
बुटवल । रुपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका उमेदवार राजु गुरुङ बैंकिङ कसुरमा कालोसूचीमा रहेकाले उमेदवारी खारेज भएको छ । यो क्षेत्रमा सत्ता गठबन्धनका उमेदवारविहीन भएको छ । सत्ता गठबन्धनको उमेदवार नै नरहेपछि अब के हुन्छ भन्नेमा धेरैको चासो छ ।
गठबन्धनले कानुनी परामर्श लिइरहेको जनाएको छ । गुरुङकै प्रकृतिको मुद्दा अन्य उमेदवारको पनि रहेको दाबीे छ । अरुको सदर हुँदा गुरुङको उमेदवारी खारेज भएको देखिएको भन्दै गठबन्धन अदालत जाने तयारी गरिरहेको एक नेताले जानकारी दिए ।
राजु गुरुङले कानुनी उपचारको लागि काठमाडौं जाँदै गरेको बाह्रखरीलाई जानकारी दिए । उनले भने, “यहाँको अवस्था फरक छ । तर पनि उमेदवारी खारेज गरियो । व्यक्तिगत विषयमा र मुद्दा विचाराधीन अवस्थामा उमेदवारी खारेजी भएकाले कानुनी उपचारको लागि काठमाडौं पुग्दैछु ।”
कालोसूचीमा नाम चढेको भन्दै उजुरी परेपछि उनको उमेदवारी खारेज भएको हो । तोकिएको अवधिमा गुरुङले कालोसूचीबाट हटेको प्रमाण पेस नगरेपछि निर्वाचन कार्यालयले उनको उमेदवारी खारेज गर्ने निर्णय गरेको थियो ।
अबको ‘मुभ’ के होला ?
सत्ता गठबन्धन यतिबेलासम्म उमेदवारविहीन अवस्थामा छ । यो समयमा गुरुङ उमेदवार नभएपछि कसलाई समर्थन गर्ने भन्ने बारेमा पनि आन्तरिक छलफल सुरु भएको छ ।
गुरुङको उमेदवारी खारेज भएसँगै गठबन्धनले तत्कालका लागि राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापामगर, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल र स्वतन्त्र उमेदवार रुपसिंह थापामध्ये कुनै एकलाई समर्थन गर्ने गरी छलफल सुरु गरेको स्रोतको भनाइ छ ।
यता, रुपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका उमेदवार राजु गुरुङको मनोनयन खारेज भएपछि २०७४ सालमा एमाले नेता विष्णु पौडेलसँग प्रतिस्पर्धा गरेका कांग्रेस नेता युवराज गिरीले नेताहरूको अकर्मन्यताका कारण मैदान खाली गर्नु परेको बताएका छन् ।
गिरीले आफूले उमेदवारी खारेजी हुनसक्ने विषयमा पटकपटक भने पनि नेताहरूले बेवास्ता गरेका कारण गठबन्धनले मैदान खाली गर्नु परेको बताए । उनले सजिलै चुनाव जित्न सकिनेबेलामा गलत निर्णय भएको गुनासो गरे ।
केन्द्रका नेताहरूकै कारण विष्णु पौडेललाई मैदान खाली गरिएको टिप्पणी गर्दै पौडेल चुनाव लड्न डराइरहेको अवस्थामा सहज बनाउने काम भएको प्रतिक्रिया दिए ।