
काठमाडौं । काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर २ असुरक्षित देखिएपछि पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल यसपटक रौतहट नै फर्किए ।
स्थानीय तहको मतलाई नै आधार मान्ने हो भने सत्ता गठबन्धन निकै अघि रहेको क्षेत्र नेता नेपालले रोजेका छन् ।
आइतबार गृहनगर रौतहटमा प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट उमेदवारी दर्ता गराएपछि उनले काठमाडौं र रौतहट पालैपालो गर्नका लागि आफू फर्किएको सुनाए ।
आफूले पहिले नै गरेको बाचाअनुसार नै गाउँ फर्किएको समेत बताए ।
“रौतहट १ मेरो जन्मभूमि । मेरो, घर गाउँ । पढेको बाल्यकाल बिताएको, राजनीति गरेको ठाउँ । काठमाडौंलाई मात्रै गरेर हुँदैन । यो भन्दा पहिले रौतहट छाड्दा पनि अर्को पटक फेरि आउनुपर्छ है भनेर भन्नुभएको थियो,” अध्यक्ष नेपालले भने “ त्यो हुनाले ठिक छ । पालैपालो त गरौंला भनेर फेरि आएको छु । जनताको विश्वास पाउँछु भन्ने विश्वास छ ।”
नयाँ व्यवस्थाअनुसार एक उमेदवार दुई निर्वाचन क्षेत्रमा प्रतिष्पर्धा गर्न पाइँदैन ।
त्यसअघि २०६४ र २०७० को निर्वाचनमा नेपाल रौतहट १ र काठमाडौं क्षेत्र नम्बर २ बाट नेकपा एमालेको उमेदवार बने ।
०६४ को निर्वाचनमा दुवै क्षेत्रबाट पराजय बेहोरेका नेपालले ०७० को निर्वाचनमा परिणाम उल्ट्याए । २०७० को प्रतिनिधिसभा निर्वाचनमा दुवै क्षेत्रबाट निर्वाचित भए ।
त्यतिबेला एक निर्वाचन क्षेत्र रोज्दा रौतहट छाने । काठमाडौं २ मा उपनिर्वाचन भयो । उपनिर्वाचनमा सो निर्वाचन क्षेत्रमा एमालेका उमेदवार कृष्णगोपाल श्रेष्ठ पराजित भएका थिए ।
एउटा मात्रै निर्वाचन क्षेत्रमा उठ्न पाउने व्यवस्थाअनुसार उनले २०७४ को निर्वाचनमा रौतहट छाडे । काठमाडौं २ मा तत्कालीन नेकपा माओवादी केन्द्रसँगको गठबन्धनबाट एमालेका उमेदवार नेपाल २७ हजार ३६६ मत ल्याएर निर्वाचित भएका थिए ।
उनका प्रतिष्पर्धी कांग्रेसका दीपकप्रसाद कुइँकेलले १४ हजार ९०३ मत पाएका थिए ।
मंसिर ४ मा हुने निर्वाचनमा भने नेपालले काठमाडौं २ दोहो¥याउन चाहेनन् । स्थानीय तहको निर्वाचनमा काठमाडौं २ मा एकीकृत समाजवादीको मत निकै कमजोर छ । रौतहट १ मा भने स्थानीय तहमा एकीकृत समाजवादीको मत हेर्दा पहिलो पार्टी देखिन्छ ।
रौतहट क्षेत्र नम्बर १ मा स्थानीय चुनावमा तेस्रो पार्टीको हैसियत पाएको लोसपा पनि गठबन्धनमा इन्ट्री गरेपछि नेपाललाई झनै सहज हुने विश्लेषण गर्न थालिएको छ ।
अघिल्लो निर्वाचनमा रौतहट १ बाट तत्कालीन राजपा हालका लोसपा नेता अनिल झा निर्वाचित भएका थिए । झाले उक्त निर्वाचन क्षेत्र माधव नेपाललाई छाडेका छन् । उनी धनुषा क्षेत्र नम्बर ३ बाट गठबन्धनका उमेदवार बनेका छन् ।
यस्तो छ स्थानीय तहको मत
रौतहट –१ मा गौर नगरपालिका, राजदेवी नगरपालिका, माधवनारायण नगरपालिका, दुर्गा भगवती गाउँपालिका, यमुनामाई गाउँपालिका, गढीमाई नगरपालिकाका ६, ७ र ८ नम्बर वडा र गरुडा नगरपालिकाको १ नम्बर वडा पर्दछ ।
यहाँ वडागत परिणाम हेर्दा एकीकृत समाजवादीको बर्चस्व देखिन्छ । यहाँ एकीकृत समाजवादीले वडागत रुपमा कूल १९ हजार ६९८ मत पाएको छ ।
