
बुटवल । मुख्य ठूला राजनीतिक दलका शीर्ष नेताहरूको प्रदेश लुम्बिनी प्रदेशमा अबको मुख्यमन्त्रीको को भन्ने चर्चा सुरु भएको छ । उमेदवारी मनोनयनदेखि मत माग्दासमेत पार्टीको मुख्यमन्त्री बताउँदै घरदैलो गरिरहेका छन् ।
पहिलो पाँच वर्षको कार्यकालका दुवै मुख्यमन्त्री शंकर पोखरेल र कुलप्रसाद केसी मुख्यमन्त्रीको दौडबाट बाहिरिएपछि यसको अझै चर्चा चुलिएको हो । तीन ठूला दलका केही आकांक्षीहरू भने आफ्नो दलबाट उमेदवारी नै पाउन सकेनन् । आकांक्षी भएर टिकट पाएकाहरू पनि गठबन्धनका कारण खतराको सूचीमै छन् । तर, दलभित्र उनीहरू मुख्यमन्त्री बन्ने योजनानुसार नै उमेदवार बनेका छन् ।
लुम्बिनी प्रदेशमा तीन ठूला पार्टीबाट मुख्यमन्त्रीको दाबेदारका रुपमा कसले उमेदवारी दिए भन्ने चर्चा सुरु भएको छ । पार्टीको वरीयतामा अगाडि रहेका, संघीय निर्वाचनको तयारी गरेका र यसअघि प्रदेशसभामा पुगेकाहरूबाटै ती पार्टीले मुख्यमन्त्री बनाउने गरी सम्बन्धित नेताहरूलाई अगाडि सारेका छन् ।
सत्ता गठबन्धनको ठूलो दल नेपाली कांग्रेसमा प्रदेश सभापति अमरसिंह पुन, यसअघि संसदीय दलको नेता वीरेन्द्र कनौडिया, केन्द्रीय सदस्य अब्दुल रज्जाक र हालका प्रदेशमन्त्री डिल्ली चौधरी मुख्यमन्त्रीका प्रमुख आकांक्षी हुन् ।
पुनः संस्थापनइतर समूहका नेता हुन् भने कनौडिया, रज्जाक र चौधरी संस्थापन समूहका हुन् । प्रदेशमा इतर समूह बलियो भएकाले पनि पुनले निर्वाचन जिते उनको संभावना बलियो रहेको धेरैले बताउँदै आएका छन् । तर, यसअघि संसदीय दलको नेता भएर माओवादीसँग सहमतिमा मुख्यमन्त्री बन्ने कागज गरेर पनि बन्न नपाएका कनौडिया उनको तगारो बन्न सक्नेछन् ।
नेता पुनले केन्द्रमा पार्टी सभापति संसदीय दलको नेता हुने र उही प्रधानमन्त्री हुने भएकाले प्रदेशमा पनि प्रदेश सभापति नै मुख्यमन्त्री हुने विषय ठूलो कुरा नभएको बताउँदै आएका छन् ।
यता, नेकपा एमालेबाट पोलिटब्यूरो सदस्य, प्रदेश सहइन्चार्ज लिला गिरी रुपन्देही, प्रदेश उपाध्यक्ष तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठ रुपन्देही, पोलिटब्यूरो सदस्य तथा प्रदेश सहइन्चार्ज दधिराम न्यौपाने, तुल्सीपुरका पूर्वमेयर घनश्याम पाण्डे मुख्य दाबेदारका रुपमा छन् ।
उनीहरूसँगै केन्द्रीय लेखा आयोग उपाध्यक्ष तथा लेखा समितिका पूर्वसभापति विष्णु पन्थी, यसअघि प्रमुख सचेतक बनेका भूमिश्वर ढकाल पनि पुनः उमेदवार बनेका छन् । तर, यसअघि मन्त्रीसमेत नबनेकाले उनीहरू प्राथमिकतामा छैनन् । एमालेका शीर्ष नेताहरूले पोलिट्ब्यूरो सदस्य लिला गिरीलाई मुख्यमन्त्रीको आश्वासन दिएका छन् ।
यसअघिको प्रदेश सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीको जिम्मेवारी सम्हालेका गिरी एमालेले अहिले उठाएका उमेदवारमा सबैभन्दा सिनियर हुन् । उनले रुपन्देहीको क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट उमेदवारी दिएका छन् ।
गिरी २०६४ सालको संविधानसभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ बाट उमेदवार भई कांग्रेस नेता बालकृष्ण खाणसँग थोरै मतले पराजित भएका थिए । गत प्रदेशसभाको निर्वाचनमा उनी क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाटै विजयी भएका थिए । एमालेले यो क्षेत्रमा जसपा र राप्रपासँग चुनावी तालमेल गरेको छ ।
यद्यपि, उनी मुख्यमन्त्री शंकर पोखरेल भएको समयमा मन्त्री हुँदा सबैभन्दा कमजोर मन्त्रीको रुपमा मुल्यांकन गरेका थिए । एमालेबाट नवलपरासीका नेता बैजनाथ चौधरी मुख्यमन्त्री पाउने शर्तमा उमेदार बन्न खोजेका थिए । तर, नेतृत्वले त्यो संकेत नदिएपछि उनी उमेदवार नै बनेनन् । लुम्बिनीमा एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलको रोजाइमा पर्ने नेता नै मुख्यमन्त्री बन्नेछन् ।
लुम्बिनीमा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्यहरू जोखबहादुर महरा, सुदर्शन बराल र वामदेव क्षत्री मुख्यमन्त्रीका दावेदार हुन् । माओवादीबाट अहिलेका मुख्यमन्त्री कुलप्रसाद केसी दोहोरिन चाहे पनि नेतृत्वले उनलाई उमेदवार नै बनाउन चाहेन ।
अध्यक्ष प्रचण्डको सचिवालयमा बसेका जोखबहादुर महरालाई उनले मुख्यमन्त्री बनाउने गरी उमेदवार बनाएका छन् ।
तर, नेता वर्षमान पुनका निकट मानिने प्रदेश अध्यक्ष तथा पूर्वमन्त्री सुदर्शन बराल पनि बलियो दावेदार हुन् ।
उनीहरूसँगै नेता बामदेव क्षेत्रीले पनि त्यो आशा राखेर उमेदार बनेको उनी निकट नेताहरूले बताएका छन् ।
माओवादीबाट पूर्वसभामुख पूर्णबहादुर घर्ती मुख्यमन्त्रीको आकांक्षी भए पनि उनी प्रतिनिधिसभातर्फ उमेदवार बनेपछि च्याप्टर क्लोज भएको छ ।