मेलम्ची खानेपानी आयोजनामा अझै आउने केही वर्षसम्म अस्थायी संरचनाबाटै काम चलाउनुको विकल्प छैन । तैपनि, बर्सेनि गर्नुपर्ने मर्मत सम्भारसमेत बेलैमा गर्न आयोजनाका पदाधिकारी गम्भीर देखिएनन् ।
मेलम्चीको पानी परारै काठमाडौं उपत्यकामा वितरण गरिएको थियो । संयोगवश बाढी आउनुभन्दा केही समय पहिलेमात्र ढोका थुनिएकाले सुरुङमा ठूलो क्षति हुन नपाए पनि अरू भौतिक संरचना भत्किए ।
भत्किएका संरचनाको अस्थायी मर्मत गरेर पोहोर उपत्यकामा मेलम्चीको पानी वितरण गरिएको थियो । यस वर्ष पनि आयोजनाले बेलैमा सुरुङ बन्द गरेर बाढीबाट ठूलो क्षति हुनबाट जोगायो ।
यस वर्षको बाढीले पनि आयोजनाका भौतिक संरचनामा क्षति पुगेको छ । आयोजनाको मुहानसम्म जाने बाटो बाढीले भत्काएकाले अहिलेसम्म उपत्यकामा पानी ल्याउने काम सुरु गरिएकै छैन ।
मनसुनी वर्षाका कारण मेलम्चीमा बर्सेनी बाढी आउँछ । बाढीबाट आयोजनालाई स्थायीरूपमा जोगाउन आवश्यक संरचना निर्माण सहज हुँदैन । त्यसका लागि गहिरो अध्ययन, जटिल प्राविधिक ज्ञान र ठूलो धनराशि चाहिन्छ ।
अर्कातिर उपत्यकामा पानीको चर्को अभाव छ । यसैले बर्खा रोकिनेबित्तिकै मेलम्चीको पानी उपत्यका ल्याउने उपक्रम स्वतः सुरु हुने व्यवस्था मिलाउनुपर्ने थियो । किन्तु, मेलम्ची आयोजना भने काम सुरु गर्नै अलमलिएको देखियो ।
योजनाको मुहानमा पुग्ने बाटो भत्केको छ । बाटो नबनी सुरुङमा पानी पठाउने अरू काम हुँदैन । विडम्बना, बर्खायाम सकिएको महिना दिन बढी भइसके पनि बाटो बनाउन सुरु गरिएको छैन ।
मेलम्ची आयोजनामा स्थायी बन्दोबस्त नहुँदासम्म अझै केही वर्ष बर्खा सकिएपछि पानी चलाउन ‘युद्धस्तर’मा मर्मतको काम गर्नुपर्ने हुन्छ । सकेसम्म थोेरै समयमा धेरै काम गराएर पानी चलाउनुपर्छ ।
परन्तु, निजामती कर्मचारीको कार्य शैली र ठेक्कापट्टाका कानुनी जटिलताले हेर्दा भने वर्षैपिच्छे अहिलेजस्तै ढिलासुस्ती हुने देखिन्छ । यसैले मेलम्चीको वार्षिक मर्मतका लागि विशेष व्यवस्था गर्नु वाञ्छनीय हुनेछ ।
अप्ठेरो परिस्थितिमा पनि काम पार लगाउने क्षमता नेपाली सेनामा देखिन्छ । सेनालाई जिम्मा लगाएको भए महिना दिनभन्दा बढी हुँदा पनि बाटोसम्म नबनाएर बस्ने थिएन ।
अरूले नगर्ने, गर्न नसक्ने वा अरूलाई सुम्पन नहुने काम सेनाले गर्नुपर्छ र गर्दै पनि आएको छ । यसैले मेलम्ची आयोजनाको मर्मतको जिम्मा पनि नेपाली सेनालाई दिनु उपयुक्त हुने देखिन्छ ।