site stats
बाह्रखरी :: Baahrakhari
संसद् निर्वाचन २०७९
उमेदवार गाउँतिर, मतदाता मुग्लानतिर

धनगढी । आसन्न निर्वाचनका लागि यति बेला नेता एवं उमेदवारहरू प्रचारप्रसारमा व्यस्त छन् । मतदाताको घरदैलोमा पुगिरहेका छन् । मतदानका लागि अब नौ दिन मात्र बाँकी छ । तर, सुदूरपश्चिम प्रदेशका नागरिकमा भने रोजीरोटीका लागि मुग्लान (भारत) जाने चटारो देखिन्छ ।

अहिले कैलालीका गौरीफन्टा र त्रिनगर तथा कञ्चनपुरको गड्डाचौकी नाका हुँदै रोजगारीका लागि भारत जानेको लर्को नै लागेको छ । सुदूरपश्चिमबाट परदेशिनेको संख्या दिनानुदिन बढ्दै गएको छ ।

iadmfmg1668149091.jpg

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

धनगढीको त्रिनगर भन्सार नाका हुँदै भारत जान लागेका मीनराज काफ्ले भन्छन्, “अहिलेसम्म कसै नेताले रोजगारीका लागि कलकारखाना खोलेनन्, हामीले यहाँ रोजगारी पाउँदैनौँ । अनि, भारत नगएर के गर्नु ?”

मतदानको दिन पखर्नुभन्दा चाँडै भारत पुग्न पाए छिट्टै आम्दानी गर्न सकिने उनी बताउँछन् ।

तिहार मनाउन घर फर्किएका नेपाली निर्वाचनको माहोल तातिरहेका बेला रोजगारीका लागि भारत जान थालेका हुन् । “चुनावको भोटले पेट भरिँदैन,” काफ्लेले भने, “भोको पेट भर्न भोट छाडेर भए पनि भारत छिर्नुपर्ने बाध्यतै छ ।”

उनले नेताहरूप्रति आक्रोश पोख्दै भने, “किन चाहियो चुनाव ? किन चाहियो नेता ? हामीले जहानपरिवार पाल्न परदेशिनु नै पर्ने हो ।”

भारत जान लागेका अर्का युवा टेकसिंह रावलले भने, “चुनावका बेला मात्रै हो नेताहरूले युवालाई यहीँ रोजगारी दिने भन्दै गाउँमा माइक लगाएर फुक्छन् । तर, आम नेपालीले अरूको देशमा काम गर्न जानुपर्ने बाध्यता वर्षौँदेखि टरेको छैन ।’

आफू रोजगारीका लागि पहिलोपटक निर्वाचनमा भोट हाल्न छाडेर भारत पस्न लागेको भन्दै उनले दुःखेसो पोखे । “हो भोट हाल्न मन त थियो, तर के गर्नु,” उनले भने, “भोटभन्दा भोको पेट ठूलो रै’छ ।”

dfg1668149117.jpg

दसैँ मनाउन घर फर्किएकी गीता विकले भनिन्, “दसैँ, दिपावली मनाइसकेर म पुनः भारत जाँदै छु ।”

आफूले १० वर्षदेखि भारतमै रोजगारी गर्दै आएको बताउँदै उनले भनिन्, “स्वदेशमै सीपअनुसारको काम हुने भए भोट हाल्न छाडेर अहिले किन भारत फर्कनुपर्थ्यो ? मनमा पीडा हुँदाहुँदै भारत छिर्दै छु ।”

सोही नाका भएर जाँदै गरेकी राधा धामी भारतमा आफूले मजदुरी गर्ने गरेको बताउँछिन् । उनी भन्छिन्, “मजदुरी गर्ने वातावरण नेपालमै भए किन भारत छिर्थेँ ? यहाँ त्यस्तो अवसर नै छैन र त चुनावको मुखैमा भोट हाल्न छाडेर मुग्लान छिर्नुपरेको छ ।”

प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९  १२:२३
प्रतिक्रिया दिनुहोस्