
काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउन अब २१ दिन बाँकी छ ।
निर्वाचन आयोगले चुनाव प्रचारप्रसारको समय १५ दिन मात्र हुने गरी आचारसंहिता बनायो । सोही कारण उमेदवार यति बेला अनौपचारिक भेटघाट र आन्तरिक काममा व्यस्त छन् । यही कात्तिक १८ गतेदेखि उमेदवार प्रचारप्रसारमा निस्किएपछि चुनावी माहोल तात्ने देखिन्छ ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर–९ मा नेकपा (एमाले)का स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ र सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)की नेत्री कल्पना धमलाबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान छ । उनीहरूलाई विवकेशील साझा पार्टीका पूर्वसंयोजक मिलन पाण्डेले चुनौती दिने देखिन्छ । उनी हाल स्वतन्त्र रूपमा उमेदवार बनेका छन् ।
०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा यहाँबाट श्रेष्ठ निर्वाचित भएका थिए । पाण्डे तेस्रो स्थानमा थिए । धादिङकी नेत्री धमला यो क्षेत्रका लागि नयाँ उमेदवार हुन् ।
एमालेका श्रेष्ठ यो क्षेत्रमा सबैभन्दा पुराना अनुहार हुन् । उनी ०४८ सालमै सांसद बनेका थिए । त्यति बेला श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर–५ बाट निर्वाचित भएर संसद्मा पुगेका थिए । ०५१ मा पनि उनी यहीँबाट निर्वाचित भए ।
०६४ र ०७० सालको निर्वाचनमा भने श्रेष्ठ काठमाडौं–९ मै अघिल्लो निर्वाचनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार ध्यानगोविन्द रञ्जितसँग पराजित भएका थिए ।
०७० को निर्वाचनमा एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल रौतहट–१ र काठमाडौं–२ दुवै क्षेत्रबाट निर्वाचित भए । उनले काठमाडौं–२ छाड्दा श्रेष्ठले उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने मौका पाए । उपनिर्वाचनमा एमालेबाट उमेदवार बनेका उनले कांग्रेसका दीपक कुइँकेलसँग पराजित भए ।
०७४ सालको निर्वाचनमा काठमाडौं–९ बाटै वाम गठबन्धनको साझा उमेदवार बनेर विजयी भएका श्रेष्ठ पुनः चुनावी मैदानमा छन् ।
अहिले सत्ता गठबन्धनकी साझा उमेदवार धमला ०६४ को पहिलो संविधानसभा निर्वाचनमा धादिङ–२ बाट निर्वाचित भएकी थिइन् । उनी दोस्रोपटक संसद् छिर्ने तयारीमा छन् ।
उनीहरूसँगै काठमाडौं–९ मा जनता समाजवादी पार्टी (जसपा)का शर्मिला सुवाल (डंगोल), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का देवेन्द्र प्रधान, नेपाल मजदुर किसान पार्टीका
सुमन महर्जनलगायत उमेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
दाबी आ–आफ्नै
सत्ता गठबन्धनकी उमेदवार धमला मतदाताबाट राम्रो प्रतिक्रिया पाएको सुनाउँछिन् । “निर्वाचन प्रचारका लागि घरदैलोमा त जान पाइएको छैन, भेटघाट हुँदा मतदाताबाट राम्रो प्रतिक्रिया पाएको छु,” उनले बाह्रखरीसित भनिन् ।
आफ्नो र मुख्य प्रतिस्पर्धीको मुद्दा फरक भएकाले मतदाताले विवेकपूर्ण निर्णय गर्ने उनी बताउँछिन् । “हाम्रो मुद्दा फरक छ । शान्ति, स्थायित्व र संविधानको रक्षाको पक्षमा छु । उहाँ (कृष्णगोपाल श्रेष्ठ) संसद् विघटनलाई साथ दिएर जनतामाझ आउनुभएको छ,” उमेदवार धमला भन्छिन्, “यी दुई विषयलाई मतदाताले हेर्नुपर्छ । मलाई नै जिताउनुहुन्छ ।”
गएको स्थानीय तह निर्वाचनको मत परिणाम र गठबन्धनको साझा उमेदवारका हिसाबले आफूले नै विजयी हुने उनको जिकिर छ ।
एमालेका उमेदवार श्रेष्ठ आफूले पाँच वर्ष जनप्रतिनिधि भएर गरेको कामको मूल्यांकन मतदाताले गर्ने बताउँछन् । “चुनाव हो, प्रतिस्पर्धा त स्वाभाविक हो । स्वच्छ र मर्यादित ढंगले प्रतिस्पर्धामा जाने हो । जनताले जे फैसला गर्छ, त्यो स्वीकार गर्ने हो,” उनी भन्छन्, “उमेदवार हुने जो कोहीले आफू जित्छु भन्ने नै भयो । म पनि आफ्नो स्थिति सुदृढ भएको देख्छु । विगतको पाँच वर्षको कामको मतदाताले समीक्षा र मूल्यांकन पनि गरिहाल्नुहुन्छ भन्ने विश्वास छ ।”
विवेकशील साझा पार्टीभित्रको विवादका कारण पूर्वसंयोजक पाण्डेले योपटक स्वतन्त्र उमेदवारी दिएका हुन् । विवेकशील साझाले यो क्षेत्रमा छुट्टै उमेदवार उठाएको छैन ।
अघिल्लो निर्वाचनमा पार्टीको केन्द्रीय सदस्यको हैसियतले प्रतिस्पर्धा गरेको भन्दै अहिले एउटा विचारको नेतृत्व गरिरहेकाले आफ्नो भोट बढ्ने उनको विश्वास छ । “अघिल्लोपटक म पार्टीको केन्द्रीय सदस्य थिएँ । अहिले एउटा राजनीति बहसको नेतृत्व गरिरहेको छु । अहिले राजनीतिक परिचय बढेको छ,” उनले सुनाए ।
यो क्षेत्रबाट अघिल्लोपटक निर्वाचित भएका एमालेका हालका उमेदवार श्रेष्ठसँग जनता सन्तुष्ट नरहेको उनको बुझाइ छ । “उहाँ धेरैपटक चुनाव लडिसक्नुभएको छ । उहाँबाट जनता आजित छन् । संसद् विघटनलाई साथ दिनुभयो,” पाण्डे भन्छन्, “स्थानीय चुनावमा पनि थोरै मत रहेको क्षेत्रमा माओवादीको उमेदवार उठाइएको छ ।”
अहिले जनताले नयाँ अनुहार खोजेको भन्दै आफूले चुनाव जित्ने उनको विश्वास छ । “यो निर्वाचन क्षेत्रमा मतदाताहरूले नयाँ अनुहार खोजिरहनुभएको छ । केही परिवर्तन खोजिरहनुभएको छ,” उनी भन्छन्, “त्यसको प्रतिनिधित्व म गर्न गर्न सक्छु । मेरो पक्षमा माहोल राम्रो छ ।”
स्थानीय निर्वाचनको मत
गएको वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा सबैभन्दा बढी मत कांग्रेसले पाएको थियो । कांग्रेसका वडाध्यक्ष पदका उमेदवारले कुल १९ हजार ९१६ मत ल्याएका थिए ।
त्यति बेला एमालेका वडाध्यक्षका उमेदवारले १९ हजार २२८ मत पाएका थिए । माओवादी केन्द्रका वडाध्यक्षका उमेदवारले ६९५, नेकपा (एकीकृत समाजवादी)का वडाध्यक्षका उमेदवारले ४६५ मत पाएका थिए ।
यस्तै, जनता समाजवादी पार्टी (जसपा)का वडाध्यक्षका उमेदवारले ९२, राप्रपाका वडाध्यक्षका उमेदवारले दुई हजार ४०१ मत ल्याएको निर्वाचन आयोगको तथ्यांकले देखाउँछ ।
यसरी हेर्दा गठबन्धनमा रहेका दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले कुल २१ हजार ०७६ मत पाएको देखिन्छ । त्यो एमालेको मतभन्दा एक हजार ७९४ बढी हो ।