निर्वाचनमा मतदातालाई रिझाउन उमेदवार र तिनका समर्थकले दिएको झुटो वचन र अनुचित आश्वासनले समर्थन होइन आक्रोश बढाएको छ । विडम्बना, राजनीतिक दलका नेता कार्यकर्ताले थाहै नपाएजस्तो गरिरहेका छन् ।
यसैले त अगिल्लो चुनावमा गरेको फट्याइँ अहिले निकै महँगो पर्दा पनि थप फुटानी गर्न नछाडेका होलान् । उमेदवारहरूलाई त अगिल्लो निर्वाचनमा आफूले दिएको आश्वासनको हेक्का पनि छैन किरु
सुनसरीको एउटा निर्वाचन क्षेत्रका मतदाताको ‘हाम्रै मतले जितेर मन्त्री बन्छन् तर बगाएको धानको क्षतिपूर्ति दिलाउन पहल गर्दैनन्’ भन्दै पत्रकारलाई सुनाए । उनीहरूको गुनासो मिसिएको यो आक्रोश प्रतिनिधि उदाहरण हो ।
केही ठाउँका मतदाताले जसरी ‘आफ्ना समस्या समाधान नभए मतै नदिने’ घोषणा नगरे पनि सामान्य मतदाता कतै पनि सन्तुष्ट देखिँदैनन् । यसैले उमेदवारहरू विशेषगरी गत ५ वर्षमा सत्तामा पुगेका दलका नेतासँग मतदाता रिसाएका हुनुपर्छ ।
जसरी पनि चुनाव जित्नुपर्छ भन्ने मानसिकताले उमेदवार र तिनका समर्थकहरूले हुने नहुने आश्वासन दिन्छन् । अझ केहीले त आफूले वा आफ्नो दलले चुनाव हारे देशै नरहने वा शासन व्यवस्था नै समाप्त हुनेसम्म पनि भन्न हिचकिचाउँदैनन् ।
पत्याउनै नसकिने फुटानी गर्नेहरूमा ठूला भनिएका दलका शीर्ष नेता त छँदैछन् एक्लै चुनाव लडेका उमेदवार पनि कम देखिएनन् । मात्रा धेरैथोरै होला तर फट्याइँ र फुटानी नगर्ने उमेदवार एक जना पनि छैनन् ।
चुनावका बेला जे बोले पनि पछि उत्तरदायी हुन नपर्ने भएकाले नै यस्तो उमेदवार र राजनीतिक दलहरू यति गैरजिम्मेवार भएको हुनुपर्छ । यस्तो अभ्यास अन्त्य होस् भन्ने चाहने हो भने जनताले पनि तिनको वचन र व्यवहारको हिसाब राख्न थाल्नुपर्छ ।
मतदाताहरू अहिलेजस्तै ‘गौ प्राणी’ भइरहने हो भने फट्याइँ गर्नेहरूले हौसला पाइरहनेछन् । लोकतन्त्रमा जनसाधारण सबैभन्दा शक्तिशाली मानिन्छन् । यसैले उनीहरू अरूभन्दा बढी सजग र जिम्मेवार पनि हुनुपर्छ ।
राजनीति गर्नेहरूले पनि अब जनतालाई ढाँट्न र फुटानी गर्न छाड्नुपर्छ । कुनै व्यक्ति वा दलले चुनाव हार्दा देश नरहने वा शासन व्यवस्था उल्टिनेजस्ता फुटानी गर्नेहरूले जनतालाई हेप्न छाडून् ।
कुनै व्यक्ति वा दलले चुनाव हार्दा त के समाप्तै हुँदा पनि देशलाई खासै फरक पर्दैन । मतदातालाई अबुझ ठानेर यस्तै फट्याइँ र फुटानी गरिरहने हो भने आफैँ नराम्ररी पछारिइन्छ भन्ने हेक्का राख १