
सप्तरी । आउँदो मंसिर ४ गतेको निर्वाचन नजिकिँदै जाँदा सप्तरी क्षेत्र नम्बर–३ मा उमेदवारहरूलाई प्रचारप्रसारका लागि भ्याइनभ्याइ छ । आ–आफ्नो एजेन्डा लिएर उनीहरू बिहानदेखि अबेर रातिसम्म मतदाताको घरदैलोमा पुगिरहेका छन् ।
यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदका लागि १८ उमेदवार प्रतिस्पर्धामा छन् । प्रदेशसभा सदस्यका लागि सप्तरी–३ ‘क’बाट १८ र ‘ख’बाट ११ जना चुनावी मैदानमा छन् । प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ गरी यो क्षेत्रबाट ४७ उमेदवार छन् ।
प्रतिनिधिसभा सदस्यका लागि १८ उमेदवार भए पनि दुईजनाबीच मुख्य प्रतिस्पर्धा हुने धेरैको अनुमान छ । सत्ता गठबन्धनका साझा उमेदवार दिनेशकुमार यादव र जसपा–नेकपा (एमाले) गठबन्धनका ताराकान्त चौधरीबीच कडा प्रतिस्पर्धा हुने नेता–कार्यकर्ताको भनाइ छ । यादव नेपाली कांग्रेसका नेता हुन् । चौधरी एमालेका नेता हुन् ।
यादव ०६४ सालदेखि लगातार उमेदवार बन्दै आएका छन् । तर, अहिलेसम्म विजयी भएका छैनन् । उनी पहिलो जित निकाल्न कम्मर कसेर लागेका छन् । चौधरी ०७० को निर्वाचनमा यादवलाई पराजित गर्दै संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । दुवै उमेदवार एकार्काका पुरानै प्रतिस्पर्धी हुन् ।
आ–आफ्नै दाबी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका यादव ०६४ यता सबै आम निर्वाचनमा उमेदवार बने । तर, उनी निकटतम प्रतिद्वन्द्वीमै सीमित भए । “२०६४ सालदेखि लगातार निर्वाचनमा हार व्यहोरेको र म विशुद्ध राजनीति गर्ने व्यक्ति भएकोले यसपालि जनताले मलाई जिताउनेमा विश्वस्त छु,” यादव भन्छन्, “राजनीति गर्नेबाहेक मेरो अर्को कुनै कर्म क्षेत्र छैन । पदमा नगए पनि समग्र जिल्लाको विकासमा समर्पित रहेर जनताको सेवा गर्दै आएको छु । त्यसैले जनताले मलाई जिताउनेमा विश्वस्त छु ।”
०७० मा जितेका र ०७४ मा हारेका ताराकान्त चौधरी पनि योपटक जनताले आफूले जिताउनेमा विश्वस्त छन् । “म संविधानसभा सदस्य हुँदा बखत थोरै बजेट थियो, तर पनि मैले आफ्नो क्षेत्रमा जनताको लागि काम गरेको छु । जनताले मलाई पत्याउनेमा दुईमत छैन,” चौधरी भन्छन् ।
अंकगणित
गएको स्थानीय तह निर्वाचनको मत परिणामलाई आधार मान्ने हो भने सप्तरी क्षेत्र नम्बर–३ मा सत्ता गठबन्धन अगाडि देखिन्छ । यो क्षेत्रमा शम्भुनाथ नगरपालिका, रुपनी गाउँपालिका, विष्णुपुर गाउँपालिका, डाक्नेश्वरी नगरपालिका र राजगढ गाउँपालिका गरी पाँच पालिका पर्छन् । त्यसभित्र ४१ वडा छन् ।
उक्त निर्वाचनमा सत्ता गठबन्धनतर्फका वडाध्यक्षका उमेदवारले शम्भुनाथ नगरपालिकामा ११ हजार १८८ मत, रुपनी गाउँपालिकामा सात हजार ६, विष्णुपुर गाउँपालिाकामा चार हजार ७२७, डाक्नेश्वरी नगरपालिकामा सात हजार ३७२ र राजगढ गाउँपालिकामा पाँच हजार २० मत पाएका थिए । यी सबैलाई जोड्दा कुल ३५ हजार ३१३ मत हुन आउँछ ।
यस्तै, जसपा–एमाले गठबन्धनतर्फका वडाध्यक्षका उमेदवारले शम्भुनाथ नगरपालिकामा चार हजार १८२, रुपनीमा पाँच हजार ४१, विष्णुपुरमा पाँच हजार २८, डाक्नेश्वरीमा ११ हजार ८६७ र राजगढमा सात हजार ५७३ मत ल्याएका थिए । यी सबैलाई जोड्दा ३३ हजार ६९१ मत हुन आउँछ । यसरी हेर्दा सत्ता गठबन्धन एक हजार ६२२ मतले अगाडि देखिन्छ ।
दुई पालिका निर्णायक
सप्तरी क्षेत्र नम्बर–३ बाट उमेदवार बनेका दिनेशकुमार यादव र ताराकान्त चौधरीको जित–हारमा दुई पालिकाका मत निर्णायक हुने विश्लेषकहरू बताउँछन् ।
गएको स्थानीय तह निर्वाचनको परिणामका आधारमा शम्भुनाथ नगरपालिकामा कांग्रेसका यादव बलियो मानिन्छन् । हुलाकी राजमार्ग छेउमा पर्ने डाक्नेश्वरी नगरपालिकामा चौधरी बलियो देखिन्छन् । यी दुवै पालिकामा जसले बढी मत ल्याउँछ, उही उमेदवार प्रतिनिधिसभा सदस्यमा विजयी हुने आकलन गरिएको छ ।
यादवले शम्भुनाथमा गठबन्धनको मत संरक्षणमा बढी जोड दिएको देखिन्छ । चौधरी डाक्नेश्वरीको मत जोगाउन कम्मर कसेर लागेका छन् ।