काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि सोलुखुम्बुबाट छनोटमा परेका हेमकुमार राईको टिकट असोज २२ गते खोसियो । सत्ता गठबन्धनभित्र भागबन्डा गरिँदा ०७४ मा जितेका निर्वाचन क्षेत्र जसले जितेको हो, सोही दलले पाउने समझदारी भएको थियो । त्यसानुसार नेकपा (माओवादी केन्द्र)ले राईलाई टिकट दिएको थियो । तर, माओवादीले नै उनको टिकट खोस्यो । नेपाली कांग्रेसका बलबहादुर केसीले त्यहाँबाट टिकट पाए ।
सोलुखुम्बुमा स्थानीय तह निर्वाचनमा सबैभन्दा अगाडि रहेको कांग्रेसले नै संघमा टिकट पाउनुपर्ने दबाब कांग्रेस नेतृत्वलाई थियो । त्यो दबाबभन्दा गठबन्धनलाई महत्त्व दिएका कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादीलाई त्यो क्षेत्र छोडेका थिए । तर, अन्तिममा केसीले नै टिकट लगे ।
केसीले त्यसरी टिकट पाउनुको यथार्थ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नातावादसँग जोडिएको छ ।
प्रचण्डले आफ्नो कान्छा ज्वाइँ मोरङका स्थायी बासिन्दा (कान्छी छोरी गंगा दाहालका पति) जीवन आचार्यलाई टिकट दिलाउन कांग्रेस नेता डा. शेखर कोइरालासँग वार्ता गरे ।
शेखरले आफ्नो निर्वाचन क्षेत्रभित्रको प्रदेशतर्फ आचार्यलाई उमेदवार बनाउन माओवादी केन्द्रले एउटा क्षेत्र छोड्नुपर्ने सर्त राखे ।
प्रचण्डले कोइरालाको सर्त स्वीकार गरेपछि शेखरले सोलुखुम्बु मागे । प्रचण्ड सोलुखुम्बुका आफ्ना उमेदवार राईको टिकट फिर्ता गराउन तयार भए । त्यसपछि सोलुखुम्बुमा केसी उमेदवार बने । प्रचण्ड ज्वाइँ आचार्यलाई मोरङ– ६ ‘क’बाट गठबन्धनको साझा उमेदवार बनाउन सफल भए ।
उक्त सिट कसरी कांग्रेसको भागमा आयो भन्ने प्रश्नमा केसीले बाह्रखरीसँग वास्तविकता खुलाए ।
“विगतमा जितेको हुँदा गठबन्धनले माओवादीलाई नै सोलु जिल्ला भाग लगाएको थियो । म पनि टिकट नपाउने अवस्थाबारे जानकार थिएँ,” केसीले भने, “तर, प्रचण्डजीको ज्वाइँलाई मोरङबाट चुनाव उठाउनुपर्ने रहेछ । शेखरजीले उहाँलाई उमेदवार बनाउन सहयोग गर्नुभयो । मेरो लागि पनि हेमुकुमारजीले छोडेर सहयोग गर्नुभयो ।”
केसी टिकट लिएर सोलुखुम्बु गएपछि राई छक्क परे । उनलाई अहिलेसम्म पनि आफ्नो टिकट किन खोसियो भन्ने अधिकारिक जानकारी छैन । कसैको नातेदारका लागि त्यसो गरिएको हो भने त्यो गम्भीर विषय भएको उनको भनाइ छ ।
“कसैका ज्वाइँलाई व्यवस्थापन गर्न सोलुखुम्बु जिल्ला बुझाइएको हो भने त्यो म मात्र होइन, पार्टी माथिकै गद्दारी हो । तर, अहिलेसम्म मलाई टिकट किन खोसियो भनेर कुनै जानकारी छैन,” राईले बाह्रखरीसँग भने, “अन्यत्र जितेको ठाउँ सम्बन्धित पार्टीले नै लड्ने मापदण्ड कायम भएको छ । सोलुखुम्बुमा मात्रै किन त्यो पालना भएन भनेर म खोजिरहेको छु ।”
