site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय

भोलि २०७९ सालको मंसिर ४ गते आइतवार प्रतिनिधि सभा र ७ वटै प्रदेश सभाका सदस्यको निर्वाचनका लागि मतदान हुँदैछ । प्रतिनिधि सभामा १६५ जना र प्रदेश सभाहरूमा ३३० जना बालिग मताधिकारका आधारमा चुनिनेछन् ।

मतदानकाे दिनकाे व्यग्र प्रतीक्षा उमेदवारका साथै मतदाताले पनि गरेका छन् । यद्यपि, धेरै मतदाताले निर्वाचन मतदाताकाे पनि भविष्यकाे सुरक्षा तथा विवेकको परीक्षा हो भन्ने हेक्का राखेका हुँदैनन् । 
 
नेपालको संविधान, २०७२ मा प्रत्यक्ष निर्वाचित प्रतिनिधिको ४० प्रतिशत समानुपातिकतर्फ निर्वाचित हुने व्यवस्था छ । यसैले प्रत्यक्षतर्फ २ जनालाई मत दिनुपर्ने हुन्छ भने समानुपातिकतर्फ पनि २ वटा दललाई मतदान गर्न पाइन्छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपालमा अग्रीम वा हुलाकी मतदानको अभ्यास थालिएको छैन । सबै मतदाताले मतदान केन्द्रमै पुगेर निर्धारित समयभित्र मत दिनुपर्छ । यसैले मतदान केन्द्रहरूको व्यवस्थापन पनि चुनौतीपूर्ण हुन्छ ।

मतदान केन्द्रमा पुगेका मतदाता डराउने अवस्था भयो भने निर्वाचन स्वच्छ र स्वतन्त्र मानिन सक्दैन । यस्तै, मत सङ्केत गर्नेदेखि मतपत्र खसाल्नेसम्मका काममा पनि मतदातालाई अप्ठेरो भए निर्वाचनको स्वच्छतामा असर पर्छ ।
 
गर्भवती, सुत्केरी, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई सजिलै मतदान गर्नसक्ने व्यवस्था नभए उनीहरू मतदानप्रति उदासीन हुनसक्छन् । यस्तै, कुनै व्यक्तिले तस्बिर खिच्न पाउने र कसैले मोबाइलसमेत लैजान नपाउनेजस्तो भेदभाव भयो भने मतदातामा आक्रोश उत्पन्न हुन्छ ।   
 
मतदान केन्द्र बनाउने क्रममा प्रायः सुरक्षाका नाममा मतदाताको सुविधामा ध्यान नदिने वा उपेक्षा गर्ने गरिएको पाइन्छ । सुरक्षामा सम्झौता नगरी मतदातालाई दिन सकिने जति सुविधा उपलब्ध गराउन कर्मचारी र सुरक्षाकर्मी तत्पर हुनुपर्छ ।
 
निर्वाचनमा खटिने कर्मचारीको व्यवहार र बोलीवचनबाट पनि मतदान स्थलको शान्ति र सुव्यवस्था प्रभावित हुन्छ । यसैले निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले आफू कुनै पवित्र अनुष्ठानमा संलग्न भएको ठानेर संयमित तथा शिष्ट व्यवहार गर्नु उचित हुनेछ । 
 
मतदाता स्वेच्छाले नै मतदान केन्द्रमा गएको हो । मतदान नगर्ने अधिकार पनि छ । यसैले मतदाता स्वयंले पनि धैर्य गुमाउने वा घुर्की लगाउने गर्नु हुँदैन । निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र निष्पक्ष बनाउन मतदाता पनि उत्तिकै जिम्मेवार हुनुपर्छ ।
 
मौन अवधिका केही चलखेलका समाचार आउनथालेका छन् । यस्ता छिटफुट घटनाले निर्वाचनको समग्र विश्वसनीयतामा असर त पर्दैन तर नेपाली समाजको  प्रतिष्ठामा भने दाग लाग्छ । यसैले मतदाता र जनसाधारण सबै यस्ता क्रियाकलापप्रति सजग रहनुपर्छ ।
 
उत्साहपूर्वक मतदान गरेर निर्वाचनलाई यथार्थमै लोकतन्त्र सुदृढ गराउन उपयोग गरौँ । अगिल्लो निर्वाचनबाट निस्केको परिणाम सुखद भएन । यसका लागि मतदाताले पनि उत्तिकै जिम्मेवारी लिनुपर्छ र यसपटक मतदाताले विवेक पुर्‍याएको निर्वाचन परिणाममा देखिनुपर्छ । अनिमात्र नेपाली मतदाता पनि लोकतन्त्रको परीक्षामा सफल हुनेछन् ।    
    

प्रकाशित मिति: शनिबार, मंसिर ३, २०७९  ११:५३
प्रतिक्रिया दिनुहोस्