब । ...प्रेमको शिविरबाट गरिएका सतत सम्बोधनलाई निमन्त्रणा गर्नु धर्म नै हो लेखकको । लेखनका क्रममा स्वप्न सम्बोधनलाई भन्दा भोग्यजनित कुरा र भावलाई उतार्ने कोसिस गरेकी छु ।”
रञ्जनाको यस निबन्धकृतिमा १५ निबन्ध संगृहीत छन् । यी १५ प्रस्तुतिमा उनले जीवन, जगत्, अनुभूति र दर्शन पोखेकी छन् ।
‘शिरीषसँग शब्द–संवाद’मा रञ्जना लेख्छिन्, ‘सशरीर भेट भएन । ...आँखाले प्रत्यक्ष देख्न पाइनँ । तर पनि तिमीलाई नजिकबाट देखेको र भेटेको जस्तो लागिरहन्छ शब्दशब्दका हरफहरफमा वर्षौँदेखि यस्तै आत्मीयता, उस्तै आदर्श । उसो त आफ्नै समयमा कति स्थापित र चर्चित साहित्यकार भेटिरहँदा पनि लाग्दैन—भेट भएको थियो या विशेष केही थियो नबिर्सिनका लागि ।’ (पृष्ठ — ९)
शिखा बुक्सले प्रकाशनमा ल्याएको १६८+४ पृष्ठको यस निबन्धसंग्रहको मूल्य ३५०– रुपैयाँ राखिएको छ ।
०००
सुनेको चीन : देखेपछि
(यात्रा संस्मरण : डा. तुलसी भट्टराई)
नेपाली साहित्यिकजगत्का चिरपरिचित हस्ताक्षर डा. तुलसी भट्टराईको पछिल्लो कृति हो, ‘सुनेको चीन : देखेपछि’ । स्रष्टा भट्टराईले यस कृतिमा आफ्नो चीन भ्रमणका बारेमा विस्तृत बयान गर्ने जमर्को गरेका छन् । उनको यात्रा स्मृतिको यो पुस्तक केही महिनाअघि प्रकाशनमा आएको हो ।
भट्टराई कृतिमा आफ्नो भनाइ यसरी राख्छन्, “टोलीका सबै साथीहरूप्रति म आभार प्रकट गर्दछु, जोसँग १७ दिनसम्म सँगै यात्रा गरियो । यति लामो यात्रामा यस चीन यात्राका सबैले आआफ्ना अनुभव बटुलेका होलान् । बाहिर प्रकट नभएको मात्र हो । श्री हरिहर खनाल र श्री रणेन्द्र बराइलीका चीन यात्रासम्बन्धी पुस्तक आइसकेका छन् । मलाई भने यो तयार गर्न बाह्र वर्ष लाग्यो । अझै धेरै विषय समेट्ने विचार हुँदाहुँदै पनि यति मात्र तयार पार्न सकियो ।...।”
पुस्तकमा गंगाप्रसाद उप्रेती शुभकामना लेख्छन्, “चीन भ्रमणअघि चीनबारे अनेक चामत्कारिक कुराहरु सुन्न पाएका भट्टराईले आफ्नै आँखाले चीनलाई नियाल्न पाएपछि यो पुस्तक लेखिएको कुरा कृतिको शीर्षकले नै जनाउँछ ।...।”
कृतिमा डा. भट्टराईले १७ शीर्षकमा अनेक प्रसंगहरू प्रस्तुत गरेका छन् । ‘चीन यात्राका केही रोचक पक्ष’ शीर्षकको एउटा प्रसंगमा उनी लेख्छन्, ‘अनुवादका माध्यमबाट दुवै देशलाई राम्ररी बुझ्न र चिन्न सकिन्छ । हाम्रा ठूला महाकवि देवकोटोको मूर्ति ल्हासामा स्थापित हुनु, नेपाली राजकुमारी भृकुटी ठ्रिचुङ्लाचीले देवीको स्थान पाउनु, अरनिकोको पाइथा स्वेत स्तूपले बेइजिङमा संरक्षण पाउनु, अरनिकोको मूर्ति स्थापना हुनुजस्ता कुराहरू राम्रा उदाहरण हुन् ।...।” (पृष्ठ — १२८)
कृतिको अन्तिम पृष्ठतिर यात्राका तस्बिरहरू प्रस्तुत गरिएका छन् ।
ओरिएण्टल पब्लिकेसनद्वारा प्रकाशित १६०+४ पृष्ठको यस पुस्तकको मूल्य २५०– रुपैयाँ राखिएको छ ।
०००
काफ्काको काम सकियो
(उपन्यास : राजव)
आख्यान क्षेत्रमा सुपरिचित स्रष्टा राजवको आख्यानकारिता लोभलाग्दो छ । कथा, उपन्यास, नाटक मात्र होइन, उनको कलम कविता र संस्मरणमा पनि उत्तिकै दह्रोसँग चल्दै आएको छ । बितेको लामो समयदेखि अमेरिका प्रवासमा रहेका राजवको पछिल्लो उपन्यास हो, ‘काफ्काको काम सकियो’ ।
‘कङ्गन खित्का’, ‘इतर जिल्लावासी’, ‘बेकारीमा उपन्यास’, ‘सोटिट’, ‘एटलान्टिक स्ट्रीट’जस्ता करिब दुई दर्जन कृतिहरूका सर्जक राजव पुडासैनीका कथा र उपन्यासमा आञ्चलिकताको मिठो स्वाद पाइन्छ ।
यस कृतिको आफ्नो भनाइमा राजव लेख्छन्, “यथार्थ र फ्यान्टासीको सम्मिश्रण शिल्पमा लेखेको छु, मैले यो उपन्यास । यसका लागि मैले यसमा काफ्का र उनको लघुउपन्यास मेटामोर्फोसिसको मानव कायाबाट अजंगको किटमा कायान्तरित पात्र ग्रेगोर साम्सालाई समेत पात्र बनाएको छु । उपन्यास प्रभावकारी बनाउन तिनलाई आफ्नो शिल्पको प्रयोगमा चाहेजत्तिको परिकल्पनात्मक स्वरूपमा खेलाएको छु । नचाएको छु । अझ काफ्कालाई त विशेष पात्रको रूपमा उभ्याएको छु ।...।”
यस उपन्यासको एउटा अंशले भन्छ, “वाल्टर र जेम्स एण्डरसनको गिलासमा ह्वाइट वाइन छ । एस्ली रेड वाइनको चुस्की लिँदै छे । उनीहरू खाँदै, पिउँदै गफ पनि गरिरहेका छन् । सुटकेसभित्र रामदुलार भेडिहर साङ्लो काँटाचम्चा चलेको ध्वनि र तिनको गुनगुन सुनिरहेको छ ।...।” (पृष्ठ — ५९)
सांग्रिला बुक्सद्वारा प्रकाशित ३२०+४ पृष्ठको यस उपन्यासको मूल्य ५७५– रुपैयाँ राखिएको छ ।