टिकट खोसिएकोमा असन्तुष्ट बनेका राई आफू नेतृत्वलाई प्रश्न सोध्ने तयारीमा रहेको बताउँछन् ।
त्यसबाहेक उनलाई जिल्लाकै माओवादी नेताहरूले अघि बढ्न रोकेकामा पनि रिस उठेको छ । “हेमकुमार अघि बढ्यो भने हाम्रो भाग खोसिन्छ भन्नेहरूले बलबहादुर केसीसँग साँठगाँठ गरे,” राईले भन्छन्, “केन्द्रबाट पनि बेइमानी भएको छ ।”
०००
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चौथोपटक निर्वाचनमा प्रतिस्पर्धा गर्न गोरखा पुगेका छन् । उनले अहिलेसम्म कुनै पनि निर्वाचन क्षेत्रमा दोहोर्याएर प्रतिस्पर्धा गरेका छैनन् ।
आफू सुरक्षित निर्वाचन क्षेत्रको खोजीमा हिँड्ने उनले आफ्नो परिवारका सदस्यको संक्षणमा पनि कुनै कसर बाँकी राखेका छैनन् ।
प्रचण्डले भाइ नारायण दाहाललाई यसअघि नै ६ वर्षका लागि राष्ट्रियसभामा पुर्याइसकेका छन् । सत्ता गठबन्धनकै सहयोगका छोरी रेनु दाहाललाई दोस्रो कार्यकालका लागि भरतपुर महानगरपालिकाको प्रमुख बनाए । बुहारी बीना मगरलाई दोस्रोपटक कञ्चनपुर–१ बाट उमेदवार बनाएका छन् ।
माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन आफू रोल्पाबाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार बनेका छन् । उनकी श्रीमती एवं पूर्वसभामुख ओनसरी घर्ती काठमाडौं निर्वाचन क्षेत्र नम्बर–२ बाट सत्ता गठबन्धनकी साझा उमेदवार रहेकी छन् ।
यस्तै, सभामुख अग्निप्रसाद सापकोटाले अन्तिमसम्म आफ्ना लागि टिकटको अडान राखे । गठबन्धनबाट टिकट सुनिश्चित भएपछि भतिजा माधव सापकोटालाई उमेदवार बनाएका छन् ।
माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा सुरुमा दाङबाट प्रत्यक्ष निर्वाचनको तयारीमा थिए ।
पछि समानुपातिकमा बस्ने चर्चा चल्यो । अन्तिममा आफ्नी छोरी कुश्मा महरालाई समानुपातिकमा सुनिश्चित गरेपछि उनी कतैबाट पनि चुनाव नलड्ने निर्णयमा पुगे । महराकी छोरी कुश्मा लुम्बिनी प्रदेशसभाको समानुपातिक सूचीमा खसआर्य (महिला)तर्फको दोस्रो नम्बरमा छन् ।
माओवादी केन्द्रकै उपमहासचिव शक्ति बस्नेत जाजरकोटबाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार छन् । आफ्नी बहिनीलाई पनि उमेदवार बनाउन उनी सफल भएका छन् । बस्नेतकी बहिनी ज्ञानु सुवेदी प्रतिनिधिसभाको समानुपातिक सूचीमा खसआर्य (महिला)तर्फको पहिलो नम्बरमा छन् ।
माओवादी केन्द्रकै उपमहासचिव जनार्दन शर्मा आफू रुकुम पश्चिमको विगतदेखिकै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार छन् । उनले आफ्नी बहिनी नारायणी शर्मालाई प्रतिनिधिसभाकै समानुपातिक सूचीमा राख्न सफल भएका छन् ।
कांग्रेसमा नातावाद
प्रगतिशील मुद्दासहित सशस्त्र युद्द गरेर आएको माओवादी केन्द्रप्रति नातावादको आरोप केही ज्यादा छ ।
तर, राणाशासनदेखि पञ्चायतसम्म ढाल्न नेतृत्व गरेको र कम्युनिस्ट पार्टीहरूलाई पनि संसदीय राजनीतिको मूलधारमै भित्र्याएको श्रेय लिने दल नेपाली कांग्रेसमा पनि नातावाद, कृपावादको प्रभाव कम छैन ।
हुन त यो पार्टीमा सुरुवातदेखि नै कोइराला परिवारको नातावाद स्थापित भएको आरोप नलागेको होइन । तर, त्यसबेला कोइराला परिवारले नै सबैभन्दा बढी संघर्ष गरेको भन्दै सामान्यीकरण गर्ने गरिन्थ्यो । विगतमा संघर्ष गरेको भनेर देखाउने आधार भए पनि अहिले नातेदार भएकै कारण अवसर पाउने र नेता पनि हुने प्रवृत्ति स्थापित भएको छ ।
प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा डडेलधुराबाट सातौँपटक चुनाव लड्दै छन् । ७६ वर्ष पार गरेका देउवामा अझै सक्रिय राजनीतिको भोक मेटिएको छैन । सँगसँगै राजनीतिमा उनको परिवारका सदस्य मोह पनि बढ्दो क्रममा छ ।
देउवाले पत्नी आरजु राणा देउवालाई प्रत्यक्ष निर्वाचनबाटै संसद्मा प्रवेश गराउन अनेक प्रयत्न गरे । योपटक आरजुलाई कैलाली–५ बाट संसद्मा पु¥याउन देउवाले अन्तिमसम्म प्रयास गरेका थिए ।
तर, स्थानीय कार्यकर्ता र जनताको विश्वास नपाउने निष्कर्षमा पुगे । त्यसपछि उनले पत्नीलाई जसरी पनि सांसद बनाउने गरी प्रतिनिधिसभाको समानुपातिकतर्फ महिलाको तेस्रो नम्बरमा नाम राखेर उमेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाए ।
सभापति देउवाका कट्टर अनुयायी बनेका छन्, गृहमन्त्री समेत रहेका कांग्रेस नेता बालकृष्ण खाँण ।
उनी आफू रुपन्देही–३ बाट प्रतिनिधिसभा सदस्यको उमेदवार बनेका छन् । श्रीमती मञ्जु खाँणलाई प्रतिनिधिसभाकै समानुपातिक सूचीमा राखेका छन् ।
कोइराला परिवार छुट्टाछुट्टै गुटबाट उमेदवार
नेपालमा पारिवारिक विरासतको राजनीति सुरु गरेको आरोप कोइराला परिवारमाथि छ । हुन पनि मोरङदेखि नवलपरासीसम्म कोइराला परिवारकै सदस्य उमेदवार छन् । मोरङका दुई क्षेत्रबाट डा. शेखर कोइराला र सुजाता कोइराला उमेदवार छन् । नवलपुरबाट डा. शशांक कोइराला उमेदवार छन् ।
पछिल्लो समय कोइराला परिवारमा एकता र सहयोग आदानप्रदान भएको देखिँदैन । शशांक विगतमा जितेको विरासतकै आधारमा पुनः उमेदवार छन् । शेखर आफ्नो समूहको नेताको हैसियतमा उमेदवार बनेका छन् ।
सुजातालाई दुवै दाजु (शेखर र शशांक)ले उमेदवार बनाउन पहल गरेनन् । सभापति शेरबहादुर देउवाले उमेदवार बनाए ।
टिकट वितरण गर्ने कांग्रेसको संसदीय समितिले मुस्ताङमा कसलाई टिकट दिने भनेर निर्णय गरेन । मुस्ताङ सभापति रोमी गौचन थकालीलाई चुनाव लड्न गरेको आग्रह उनले अस्वीकार गरेका थिए ।
त्यसपछि टिकट दिने जिम्मा उनैलाई दिएर सभापतिले हस्ताक्षर गरेको टिकट नाम नलेखी थकालीलाई हस्तान्तरण गरियो । उनले आफ्नै २९ वर्षीय छोरा योगेश गौचन थकालीलाई प्रतिनिधिसभाको टिकट दिए ।
