काठमाडौं (डाँछी) । चुनाव हुने मिति मंसिर ४ नजिकिँदै छ । उमेदवारहरू मतदाताको घरदैलमा पुगिरहेका छन् । एजेन्डाका नाममा आश्वासन बाँडिरहेकै छन्, भोट मागिरहेकै छन् । तर, यसपटक विगतको तुलनामा मतदाता सचेत देखिन्छन् । नेताहरूसँग मतदाता प्रश्न गर्न थालेका छन् ।
मतदाताको समस्याबारे बुझ्न आइतबार हामी कागेश्वरी मनोहरा नगरपालिका पुग्यौँ । दिउँसोको ३ बजेको हुँदो हो । कागेश्वरी मनोहरा नगरपालिका–४ डाँछीका अर्जुन डंगोल र ताराकुमारी डंगोल खेतमा आलु र गहुँ रोप्न व्यस्त थिए । करिब दुई रोपनीमा लगाइएको अधिया खेती रहेछ ।
हामी पुग्दा उनीहरूले प्रश्न गरिहाले– तपाईंहरू पनि भोट माग्न आउनुभएको हो ?
उनीहरू रोकिएनन्– अहिलेसम्म कहाँ जानुभएको थियो ? खेतीको मोल नपाएर हालत खराब छ ।
हामीले आफू सञ्चारकर्मी भएको बताएपछि ताराले गुनासो गर्न थालिन्, "यी पुरानै नेतालाई किन भोट हाल्ने ? चुनावको बेला आएर सबै गर्दिन्छौँ भन्छन् । तर जितर गएपनि कहिले पनि नेताको अुनहार देखिँदैन ।”
जुन पार्टीको नेता आएपनि अहिलेसम्म आफूहरूले आश्वासनबाहेक अरू केही नपाएको उनीहरूको गुनासो छ ।
“जति चुनाव आएपनि जुन पार्टीको मान्छेले जिते पनि हाम्रो दुःख कहिले पनि कम भएन,” ताराले भनिन्, “ठुला बडा चिल्ला गाडी चढ्छन्, मिठो मिठो खान्छन् । हामी मरुन्जेल काम गरेपनि खान लगाउनै मुस्किल पर्छ ।”
अर्जुनको पनि नेताहरूको 'रवैया'देखि निराश देखिन्थे । उनको पनि गुनासो उस्तै थियो– चुनावको मुखमा आश्वासन मात्र दिन्छन्, जितेर गएपछि कहिले पनि फर्किंदैनन् ।
“खेती गर्ने समयमा मल पाइन्नँ । उब्जनी हुन्न अनि भोलिपर्सि चामल पाइन्नँ । ग्याँस दुई हजार रुपैयाँ पुगिसक्यो । महँगीले बाँच्न गाह्रो भइसक्यो,” अर्जुन भने ।
अर्का कृषक लालसिंह लामाको व्यथा पनि फरक थिएन । बरु उनले त एउटा टुक्का नै बनाएका रहेछन्– बजेट नेताको झोलामा, हाम्रो भोट खोलामा ।
नेताहरूप्रति उनको आक्रोश स्पष्टसँग अनुहारमा देखिन्थ्यो । उनले 'हाम्रो भोट खोलामा' भनिरहँदा नजिकै बगिरहेको शाली नदीलाई देखाइरहेका थिए । अहिलेसम्म आफूले मतदान गरेका नेताहरूबाट कुनै गतिलो काम नभएपछि उनी निष्कर्षमा पुगेका छन्– नेतालाई भोट र बालुवामा पानी हाल्नुमा केही फरक छैन ।
“नजिकका वडाध्यक्षहरूले केही गर्दैनन् । अहिले झन न हामीले चिनेका छौँ, न देखेका छौ । यी नेताहरूले हाम्रा लागि काम गर्छन् भन्ने के छ ?,” लामाको प्रश्न थियो ।
पैसा तिरेर खरिद गर्न खोज्दा पनि कृषि सामग्री नपाइएको उनको गुनासो थियो । “वडामा मल छैन भन्छन । पसलमा हुन्छ । महँगो पैसा तिरर लिनुपर्छ । त्यही पनि आवश्यक परेको बेला कहिल्यै पाइँदैन,” उनले भने ।
त्यसपछि यही ठाउँका अर्का कृषक ठाकुर केसीसँग भेट भयो । उनले ६ वर्षदेखि यस क्षेत्रमा १८ रोपनी जग्गा लिजमा लिएर कृषि फर्म सञ्चालन गरिरहेका छन् । ०७२ सालबाट उनले काउली, गोलभेडा, माछा, टर्की, कालिजलगायत व्यवसाय गर्दै आएका छन् ।
उनको समस्या पनि फरक थिएन । आफूले समयमा मल र कुखुराको दाना नपाएको उनको गुनासो थियो ।
“सरकारले अनुदानमा मल, कुखुराको दाना दिने रहेछ । तर हामीलाई कहिल्यै पनि थाहा हुन्न । वितरण भएपछि मात्र थाहा पाउछौँ । हामी जाने बेलासम्ममा सबै सकिएको हुन्छ । खाली हात फर्किनुपर्ने हुन्छ,” उनले भने ।
आफूले अहिलेसम्म १० केजी मलबाहेक अरू सरकारी सुविधा नपाएको उनले बताए ।
“अस्ति वडाले मल वितरण गरेका रहिछ । गएर एक घण्टा लाइनमा लागेँ । तर पछि मल सकियो भनेर फर्काउन थाले । झगडा गरेपछि १० केजी मल दिए । अहिलेसम्म मैले लिएका सुविधा भनेको त्यहीँ हो,” उनले भने ।