site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
देउवाको ‘किल्ला’मा एमालेको संगठन बनाउने दुई नेता : जो स्वतन्त्र चुनाव लड्दै छन्
Sarbottam CementSarbottam Cement

डडेलधुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ३१ वर्षदेखि आम निर्वाचनमा हारेका छैनन् । ०४८ सालदेखि चुनावी मैदानमा उत्रिएका उनी डडेलधुराबाट निरन्तर ६ पटक विजयी भइसकेका छन् । ०४८ यता चुनावी परिणाम अरूको पोल्टामा पर्न नदिएकै कारण डडेलधुरालाई देउवाको किल्ला पनि भनिन्छ ।

देउवाको त्यो किल्लामा कम्युनिस्टको संगठन बनाउनेमध्येका दुई नेता हुन्, विक्रमबहादुर शाही र डा. तारा जोशी । यी दुवै नेताले नेकपा (एमाले)बाट देउवाविरुद्ध प्रतिस्पर्धा गरिसकेका छन् । अहिले भने शाही र जोशी स्वतन्त्र रूपमा चुनावी मैदानमा छन् । शाहीले योपटक पनि देउवाविरुद्ध प्रतिनिधिसभा सदस्यका लागि उमेदवारी दिएका छन् । जोशी डडेलधुराकै प्रदेशसभातर्फ ‘ख’बाट उमेदवार बनेका छन् ।

को हुन् शाही ?
डडेलधुराबाट अध्ययनका लागि कञ्चनपुर पुगेका शाही ०४२ सालमा अखिलमा आबद्ध भए । अध्ययनका क्रममा उनले कञ्चनपुरमै विद्यार्थी राजनीति गरे । ०५२ सालसम्म जिल्ला कमिटी सदस्य रहेर एमाले कञ्चनपुरमा सक्रिय भए । त्यसपछि पार्टीले उनलाई डडेलधुरामा जिम्मेवारी दियो ।

Prabhu Bank
Agni Group
NIC Asia

पार्टी अध्यक्ष प्रणालीमा गएपछि डडेलधुरा एमालेको पहिलो अध्यक्ष भए शाही । ०७१ सालमा शाहीलाई फेरि पार्टीले कञ्चनपुरको इन्चार्ज र महाकाली अञ्चलको सहइन्चार्जको जिम्मेवारी दियो । नेकपा हुँदासम्म उनी सोही जिम्मेवारीमा थिए ।

एमाले विभाजन भएपछि उनी नेकपा (एकीकृत समाजवादी)तर्फ लागे । उनलाई एकीकृत समाजवादीमा सुदूरपश्चिम प्रदेश अध्यक्षको जिम्मेवारी दिइयो । तर, संसद्बाट एमसीसी पारित गर्न एकीकृत समाजवादीले भूमिका खेलेको भन्दै उनी एमालेमै फर्किए । पार्टी अध्यक्ष केपी शर्मा ओलीले केही महिनाअघि कञ्चनपुरमा आयोजित कार्यक्रममा शाहीलाई एमालेमा स्वागत गरेका थिए ।

Global Ime bank

एमाले प्रवेश गरेको केही समय मात्र भएको थियो । उनले प्रतिनिधिसभा सदस्यका लागि डडेलधुराबाट स्वतन्त्र उमेदवारी दर्ता गराए । “एमालेको उमेदवार भए सूर्यमा र नभए आफूलाई भोट हाल्ने योजनासहित मैले उमेदवारी दिएको थिएँ,” उनी भन्छन्, “एमालेले उमेदवारी फिर्ता गरेपछि वामपन्थी पार्टीहरूको मत सुनिश्चित गर्न उमेदवार बनेको हुँ ।”

०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनले देउवाविरुद्ध प्रतिस्पर्धा गरेका थिए । उक्त निर्वाचनमा ५१ हजार ८६८ मत खसेकामा देउवाले २० हजार ५२९ मत पाएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी)का खगराज भट्टले १९ हजार १६१ मत ल्याएका थिए । एमालेका शाहीले सात हजार ९८२ मत पाएका थिए ।

आउँदो मंसिर ४ गतेको निर्वाचनमा एमाले डडेलधुराको प्रदेश निर्वाचन क्षेत्र–२ समन्वय समितिले शाहीलाई समर्थन गर्ने निर्णय गरिसकेको छ ।

को हुन् जोशी ?
०७० को दोस्रो संविधानसभा निर्वाचनमा देउवाविरुद्ध चुनाव लडेका थिए, डा. तारा जोशी । त्यति बेला देउवाले २३ हजार ९२० र निकटतम प्रतिस्पर्धी एकीकृत नेकपा (माओवादी)का खगराज भट्टले १२ हजार ४९३ मत पाएका थिए । तेस्रो भएका एमालेका जोशीले सात हजार १९० मत पाएका थिए ।

जोशीको राजनीतिक यात्रा ०४५ सालमा कैलाली बहुमुखी क्यापसको अनेरास्ववियुमा प्रवेशसँगै सुरु भएको थियो । ०५३ मा उनलाई एमालेको जिल्ला कमिटी सदस्यको जिम्मेवारी दिइयो । ०६२÷०६३ को आन्दोलनका क्रममा उनी पटक–पटक जेल पनि परे । ०६९ मा उनी एमाले डडेलधुराको जिल्ला अध्यक्षमा सर्वसम्मत चुनिए । ०७१ मा पुनः एमालेको जिल्ला अध्यक्षमा निर्वाचित भए ।

०७४ मा प्रदेशसभातर्फ डडेलधुरा ‘ख’बाट प्रतिस्पर्धा गरेका जोशी कांग्रेसका कर्णबहादुर मल्लसँग झिनो मतान्तरले पराजित भए । एमाले विभाजन भएपछि जोशी ०७८ कात्तिकमा एकीकृत समाजवादीमा प्रवेश गरे । उनीसहित सयौँ एमाले कार्यकर्तालाई पार्टीमा स्वागत गर्न ०७८ कात्तिक २४ गते पार्टी अध्यक्ष माधवकुमार नेपाल डडेलधुरा आएका थिए ।

जोशी अहिलेको सत्ता गठबन्धनबाटै डडेलधुरा ‘ख’बाट प्रतिस्पर्धा गर्न चाहन्थे । डडेलधुरामा प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र छन् । गठबन्धनभित्र भागबन्डा गर्दा एकीकृत समाजवादीको भागमा एउटा पनि निर्वाचन क्षेत्र परेन । प्रतिनिधिसभा र डडेलधुरा ‘ख’ कांग्रेसको भागमा पर्‍यो । डडेलधुरा ‘क’ नेकपा (माओवादी केन्द्र)ले पायो ।

टिकट नपाएपछि जोशीले डडेलधुरा ‘क’बाट स्वतन्त्र उमेदवारी दिएका हुन् । जोशीलाई एकीकृत समाजवादी र कांग्रेस बीपीले समर्थन गरेका छन् । योपटक डडेलधुराका मतदाताले आफूलाई अनुमोदन गर्ने जोशीको जिकिर छ । “म गत निर्वाचनमा थोरै मतले पराजित भएको थिएँ । यसपटक मलाई यहाँका मतदाताले जिताउनेछन्,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  १५:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement