site stats
बाह्रखरी :: Baahrakhari
संसद् निर्वाचन २०७९
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गृहमन्त्री खाँणले ०७४ मा जसका लागि भोट मागे, अहिले उनै प्रतिद्वन्द्वी
Tiktok banner adTiktok banner ad

बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाँण अघिल्लो निर्वाचन (०७४)मा आफू समानुपातिकमा बसेका थिए । रुपन्देही क्षेत्र नम्बर ३ मा नेकपा (एमाले)का धनश्याम भुसाल र राप्रपाका नेता दीपक बोहोराबीच भएको चुनावी प्रतिस्प्रर्धामा खाँणले बोहोराको लागि हलो चिह्नमा भोट मागेका थिए । 

तर, यसपटक रुपन्देही ३ को दृश्य फेरिएको छ । अघिल्लो निर्वाचनमा एमालेसँग भिडेका उनै बोहोरा यसपटक एमाले र जसपाको समर्थनमा उमेदवार रहेका छन् । उनका प्रमुख प्रतिस्पर्धी छन् अघिल्लो चुनावमा उनकै लागि भोट मागिदिएका खाँण । गृहमन्त्री खाँण सत्ता गठबन्धनको तर्फबाट उमेदवार रहेका छन् । 

०७४ निर्वाचनमा खाँणको साथ पाउँदा जित्न नसकेका बोहरा यसपटक एमाले र जसपाको बलमा खाँडलाई नै हराउने तयारीमा छन् । यता सत्ता गठबन्धनका साझा उमेदवारको रुपमा मैदानमा पुगेका खाँणलाई नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी र जनमोर्चाको समर्थन छ । 

पञ्चायत कालमा चारपटक र गणतन्त्रपछि तीनपटक मन्त्री भइसकेका ७२ वर्षका अनुभवी बोहराले यसपटकको निर्वाचन आफ्ना लागि अन्तिम भएको बताएका छन् । बोहरा २०६४ को निर्वाचनमा रुपन्देही १ मा माओवादी केन्द्रका घनश्याम यादवसँग पराजित भएका थिए । २०७० मा तत्कालीन २ नम्बर क्षेत्र (हाल ३) मा कांग्रेसका रामकृष्ण ताम्राकारलाई पराजित गर्दै विजयी भएका बोहरा २०७४ को प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही–३ मा एमालेका घनश्याम भुसालसँग पराजित भएका थिए ।

रुपन्देही–३ बाट २०७४ को चुनावमा वाम गठबन्धनका उमेदवार भुसालले ३२ हजार ८६६ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसको समर्थन पाएका बोहराले २७ हजार ४२२ मत पाएका थिए । त्यतिबेला राप्रपा विभाजित थियो र वर्गाकारभित्र हलो चिह्न लिएर त्यही क्षेत्रमा निर्वाचन लडेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का कमलप्रसाद शर्मा उपाध्यायले एक हजार ८५६ मत ल्याएका थिए ।

त्यतिबेला रुपन्देही–३ मा ४ हजार ६३ मत बदर भएको थियो । निर्वाचन चिह्नका कारण बदर भएको अधिकांश मत राप्रपाकै भएको राप्रपा रुपन्देहीका अध्यक्ष सागरप्रताप राणा बताउँछन् । अहिले राप्रपामा राजेन्द्र लिङ्देन अध्यक्ष भएपछि पार्टीप्रति आकर्षण बढेको र विगतभन्दा पार्टीको मत बढेको राप्रपाको दाबी छ ।

सत्तारुढ गठबन्धनबाट यो क्षेत्रको प्रदेश ‘क’मा लोसपाका सन्तोषकुमार पाण्डे र  ‘ख’मा कांग्रेसका रामचन्द्र ढकाल उमेदवार छन् भने एमालेको गठबन्धनबाट ‘क’मा जसपाका महेन्द्र यादव र ‘ख’मा एमालेका तुलसी चौधरी उमेदवार छन् । यो क्षेत्रमा गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा वडा अध्यक्षहरुले पाएको मतअनुसार कांग्रेस र एमालेपछिको तेस्रो शक्ति राप्रपा हो ।

यस्तो छ स्थानीय तहको मतभार 

रूपन्देही ३ मा कांग्रेसका वडाध्यक्ष उमेदवारहरुले ३४ हजार १५३, एमालेका वडाध्यक्ष उमेदवारहरुले २९ हजार ४८, राप्रपाका वडाध्यक्ष उमेदवारहरुले १३ हजार ३९७, जसपाका वडाध्यक्ष उमेदवारहरुले ६ हजार १८३, माओवादी केन्द्रका वडाध्यक्ष उमेदवारहरुले दुई हजार ८८१, लोसपाका वडाध्यक्ष उमेदवारहरुले दुई हजार १७४ र नेकपा (एकीकृत समाजवादी)का वडाध्यक्ष उमेदवारहरुले ९७७ मत पाएका थिए । तर, राप्रपाले यस क्षेत्रमा आफ्नो १५ हजारभन्दा बढी मत रहेको दाबी गर्ने गरेको छ ।

यो मतका आधारमा सत्ता गठबन्धनमा रहेका दलको मत ४० हजार १६७ पुग्छ भने एमाले नेतृत्वको एमाले–राप्रपा–जसपा गठबन्धनको मत ४८ हजार ६२८ मत पुग्छ । यो अंकगणितका आधारमा सत्ता गठबन्धनका उमेदवार गृहमन्त्री खाँण दीपक बोहराभन्दा ६ हजार ४६१ मतले पछाडि देखिन्छन् ।

नेपाली कांग्रेस रुपन्देही–३ का क्षेत्रीय सभापति सुशील गुरुङ भने स्थानीय तहको मतले प्रतिनिधिसभा निर्वाचनलाई प्रभाव नपार्ने तर्क गर्छन् । गुरुङको दाबी छ–“स्थानीय निर्वाचनको मतले यो निर्वाचनलाई प्रभाव पार्दैन । गृहमन्त्रीको राजनीतिक उचाइ र यो क्षेत्रको विकासमा गरेका योगदानले गर्दा सजिलै निर्वाचन जित्छौँ ।”

राप्रपा जिल्ला अध्यक्ष सागरप्रताप राणा भने बोहराको व्यक्तिगत प्रभावले स्थानीय तहको मतभन्दा धेरै अन्तरले जित्ने दाबी गर्छन् । “यो क्षेत्रमा दीपक बोहराले धेरै अघिदेखि योगदान गर्नुभएको छ, त्यो यहाँका पुराना मतदातालाई थाहा छ,” राणाले भने । 

खाँण र बोहराका आ–आफ्नै चुनौती

यो क्षेत्रमा कांग्रेस पृष्ठभूमिका सामाजिक अभियान्ता प्रख्यात बन्जाडे हाम्रो नेपाली पार्टीबाट उमेदवार बनेकाले उनले खाँणका केही मत काट्नेछन् । भैरहवा र आसपासका व्यावसायिक तथा सामाजिक संघसंस्थामा राम्रो प्रभाव जमाएका बन्जाडेले कांग्रेसकै मत काट्ने र त्यसले खाँणलाई असर गर्ने विपक्षी गठबन्धनमा रहेका दलहरुको आकलन छ ।

यता, एमाले तथा जसपाले राप्रपालाई समर्थन गरे पनि सबै एमाले र जसपा कार्यकर्ताले बोहरालाई मत हाल्दैनन् । कांग्रेसका उमेदवार गृहमन्त्री भएकाले हरेक क्षेत्र प्रभावित हुनसक्दछ । पार्टीको प्रभावशाली नेता भएकाले सामान्य आन्तरिक विवाद निर्वाचनमा नदेखिने भएकाले खाँडलाई केही सहज हुन सक्ने जानकारहरु बताउँछन् । 

अर्कोतर्फ नेता बोहोरा पञ्चायतकालदेखिकै उमेदवार भएकाले नयाँ मतदाताले सहजै नचिन्न सक्छन् । उनको उमेर र अहिलेको सक्रियताले पनि केही मतदाता घट्न सक्ने खाँण पक्षधरहरुको अनुमान छ । 

बोहरा पक्षका नेताहरु भने गठबन्धनमा आफूहरु अघि रहेको र एमालेको पूर्ण सहयोग रहेकाले आफूहरुले जित्ने दाबी गर्छन् । निर्वाचनका लागि दुवै ‘चतुर खेलाडी’ भएकाले र यो निर्वाचन क्षेत्रमा दुवैतर्फ गठबन्धन भएका कारण बोहरा र खाँणको प्रतिस्पर्धा रोचक हुने दुवैतर्फका स्थानीय नेता कार्यकर्ताको विश्लेषण छ ।

रुपन्देही–३ मा सिद्धार्थनगर नगरपालिका, शुद्धोधन गाउँपालिका, बुटवल उपमहानगरका वडा नम्बर १४ देखि १९, मायादेवी गाउँपालिकाका वडा नम्बर ७ र ८, ओमसतिया गाउँपालिकाको वडा नम्बर २, सियारी गाउँपालिकाका वडा नम्बर १, २, ३, ६ र ७ तथा तिलोत्तमा नगरपालिकाका वडा नम्बर १३ र १४ पर्छन् । निर्वाचन आयोगका अनुसार क्षेत्र नं ३ (क) मा ६५ हजार ५१३ र ३ (ख) मा ६७ हजार २७८ मतदाता रहेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९  १३:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro