काठमाडौं । आइतबारदेखि मलेसियामा जारी एसीसी यु–१९ एसिया कपको छनोट खेलमा नेपालले थाइल्याण्डलाई २५५ रनको शानदार जित हात पारेको छ । नेपालको जितमा मलेसियाली भूमिमा चम्किए सन्दिप लामिछाने ।
सन्दिप लामिछाने नेपाली क्रिकेटका उदीयमान खेलाडी हुन् । यतिमात्रै नभएर विश्व क्रिकेट जगतकै ध्यान तान्न सक्ने प्रभावशाली खेलाडी हुन् उनी । एसीसी यु–१९ एसिया कप छनोटको दोस्रो दिन नेपालले आफ्नो पहिलो खेलमा थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दै थियो ।
नेपालले टस हारेर ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २८१ रन बनायो । यो नेपालको लागि निकै उत्कृष्ट ब्याटिङ थियो । यसअघि विश्वकप छनोटमा फितलो ब्याटिङ गरेको नेपालका लागि यो प्रदर्शन निकै तारिफयोग्य हो ।
२८२ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको थाइल्याण्ड मैदानमा छिरेको करिब ४५ मिनेटपछि नै खेल सकियो । थाइल्याण्डका ब्याट्सम्यान सन्दिप लामिछानेको सिकार भए ।
नेपाललाई विकेट दिलाउने क्रममा आफ्नो पहिलो ओभर बलिङ गर्न आएका सन्दिपले पहिलो ओभरमा नै दुई विकेट लिँदै नेपालका लागि चौथो सफलता दिलाएका थिए । सन्दिपले २ विकेट लिएपछि थाइल्याण्डले ४ ओभरको समाप्तिमा ४ विकेट गुमाएर १३ रन मात्रै बनाएको थियो ।
त्यसको एक ओभरपछि पुनः छैटौं ओभर तथा आफ्नो दोस्रो ओभर बलिङ गर्न आएका सन्दिपले थप २ विकेट लिन सफल भए । ह्याट्रिक विकेट नजिक पुगेका सन्दिपले चौथो र पाँचौं बलमा विकेट लिएका थिए भने यो ओभरमा एक रन पनि दिएनन् । यतिबेला थाइल्याण्डले छैटौं ओभरको समाप्तिमा ६ विकेट गुमाएर १७ रनमात्रै बनाएको थियो ।
आफ्नो दुई ओभरमा नै सन्दिपले ४ विकेट लिइसकेका थिए । आफ्नो तेस्रो ओभरमा १ र चौथो ओभरमा दुई विकेट लिँदै उनले ७ विकेट लिएका हुन् ।
सन्दिप लामिछानेले सोमबार आफ्नो करियरकै उत्कृष्ट प्रदर्शन गरे । उनले आफ्नो करियरकै उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १ मेडन राखेर मात्र ६ रन दिँदै ७ विकेट लिए ।
त्यसो त सन्दिप लामिछानेले यो प्रतियोगितामा मात्रै उत्कृष्ट प्रदर्शन गरेका होइनन् । उनको नाममा विश्वकपमा ह्याट्रिक विकेट लिने नेपाली पहिलो बलरदेखि प्रतियोगितामा सबै भन्दा बढी विकेट लिने खेलाडी पनि बनेको इतिहास छ ।
विश्वकपमा ह्याट्रिक
सन् २०१६ मा बंगलादेशमा सम्पन्न आईसीसी यु–१९ विश्वकप क्रिकेटमा सन्दिपले आयरल्याण्डविरुद्ध ह्याट्रिक विकेट लिएका थिए । पहिलो खेलमा नै न्युजील्याण्ड जस्तो बलियो टेष्ट राष्ट्रलाई ३२ रनले पराजित गरेको नेपालले दोस्रो खेलमा आयरल्याण्डसँग प्रतिस्पर्धा गर्दै थियो । कसैले पनि सोचेका थिएनन्, सन्दिपले ह्याट्रिक विकेट लिन्छन् भनेर ।
टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा १३१ रन मात्रै बनाएको थियो । आयरल्याण्डका अग्रपंक्तिका ब्याट्सम्यानलाई आउट गर्ने क्रममा सन्दिपले ह्याट्रिक गरेका थिए । उनले खेलको ३१.४ ओभरमा लोर्कन टुकर, ३१.५ ओभरमा फायच्रा टुकर र ३१.६ ओभरमा एडम डेन्नीसनलाई आउट गर्दै ह्याट्रिक पूरा गरेका थिए ।
आयरल्याण्ड विरुद्ध सन्दिपले १० ओभर बलिङ गर्दै २७ रन खर्चेर ५ विकेट लिएका थिए । आईसीसी यु–१९ विश्वकप क्रिकेटमा सन्दिप सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा दोस्रो स्थानमा रहे । पहिलो स्थानमा भने नामिवियाका फ्रिट्ज कोएत्जी भए । सन्दिपले विश्वकपमा १४ विकेट लिए भने कोएत्जीले १५ विकेट लिएका थिए ।
आईसीसी यु–१९ विश्वकप छनोटमा २४ विकेट
गत साउनमा सिंगापुरमा सम्पन्न आईसीसी यु–१९ विश्वकपअन्तर्गत एसिया क्षेत्रको छनोटमा सन्दिप लामिछानेले नेपालले खेलेको सबै खेलमा उत्कृष्ट बलिङ गरेका थिए । उनले ६ खेलबाट २४ विकेट लिएका थिए । सन्दिपले पहिलो खेलमा आयोजक सिंगापुर विरुद्ध ५ विकेट लिएका थिए । निकै किफायती बलिङ गरेका सन्दिपले ८ ओभरमा २ मेडन राख्दै २१ रन खर्चेर ५ विकेट लिए । उनले २.६२ को इकोनोमीमा बलिङ गरेका थिए ।
दोस्रो खेलमा पनि सन्दिपले मलेसियाका ब्याट्सम्यानलाई ध्वस्तै बनाएका थिए । उनले यो खेलमा पनि ५ विकेट लिए । ८.५ ओभर बलिङ गरेका सन्दिपले १ मेडन राख्दै १७ रन मात्र खर्चेका थिए । तेस्रो खेलमा अफगानिस्तानसँग सन्दिपले ९.२ ओभर बलिङ गर्दै २ मेडन राखेर ३० रन खर्चिदै २ विकेट लिए ।
राउण्ड रोविनको आधारमा सञ्चालित खेलमा सन्दिपले पुनः सिंगापुर विरुद्ध १० ओभर बलिङ गर्दै ४ विकेट लिन सफल भए ।
सन्दिपले मलेसियासँगको पाँचाैं खेलमा ७ विकेट लिएका थिए । ९.१ ओभर बलिङ गरेका सन्दिपले १ मेडन राख्दै मात्र १३ रन खर्चेर ७ विकेट लिएका थिए ।
छोटो समयमै छलाङ
सन् २००० मा जन्मिएका सन्दिपको क्रिकेट करियर भने चितवनबाट सुरु भएको हो । बाल्यकाल स्याङ्जामै विताएका सन्दिपले क्रिकेट खेल्न थालेको लामो समय भएको छैन । क्रिकेट एसोसिएसन अफ चितवन एकेडेमीबाट नोभेम्बर २०१४ मा भर्ना भई क्रिकेट सिक्न थालेका सन्दिपले १०१६ मा डेब्यु गरेका थिए ।
२०१५ मार्च ४ तारिखमा चितवन गएका तत्कालिन नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले सन्दिपको खेलदेखेर काठमाडौं बोलाएका थिए । अवसरको पर्खाइमा रहेका सन्दिपको क्रिकेट यात्रा त्यहीदेखि सुरुवात भएको हो ।
सामान्य परिवारमा जन्मिएका सन्दिप अहिले नेपाली सिनियर राष्ट्रिय टिमका पनि नियमित खेलाडी हुन् । उनले आईसीसी विश्व च्याम्पियनसिपअन्तर्गत नामिवियाको खेलमा राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । डेब्यु खेलमै सन्दिपले उत्कृष्ट बलिङ गरेका थिए । दुबै खेलमा नेपालले नामिवियालाई पराजित गरेको थियो ।