तर, आफूले छोरा भएका आधारमा मात्र योगेशलाई टिकट नदिएको उनको जिकिर छ ।
“मुस्ताङमा मैले अघिल्लोपटक नै फेरि चुनाव नलड्ने घोषणा गरेको थिएँ । म तिनै व्यक्तिसँग फेरि भोट दिनुहोस् भन्न सक्दिनथेँ,” उनले भने, “मैले यो कुरा नेताहरूसँग बताएपछि नेताहरूले मलाई चुनाव लड्न पटक–पटक आग्रह गर्नुभयो । मैले लड्दिनँ भनेपछि जिल्लाका साथीहरूले सामूहिक राजीनामा दिन्छौँ भन्नुभयो । आफ्नो विकल्पमा छोरा उठाउन उहाँहरूले आग्रह गरेबामोजिम मैले योगेशलाई उमेदवार बनाएको हुँ ।”
एमालेमा नातावाद
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्ना भाषणमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई ‘नातावादका शिरोमणि’का रूपमा प्रस्तुत गर्छन् । तर, उनकै पार्टी एमाले पनि नातावादको चंगुलबाट मुक्त हुन सकेको छैन ।
एमाले महासचिव शंकर पोखरेल दाङ–२ बाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार छन् ।
उनकी बहिनी मेनकाकुमारी पोखरेललाई पनि दाङबाटै समानुपातिकमा सिफारिस गरियो । क्याम्पसमा प्राध्यापन पेसामा रहेकी मेनकाकुमारीलाई एमालेले प्रतिनिधिसभाको समानुपातिकतर्फको सूचीमा एक नम्बरमा राखेर बन्दसूची बुझाएको छ ।
माओवादी छोडेर एमाले उपाध्यक्ष भएका रामबहादुर थापालाई काठमाडौं–१० का लागि टिकट दिइएको थियो ।
तर, उनले प्रतिस्पर्धा गर्न इच्छा देखाएनन् । उमेदवार बनेनन् । उनकी पत्नी नैनकला थापा एमालेको प्रतिनिधिसभाको समानुपातिकतर्फको बन्दसूचीमा छन् ।
एमाले उपाध्यक्ष सुवास नेम्वाङ इलाम–२ बाट उमेदवार छन् । उनका काकाका छोरा अर्थात् भाइ वसन्त नेम्वाङ पाँचथरबाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार छन् ।
एमाले उपमहासचिव रघुवीर महासेठ धनुषा–४ बाट उमेदवार छन् । उनकी पत्नी जुलीकुमारी महतो धनुषा–३ बाट उमेदवार छन् ।
एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजाल व्यक्ति स्वयंले पार्टीमा गरेको योगदानका आधारमा टिकट पाएको जिकिर गर्छन् ।
“अन्य पार्टीमा जस्तो छोरी÷बुहारी भएकै कारण, ज्वाइँ भएकै कारण वा श्रीमती भएकै कारण एमालेमा कोही पनि उमेदवार भएको छैन,” रिजालले बाह्रखरीसँग भने, “नेकपा (एमाले)मा नातेदार भएकै कारण उमेदवार कोही पनि बनेका छैनन् । कसैका नाता परे पनि उनीहरू नाताका आधारमा नभएर योगदानकै आधारमा उमेदवार बनेका हुन् ।”
साना पार्टीमा पनि नातावाद उस्तै
नातावादको प्रभाव ठूला पार्टीहरूमा मात्र सीमित छैन । एमाले फुटेर बनेको नेकपा (एकीकृत समाजवादी)मा पनि नातावादले काम गरेको छ ।
सो पार्टीका अध्यक्ष माधवकुमार नेपालका सम्धी सोमप्रसाद पाण्डे पाल्पा–२ बाट पुनः उमेदवार बनेका छन् । डा. बाबुराम भट्टराईले गोरखामा ०६४ सालको संविधानसभा निर्वाचनमा खसेको भन्दा बढी भोट पाएका थिए ।
