site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दलीय प्रणालीका निर्दलीय उम्मेदवार

मुलुकमा बहुदलीय प्रणाली छ । संविधानले यही व्यवस्था प्रत्याभूत गरेको छ । दलीय प्रणालीमा निर्दलीय उम्मेदवार पनि चुनवी मैदानमा छन् । जजसले आफूलाई स्वतन्त्र उम्मेदवार दाबा गरेका छन् ती सबै निर्दलीय प्रत्याशी नै हुन् । 

आफूलाई स्वतन्त्र प्रत्याशी दाबा गर्नेहरूको सैद्धान्तिक प्रतिबद्धता र निष्ठाको ठेगान छैन । दलीय पहिचानहीन उम्मेदवारहरु सिद्धान्तले पनि पहिचान हीन अर्थात् संगठनहीन हुने नै भए । यही कारण यस्ता उम्मेदवार बढी व्यावहारिक र आकर्षक नारा दिइरहेका छन् । 

बहुदलीय लोकतन्त्र हो । यसको मजा नै यही हो । अर्थात्, विपरीत विचार वा सिद्धान्तका विभिन्न दलहरु एकैसाथ चुनावी मैदानमा आआफ्नो संगठित पहिचान लिएर जित्ने स्पर्धामा संलग्न हुन स्वतन्त्र छन् । दलहरुलाई जस्तै ‘स्वतन्त्र’ हौँ भन्नेलाई पनि लोकतन्त्रले मैदान दिएकै छ । सबै समेटिने लोकतन्त्र ।  

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रिय सुरक्षा र जातीय सद्भाव कायम राख्ने शाश्वत मान्यता अनुसरण गर्नु सबै नेपालीको सधैँको दायित्व हो । यस्तो दायित्व पूरा गर्नु संवैधानिक मर्मको पालना हो र  चुनावमा पनि यस्तो मर्मको उल्लंघन क्षम्य मानिदैन । बाँकी स्वतन्त्रता लोकतन्त्रमा सबैका लागि सहज छ । चाहे दलका हुन् वा कथित स्वतन्त्र प्रत्याशीहरु । 

निर्दलीय वा दलहीन वा स्वतन्त्र उम्मेदवारहरुको दाबा र घोषणा आफैँमा छरपस्ट छन् । विकास, समृद्धि र भ्रष्टाचार नियन्त्रणजस्ता लोकप्रिय उद्देश्यलाई नारा बनाउनु चाहिँ उनीहरुको समानता हो । नागरिक सबैको यही अपेक्षालाई स्वतन्त्र उम्मेदवारसमेतले बोल्नु आफ्नो प्रस्तुतिको औचित्य पुष्टि गर्ने ध्येयबाट हो । 

Global Ime bank

अहिलेसम्म भेटिएका, सुनिएका र पढिएका कतिपय स्वतन्त्र प्रत्याशीहरुको दाबा नेपाली मतदाताको चेतनामा धाबा बोल्ने प्रकारका पनि छन् । तिनीहरुले ठूलठूला पूर्वाधार निर्माणको पनि दाबा गरेका छन् । सीमा सुरक्षा गर्ने वा मिचिएका भूमि फिर्ता लिनेजस्ता पनि । साथै परराष्ट्र नीतिमा समेत दख्खल वा प्रभाव राख्ने पनि उनीहरुले बताएका छन् ।  

रोजगारी सिर्जना र व्यवस्था गर्ने । उद्योग, उद्यमशीलता वा कृषि उपज बढाउने र बजार विस्तार गर्ने । सहरी सुविधा र व्यवस्थापन मिलाउनेसमेत स्वतन्त्रकै बलबुताले हुनसक्ने गरी आआफ्नो दाबापत्रमा तिनले बोलेका छन् ।

उठाइएका यस्ता व्यावहारिक विषयमा कुनै विमति नहोला तर के यस्ता गरुंगो काम र दायित्व स्वतन्त्र भन्ने एकल उम्मेदवारले जित्दैमा गर्न सक्छन्, सम्भव छ ? पत्याउने ? यहीँनिर कतिपय स्वतन्त्रले नेपाली चेतनामाथि धाबा बोलेको प्रतित हुन्छ । 

यस्ता ठूल्ठूला योजना, कार्यक्रम र निर्माणका लागि चाहिने स्रोत स्वतन्त्र विजेतासँग हुन्छ के ? वैदेशिक, निजी वा आन्तरिक अर्बौं, खर्बौंको स्रोत, सहयोग जुटाउने सामथ्र्य स्वतन्त्रको काबुभित्र छ वा हुन्छ र ? यस्ता कार्यको लागि बाह्य र आन्तरिक समर्थनको शक्ति पनि चाहिन्छ । हुनै नसक्ने वा गर्नै नसक्ने कामको दाबा क्षणिक र छलकपट भन्ने स्वतः स्पष्ट हुन्छ । 

ठूल्ठूला काम दलहरुले वा तिनले बनाउने सरकारले गर्न सम्भव हुन्छ उनीहरुमा इमान र इच्छाशक्ति भए । दल सम्बद्ध सरकारले क्षमताअनुसार राष्ट्रिय, अन्तर्राष्ट्रिय समर्थन पनि लिनसक्छन् र पाउन पनि सक्छन् । स्वतन्त्र विजेताको लागि यस्तो साथ, समर्थन र सहयोग आकाशको फल समान हो ।  

पहिले पनि निर्वाचनमा स्वतन्त्र उम्मेदवार हुन्थे । आश्चर्य होइन । यसपटक चाहिँ स्वतन्त्र दाबा गर्नेहरु छरपस्ट छन् – जतासुकै, सबै निर्वाचन क्षेत्रमा । स्वतन्त्र वा निर्दलीय उम्मेदवार किन यतिधेरै भए ? बहुदलीय लोकतन्त्रको फराकिलो स्वतन्त्रतामा निर्दलीयले पनि छोप्न खोजेको मौका हो कि ?  

कारण, गत स्थानीय निर्वाचनमा केही स्वतन्त्र घोषित उम्मेदवार विजयी भए । यस्ता विजयीहरुको रापताप देखेर हौसिएकाहरु पद, स्रोत, प्रतिष्ठा र प्राप्तिको मोह, लालसाको ज्वालामा स्वतन्त्र नाममा झुम्मिएजस्ता लाग्छन् । अन्य ध्येय वा एक, दुई स्वतन्त्र विजेताले सम्पन्न गर्नसक्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय ध्येय अरु केही हुनसक्छ र ? 

अर्को कारण, दलहरुले बाटो छोडेर उत्पन्न गरेको विकृतिजन्य हौसलाको परिणाम स्वतन्त्र उम्मेदवारीको लहर हो पनि भनिन्छ । संवैधानिक र प्रजातान्त्रिक अधिकार भए पनि तीन सयको हाराहारीमा स्वतन्त्र उम्मेदवारी पर्नु चाहिँ दलीय प्रणालीमा विकृतिकै अर्को नमूना हो । प्रतिनिधि सभाका प्रत्यक्ष १६५ र प्रदेशका कुल ३३० मा (समानुपातिकबाहेक) स्थानमा दस औँलाजति स्वतन्त्र विजेता गन्न पाए गनिमत नै होला ।  

दलहरु सुध्रिनुपर्ने अपेक्षाको कारण कतिपय सञ्चार माध्यमले निर्दलीय स्वतन्त्र उम्मेदवारको प्रशस्ति प्रस्तुत गरे पनि धैरै कोणबाट यिनीहरु हाँसोका पात्रसमेत भएको सुनिन्छन् । उदाहरणको लागि बसुन्धराको पसलमा हुने चिया गफको चर्चा गरौँ । 

काठमाडौं निर्वाचन क्षेत्र ५ मा पर्ने बसुन्धराबजार सानोतिनो तर स्थानीय घना व्यापारिक ठाउँ हो । प्रायः सधैं साँझ र हाल सबै बेला चुनावी कुरा वा चियोचर्चो चिया गफमा स्वाभाविक हुन्छ । आउजाउ गर्ने विभिन्न साथी समूह चुनावी गफ गर्छन् । आफ्नो समर्थनको दल, उम्मेदवार र मत दिने रोजाइ आपसमा व्यक्त गर्छन् । प्रत्यक्ष यसलाई र समानुपतिक उसलाई तोकेर मत बाँड्ने पनि सुनिन्छन् । 

यस्तामा कतिपयको बुझाइ ठीक छ । अर्थात्, मतदाता चेतना अनुकूल नै ती बुझिन्छन् । कतिपय चाहिँ अर्ध बुझाइमा गफ गर्छन् । यस्तालाई मतदान प्रक्रियातिर जानकारी दिन खोज्दा कोही बडो गम्भीर हुन्छन् र बुझेर पुनः प्रस्तुत हुन्छन् । केही भने कहाँबाट आयो मभन्दा पनि जान्ने भने झैँ उपेक्षा भावमा आफ्नै एकोहोरो रटान बखानी रहन्छन् । यस्तालाई दोहोर्याएर तथ्य भन्ने आँट कसैमा हुँदो रहेनछ । यस्तो घटना मतदाता शिक्षा नपुगेको थाहा हुनु हो । 

यस्तै प्रसंगमा केही भेटिए – बग्रेल्ती स्वतन्त्र उम्मेदवार उपहासका पात्र हुन् भन्नेहरु । कथित स्वतन्त्रलाई निर्दलीय मान्नेहरु त प्रशस्तै भेटिएका हुन् तर ‘विदूषक’ ठान्ने पनि सुनिन थाले  । एक दिन यस्तै चर्चामा दाइ उमेरका एकजना भन्दै थिए – ‘को हो स्वतन्त्र, कसलाई मान्ने स्वतन्त्र उम्मेदवार ? ती निर्दलीय हैसियतकै हुन् । कसले उठायो यति धेरै स्वतन्त्र उम्मेदवार ?’ 

भने– ‘यही ५ नम्बर क्षेत्रमा १४ जना ‘निर्दलीय’ स्वतन्त्र उम्मेदवार छन् रे । अब भन्नोस् कुन चाहिंलाई स्वतन्त्र मान्ने र भोट दिने ? पहिले त स्वतन्त्रलाई भोट दिन्छु भन्ने लागेको हो तर यस्तो चौध चटारो जस्तो जात्रा देखेपछि पुग्यो । अब कुनै दलकै उम्मेदवारलाई मत दिनुपर्ला ।’ यही हो अहिले देशव्यापी स्वतन्त्रको परिदृश्य र परिहास । 

लोकतन्त्रमा विविध विचार र मान्यता स्वतन्त्र छन्, निर्वाध छन् । शालीन स्वतन्त्रताको प्रयोग स्वीकार्य छ । मतदाताको इच्छा भोट दिऊन् वा नदिऊन् तर स्वतन्त्र उम्मेदवारी हाम्रै व्यवस्थाको अवस्था हो । उन्नत प्रणाली, उदात्त व्यवस्था ।  

संविधान प्रतिकूल उद्देश्य घोषित गर्ने छद्मवेशीहरु त चुनावी प्रतिस्पर्धामा छन् भने स्वतन्त्र उम्मेदवारी के अनौठो भयो र ? बहुदलीय प्रणालीअन्तर्गत निर्दलीय उम्मेदवार – अर्थात् भन्ने गरिएको स्वतन्त्र उम्मेदवार ।                   
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९  ०८:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC