चुनाव नजिकिँदै छ । चुनाव हो – कसै न कसैलाई त रोज्नैपर्छ, चुन्नैपर्छ । आज तिहारको भाइटीका । मतदान हुने मंसीर ४ गते आउन अब चौबीस दिनमात्र बाँकी छ । दसैँ, तिहारजस्ता चाडबाड वा निर्वाचन आयोगको प्रतिबन्धको कारण होला चुनावी चर्चामा विगतमा जस्तो उभार आइसकेको छैन ।
गाउँघर र सहरका टोलहरुमा भएका ससाना कार्यक्रम र प्रत्याशीसँगको भेटघाटले मतदाताको मनमा आखिर रोज्ने र चुन्ने कसलाई त भन्ने प्रश्न चाहिँ उठेकै छ । बहुदलीय प्रतिस्पर्धा हो । अन्ततः रोज्ने र चुन्ने पनि दल वा तिनका प्रतिनिधिलाई नै हो ।
खासगरी मतदाता दलप्रति प्रतिबद्ध र स्वतन्त्र गरी दुईथरी हुने रहेछन् । परिणाम निकाल्न चाहिँ स्वतन्त्र मतदाता निर्णायक हुने रहेछन् । त्यसो त स्वतन्त्रले दिएको मतमाथि कार्यकर्ताको मत थपिँदा परिणाममा जित हुन्छ भने पनि भयो ।
चुनावी परिवेश खुला वा अनुमान लायक भइसकेको छैन । आयोगले तोकेको जनसभाहरु हुनपाउने दिनपछि माहोलबारे केही अनुमान लगाउन सकिएला । अहिले चाहिँ चुनावी प्रवाह भित्रीतहमा नै छ ।
यसअघिका चुनावमा केही महिना पहिले नै परिणामबारे आआफ्ना अनुमान, तर्कहरु सुनिन्थे । यसपटक चाहिँ अहिलेसम्म अनुमान गर्न गाह्रो छ भन्ने सुनिएको छ । कार्यकर्ता र समाजमा दलहरुप्रति गुम्सिएको असन्तुष्टिको कारण हो कि परम्परागत दलीय आबद्धता छोडेर मतदाता बढी तटस्थ हुन चाहेको कारण ? परिणाम अनुमानगम्य छैन भन्ने नै बढी सुनिदैछ ।
प्रभाव चाडबाडको पनि होला । दसैँ, तिहार सकिए पनि छठ बाँकी नै छ । त्यसपछि चुनावी माहोल बढ्दो चीसोसँगै गर्माउने नै छ । जब आमसभाहरु हुनथाल्छन् । आचारसंहिताको कारण विगतमाजस्तो छरपस्ट पर्चा पम्प्लेट र तडकभडक गर्न रोकिएको परिणाम चुनावी चर्चा सुस्ताएजस्तो लागेको हो । चर्चा सामाजिक सञ्जालतिर सरेको छ ।
मानिस मत दिन अभ्यस्त भइसके । अनुभवले खारिदै जाँदा मतदाताले कसैलाई अग्रीम समर्थन व्यक्त गर्न नचाहेको र प्रायः मौन बसेको हुनसक्छ । आफ्नो भित्री निर्णय खुलेर सार्वजनिक गरिरहेका छैनन् । किन ? एकभन्दा पनि धेरै कारण होलान् ।
राजनीतिक दलका नेताहरुप्रति असन्तुष्टि । सबै दलका नेता एउटै ड्याङका भन्ने भावले उनीहरुमाथि विश्वास टुटेको छ । जनसामान्य यसरी नै व्यक्त भइरहेका छन् । राजनीतिमा तेरो, मेरो, नातागोता र पैसावाद निर्णायक भएको निष्कर्षले सिर्जित निराशाको कारण चुनावप्रति नै मतदातामा उत्साह उत्पन्न नभएजस्तो देखिएको छ । सबै दलका थुप्रै कार्यकर्ता निराश र निस्क्रिय पनि छन् ।
चुनावी गठबन्धन पनि चुनावी वातावरण तात्न नसक्नुको आंशिक कारण हो । प्रतिनिधि सभा र प्रदेश सभाको लागि गठजोड दलहरुबीच सिट बाँडफाड भएको छ । जसले जहाँ उम्मेदवारी (सिट) पाएको छ त्यहाँ त्यो दल र उम्मेदवार अलि सक्रिय छन् । आफ्नो दलको उम्मेदवार नभएको ठाउँमा गठबन्धनभित्रकै अन्य दल औपचारिकतामा सीमितजस्ता देखिँदैछन् ।
चिया चर्चामा सामान्य मतदाता भन्छन् – सबै दलका नेता उस्तै । सबैलाई हेरियो । कोही भाषा शब्द अलि नरम प्रयोग गर्छन् भने कोही खरो तर टिप्पणीको अर्थ भने उस्तैउस्तै । किन यस्तो मनोदशा भयो मतदाताहरुको ? समीक्षा गर्नेले गरेकै हुनुपर्ने । दलका नेताहरुको कुरा सुन्दा चाहिँ मतदाताको मनोदशालाई सम्बोधन गर्ने र नयाँ विश्वास जाग्रत गर्ने सन्देश पटक्कै छैन । उही थोत्रो कुरा ।
विभिन्न नाम र उपमा दिएर निकालिने दलका घोषणापत्रहरु चुनावी औपचारिकताको पर्चा हुने गरेका छन् । तीप्रति कुनै विश्वास छैन । किनभने चुनावको बेला ती निकालिन्छन् र पछि कार्यान्वयन त के चर्चासमेत हुँदैन, त्यसै फालिन्छन् । नागरिक कसैको पनि यस्ता घोषणापत्रप्रति खासै चासो, चर्चा छैन, हुदैन । स्वयं दलहरु नै आफ्नो घोषणाप्रति प्रतिबद्ध पाइएनन् ।
असंख्य आरोप, असन्तुष्टि, अविश्वास र बेथितिबीच पनि चुनाव भने हँुदैछ । चुनाव हुनैपर्छ । राजनीतिको प्रवाह चुनाव हो, गतिशीलता पनि । नदीको गति प्रवाहजस्तै । मतदाताले व्यक्त गर्ने मत वा विचारले अन्ततः दल र तिनका प्रतिनिधिलाई सुध्रिन मद्दत गर्नेछ, बाध्य पार्नेछ ।
कतिपयले ‘म त जान्न भोट हाल्न पनि’ भनेको सुनिन्छ । कारण – सबै उस्तै,सधैँ उस्तै, अनि किन दिने भोट ? उल्टो प्रश्न गरिन्छ । अवस्था ठ्याक्कै यस्तै हो त ? नकारात्मक प्रवृत्ति पनि छन् र सकारात्मक संकेतहरु पनि प्रशस्त छन् । मतदाताले के नकारात्मक र के सकारात्मक भन्ने निर्णय दिने अवसर चुनाव हो । प्रतिनिधि रोज्ने, चुन्ने अवसर । भोट नदिनु भनेको भने आफ्नै अधिकार कुण्ठित गर्नु हो ।
के सबै दल र प्रतिनिधि उम्मेदवारहरु सबै उस्तैउस्तै हुन् त ? यिनीहरुका बीचमा पनि केही भिन्नता वा फरकपन भेटिन्छ कि ? मतदाताले खोज्ने बेला यही हो । आवधिक निर्वाचन । यसबीचको आफ्नो अनुभव, दलको इतिहास, सिद्धान्त, कार्यसूची (एजेन्डा) र कार्यशैलीको पहिचान गर्ने बेला पनि हो चुनाव ।
भनिन्छ नि – ‘खराबहरुको बीचमा कम खराब रोज्ने वा छान्ने ।’ छान्ने शब्दको अर्थ फोहर, मैला फाल्दिने, पर्गेल्ने भन्ने हो । जनता, मतदाताको लागि यही छान्ने अवसर हो आवधिक निर्वाचन । जनप्रतिनिधि छनोटको लागि यसभन्दा राम्रो विधि अर्को भेटिएको जो छैन ।
चुनाव हो, आखिर रोज्नैपर्छ । रोज्ने र चुन्ने कुन दल र प्रतिनिधिलाई ? नेपाली राजनीतिमा सबैभन्दा कम खराब कुन दल हो ? विगतले हामीलाई दिएको अनुभव र सिकाएको पाठ के हो ? हामीलाई चाहिएको के हो ? कस्तो हो ? यस्ता प्रश्नले हामीलाई निर्णय लिने उत्तर दिनसक्छन् ।
नेपाली नागरिक कुनै पनि प्रकारको तानाशाही र अधिनायकवादी सत्ताको समर्थक होइनन् भन्ने पुष्टि पटकपटकका आन्दोलन र प्रजातन्त्र स्थापना, पुनःस्थापनाका घटनाले प्रमाणित गरेकै छन् । यसको अर्थ लोकतान्त्रिक स्वतन्त्रता नै नेपालीहरुको छनोट (च्वाइस) हो भन्ने स्पष्ट छ । यसका लागि कुन दल अरुभन्दा बढी विश्वसनीय छ त ? रोज्ने त्यसैलाई हो, चुन्ने त्यसैलाई हो ।
चुनावी मैदानमा ठूला दलहरु एकल (सिंगल) प्रतिस्पर्धामा छैनन् । गठबन्धनमा छन् । गठबन्धनप्रति वा त्यसमा आबद्ध दलहरुप्रति सबैको समान धारणा छैन । सबैका आआफ्नै मान्यता र ठम्याइ होलान् । नेपाली सबैको मूलभूत मान्यता चाहिँ लोकतान्त्रिक पद्धति र त्यसअन्तर्गतको प्रणाली हो ।
हाम्रा सामु विकल्प छन् तर धेरै र उपयुक्त लोकतान्त्रिक विकल्प भने अत्यन्त कम छन् वा छँदै छैन भने पनि हुन्छ । नेपालमा सबैभन्दा भरपर्दो लोकतान्त्रिक दल कुन हो ? यस प्रश्नमा एकैछिन भने पनि राजनीतिक आग्रह वा स्वार्थ थाती राखेर सोचौं त ? एउटा स्पष्ट चित्र देखापर्छ ।
दलहरुको विकल्प छैन बहुदलीय प्रणालीमा । छान्ने, रोज्ने र चुन्ने यिनै दलमध्येलाई नै हो । अहिलेको रोजाइ भावी दिनमा सुध्रिनुपर्ने सन्देशसहित कम खराब दल र तिनका प्रतिनिधिलाई नै हो । अन्ततः छनोटको बिसौनी रोज्दा मलाई पाको राजनीतिक दल त नेपाली कांग्रेस हो भन्ने लाग्छ । तपाईंहरुलाई के लाग्छ ? स्वतन्त्रताको कुरा हो । यसैले प्रश्न गर्नैपर्ने भयो ।