उनले घुम्दैफिर्दै नेपाल समाजवादी पार्टी नामको नयाँ पार्टी गठन गरेका छन् । उनको पार्टीले योपटक माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गर्दै छ ।
डा. भट्टराईले योपटक आफू निर्वाचन नलड्ने घोषणा गरे । आफ्नी छोरी अस्मिता सिंह (मानुषी) यमी भट्टराईलाई काठमाडौं–७ बाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार बनाए ।
विद्यार्थी राजनीतिबाट आएकी छोरी मानुषीलाई उमेदवार बनाउन उनले आफूले जित्दै आएको निर्वाचन क्षेत्र नै प्रचण्डका लागि छोडिदिएका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर महोत्तरी–३ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा छन् ।
उनले पार्टीको समानुपातिकतर्फको सूचीमा पहिलो नम्बरमा आफ्नी छोरी डा. मीनाक्षी ठाकुरलाई राखेपछि लोसपाभित्र असन्तुष्टि चुलिएको थियो ।
जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता अशोक राई सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार छन् । उनकी पत्नी सुशीला श्रेष्ठ प्रतिनिधिसभाकै समानुपातिक सूचीमा छन् ।
नेपालमा पृथकतावादी नारा लगाएर चर्चामा आएका डा. सीके राउतले जनमत पार्टी गठन गरेका छन् । सो पार्टी पनि नातावादको प्रभावबाट मुक्त हुन सकेको छैन ।
जनमत पार्टीका अध्यक्ष राउत सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार बनेका छन् । उनका भाइ जेके (जयकान्त) राउत सप्तरी क्षेत्र नम्बर–१ बाट उमेदवार बनेका छन् । यो पार्टीले पहिलोपटक प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिँदै छ । नातावादकै कारण पार्टीभित्र असन्तुष्टि देखिएको छ ।
कैलालीको टीकापुर घटनामा दोषी ठहर भएपछि रेशम चौधरी फरार अभियुक्तका रूपमा रहेका थिए ।
तर, ०७४ को निर्वाचनमा तत्कालीन राजपाबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भए । त्यसपछि सार्वजनिक भएका उनी जेल परे ।
राजपाकै दबाबमा उनलाई जेलबाट लगेर सांसदको शपथग्रहण गराएर जेलमै फर्काइएको थियो । त्यसयता लगातार जेलमा रहेका उनले जेलबाटै श्रीमतीलाई अध्यक्ष बनाएर नागरिक उन्मुक्ति पार्टी गठन गरेका छन् ।
उनले योपटक पनि नागरिक उन्मुक्ति पार्टीका तर्फबाट कैलाली क्षेत्र नम्बर–३ मा वारेसमार्फत उमेदवारी दर्ता गराए । उनकी श्रीमती रञ्जिता श्रेष्ठले कैलाली–१ बाट उमेदवारी दिइन् । फौजदारी कसुरमा जेलमै रहेका उनको निर्वाचन आयोगले उमेदवारी खारेज गरियो । श्रीमती श्रेष्ठको उमेदवारी भने कायम छ ।
विश्लेषक दाहाल भन्छन्– नातावाद भयंकर ठूलो भ्रष्टाचार हो
राजनीतिक विश्लेषक डा. विष्णु दाहाल ‘नेपोटिजम’ (नातावाद) विश्वभर रहेको र त्यसका आधारहरू भने बदलिँदै र साँघुरिँदै गएको बताउँछन् ।
उनी विचारका आधारमा चल्ने ‘नेपोटिजम’ पछिल्लो समय स्वार्थका गुट, आर्थिक लाभका आधार, असैद्धान्तिक सहयोगी र परिवारभित्र प्रवेश गरेको बताउँछन् ।
“नाताका सम्बन्धका आधारहरू बदलिँदै छन् । जस्तो, हिजो विचारले नाता बनाउँथ्यो । पार्टी भनेको विचारले नाता गाँसिएको वर्गनाता परिवार नै हो । हाम्रोमा जातनाता विस्तारित भयो । कम्युनल भोटहरू हुन थाल्यो । काठमाडौंमा नेवारलाई, यहाँभित्र पनि बौद्धमा तामाङलाई टिकट दिनुपर्ने भयो । खोटाङ, ओखलढुंगासहित किराँतमा राईलाई, लिम्बुवानमा लिम्बूलाई, ताम्सालिङमा तामाङलाई, गुरुङ बाहुल्य क्षेत्रमा गुरुङलाई, सुदूरपश्चिम, कर्णालीमा ठकुरीलाई टिकट वितरण हुन थाल्यो । त्यो पनि एक खालको पहिचान, भाषा संस्कृतिसँग जोडिएको नाता भयो,” डा. दाहालले बाह्रखरीसँग भने, “नातावादसम्बन्धी ई.ओ. वेलसनको जीन थेउरी छ, जीन थेउरीले के भन्छ भने, व्यक्तिले सबैभन्दा नजिकको जीनलाई संरक्षण गर्छ । योअनुसार पुरुषप्रधान समाजमा जसले वंश थाम्छ उसैलाई संरक्षण गर्ने भयो, त्यसलाई हामी रगतको सम्बन्ध भन्छौँ । अर्को, वैवाहिक सम्बन्धबाट स्थापित नाताको कुरा हुन्छ, जसलाई हामी फरिया सम्बन्ध भन्छौँ ।”
उनले अहिलेको उत्तराधुनिक समाजमा सम्बन्धका आयामहरू नै फरक ढंगले अघि बढिरहेको बताए ।
“हाम्रोमा वैवाहिकबाहेकका ‘एक्ट्रा म्यारिटल’ सम्बन्धले पनि टिकट वितरणमा काम गरिरहेको छ,” डा. दाहालले भने, “कसैको सेवा गरेबापत मेया पाउने सम्बन्धहरू पनि विकास भए । नेताको चाकडी गर्ने डोरबहादुर विष्टको भनाइमा– चाकडीबाजहरूले टिकट पाउने भए । अर्को, अर्थको प्रभावमा पार्टीहरूले व्यापारीहरूलाई टिकट दिने भए । यो वैधानिक रूपमा गरिएको टिकट बिक्री नै हो ।”
डा. दाहालका अनुसार त्यसबाहेकका सम्बन्धले पनि टिकट वितरणमा नातावादको काम गरिरहेको छ । चाकडीका लागि लगाउने नाताका आधारमा पनि टिकट वितरण भइरहेको उनको भनाइ छ ।
“सोसल बायोलोजीले धर्मपुत्रको कुरा गर्छ । धर्मपुत्रलाई सम्पत्ति र पद दिने चलन पहिले पनि थियो । त्यो राणाकालमा सन्तान र दाजुभाइलाई दिने चलन थियो । कांग्रेसमा कृष्णप्रसाद कोइरालाका छोरा र भाइहरूलाई दिने चलन विकास भयो । पछि मदन भण्डारीका श्रीमती र निकटहरूले पाए । प्रचण्डका पुत्रीहरू हुँदै ज्वाइँहरूले पाउँदै छन्,” डा. दाहालले भने, “अहिले अर्को नाता सम्बन्ध बन्यो, राजनीतिक बा । जस्तो, एमालेमा ओली वा भन्ने ‘बा’का चाकरहरूले धेरै टिकट पाए । कांग्रेसमा ‘दाइ, भाउजू’ भन्नेहरूले टिकट लिएका छन् ।”
विगतमा विचार संरक्षणका आधारमा रहेको ‘नेपोटिजम’ अहिले जीन र चाकर संरक्षण गरेर बलियो हुनेतर्फ मोडिएको उनको विश्लेषण छ । नातावादले लोकतन्त्रलाई खुम्च्याउँदै कमजोर पारिरहेको उनको बुझाइ छ । उनी नातावाद एउटा ठूलो भ्रष्टाचार भएको टिप्पणी गर्छन् ।
“परिवारिक र स्वार्थको नाताले छद्मवेशीहरूले टिकट पाउने भए । ठेकेदार, व्यापारी, उद्योगी हुँदै सरकारी सेवामा हुँदा अवैध रूपमा नेतालाई सहयोग गर्नेहरूले अवसर पाउने भए । लोकतन्त्रका लागि राजनीतिमा लागेकाहरू र पार्टीमा कुर्वानी गरेकाहरू पाखा पर्ने भए । यसले लोकतन्त्रलाई खुम्च्याउने र भ्रष्टाचारलाई वैधानिकता दिने काम भयो,” उनी भन्छन् ।
नेताका लागि अहिले देशभन्दा पार्टी, पार्टीभन्दा गुट, गुटभन्दा नातेदार, परिवार र पैसावाल प्यारो हुँदै जाँदा लोकतन्त्र खुम्चिँदै गएको उनको निष्कर्ष छ ।
नातावादले दास उत्पादन गर्दै छ : डा. हरि रोका
राजनीतिक विश्लेषक डा. हरि रोका सबै पार्टीमा नातावादले जरा गाडेको भन्दै लोकतन्त्र खुम्चिँदै गएको बताउँछन् ।
राजनीतिक संघर्ष गरेकाहरूले नेता र उनीहरूका श्रीमती वा परिवारको चाकडी गरेर पद पाउने वा नातागोता भएका आधारमा पद पाउने अवस्थाले लोकतन्त्रको निरन्तरतामै प्रश्न उठाएको उनको टिप्प्णी छ ।
“परिवारवाद पोलिटिकटल क्लासको जन्मको कुरा भयो । यसको ठाउँअनुसार बेग्लाबेग्लैखालका प्रभाव छन् । अमेरिकामा राजनीतिक परिवारकै मान्छेहरू कुनै न कुनै रूपबाट आए, युरोपमा पनि पुरानो राजनीतिक परिवारका मानिस आएको देखिन्छ,” डा. रोकाले भने, “चीनमा पनि कम्युनिस्ट प्रिन्सहरूको उदय भएको भनिँदै छ । भारतमा पनि पहिलेदेखि नै गान्धी परिवारको विरासत देखिएकै हो । छोरा वा छोरी हुनेको उनीहरू नै र छोराछोरी नहुनेहरूका पनि नातागोताबाटै राजनीतिमा आएको देखिन्छ ।”
‘आइडोलोजिकल भेन्टिलेसन’ हुन नदिँदा यस्तो हुने गरेको आफ्नो ठहर रहेको उनले बताए ।
नेपालमा नेपाली कांग्रेसले कोइराला परिवारबाट नातावादको सुरुआत गरेको भन्दै अरू कम्युनिस्ट पार्टीले पनि त्यसको अनुशरण र विस्तार गरेको उनी बताउँछन् ।
उनले यस्तो परिपाटीले लोकतन्त्रलाई खुम्च्याउने बताए । “नातावाद हाबी भएपछि नेतृत्वको चाकर गर्नुपर्ने, सहयोगीको मात्र भूमिका निर्वाह गर्ने, परिवारका मान्छेको पनि चाकरी गर्नुपर्ने पद्धति सुरु हुन्छ,” रोका भन्छन्, “यसले पार्टीमा क्याडर नभएर दासहरूको जन्म दिन्छ । कार्यकर्ताको परिभाषा फेरिन्छ ।”
त्यसो हुँदा राजनीतिक नेतृत्वको नभएर उनीहरूको परिवारको हैकम सुरु हुने उनको तर्क छ ।
“कांग्रेसमा आरजु म्याडमको हैकम देख्नुभएको होला । प्रचण्डका छोरी, बुहारीको हैकम चलेको सुन्नुभएकै छ । ओलीका नयाँ छोराहरूको करामत देख्नुभएकै छ,” रोकाले भने, “यी सबै कुरा त्यस ढाँचाबाट फ्रेमिङ हुँदै जाने हो । उसले लोकतन्त्रलाई कमजोर बनाउँदै लैजाने हो ।”
वर्ग संघर्षको आन्दोलनबाट आएकाहरूले नै आफ्नो नयाँ वर्ग स्थापित गरिरहेको र राजनीतिक विचारको अन्त्य भएर स्वार्थको राजनीति चलिरहेको उनको बुझाइ छ ।