नेपाली कांग्रेसले कूल १६ हजार ९४४ मत पाएको छ ।
यहाँ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को मत तेस्रो स्थानमा देखिन्छ । उसले १२ हजार ०६२ मत पाएको छ ।
माओवादी केन्द्रले ८ हजार १९१, एमालेले ७ हजार ३८५, जसपा ८ हजार २४१ र स्वतन्त्रसहित अन्य दलले ३ हजार १४३ मत पाएका छन् ।
लोसपा सत्ता गठबन्धनमा इन्ट्री गरेपछि गठबन्धनसँग कूल ५६ हजार ८९५ मत देखिन्छ ।
एमालेले जसपासँग रौतहटका बाँकी निर्वाचन क्षेत्रमा तालमेल गरेको छ । तर नेता नेपालको क्षेत्रमा भने प्रतिनिधिसभातर्फ तालमेल भएको छैन । तर प्रदेशसभामा भने तालमेल भएको छ ।
प्रतिनिधिसभामा भने जसपाले उमेदवारी दिएको छैन । तर एमालेले अजयकुमार गुप्तालाई उमेदवार बनाएको छ ।
जसपा र एमालेबीच भएको समझदारीमा उक्त क्षेत्रमा कसको उमेदवार हुने भन्ने उल्लेख छैन । अर्थात् खाली राखिएको छ ।
तर माथिको सहमतिअनुसार नै जसपाले एमालेलाई सहयोग गर्ने स्थानीय नेताहरु बताउँछन् । स्थानीय तहको मतलाई आधार मान्ने हो भने एमाले र जसपाको मत जोड्दा १५ हजार ६२६ मात्रै हुन्छ ।
अन्य दलसहित स्वतन्त्रको मत जोड्ने हो भने पनि एमाले सत्ता गठबन्धनको तुलनामा निकै कमजोर देखिन्छ ।
नेता नेपालको प्रतिष्पर्धा एमालेकै उमेदवारसँग हुने देखिन्छ । स्थानीय तहको मत परिणाम र गठबन्धनका कारण सहजै चुनाव जितिने नेपाल निकट नेताहरुको दाबी छ ।
यो निर्वाचन क्षेत्रमा नेपाल र गुप्तासँगै १६ जनाले उमेदवारी दर्ता गराएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरोज कुमारी, जनमत पार्टीका राजेन्द्रप्रसाद शाह उमेदवार छन् ।
नेपाली जनता दलका सुवोध चन्द्रशाह, नेपाल शुसाशन पार्टीका रंजितकुमार पटेल, राष्ट्रिय स्वतन्त्र पार्टीका मिस्टर सूर्यदेवप्रसाद कोइराला उमेदवार छन् ।
राम आधार महतो कोइरी, रामबलि कुमार यादव , अनिल कुमारलाल दास, रेवन्त झा स्वतन्त्र उमेदवारी दिएका छन् ।
चन्दनकुमार जयसवाल, मोहमद जियाउल हक, राहुल मिश्र, कोशिलादेवी, अवधेशकुमार ठाकुरले पनि स्वतन्त्र उमेदवारी दर्ता गरेका छन् ।
माधव नेपालका प्रतिष्पर्धी, पार्टी फेर्दैै चुनाव लड्दै
नेपालका प्रतिष्पर्धी एमालेका उमेदवार गुप्ता गएको स्थानीय निर्वाचनपछि मात्रै एमाले प्रवेश गरेका हुन् ।
शाहीकालमा नै मेयर बनेका गुप्ता ०७० को निर्वाचनमा नेपालकै प्रतिष्पर्धी हुन् । विजय गच्छदारको पार्टी लोकतान्त्रिक फोरमबाट उमेदवार बनेका उनी नेपालसँग ३३८ मतले पराजित भएका थिए ।
०७४ को निर्वाचनमा उनी तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) बाट गौर नगरपालिकाको मेयर निर्वाचित भएका थिए ।
वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट गौर नगरपालिकाको मेयरका उमेदवार बनेका थिए । उनी एकीकृत समाजवादीका शम्भु शाहसँग पराजित भएका भए ।
स्थानीय चुनावपछि पार्टी प्रवेश गरेका गुप्तालाई एमालेले उमेदवार बनाएको हो । पार्टी परिवर्तन गर्दैै चुनाव लड्दै आएका गुप्ताले माधव नेपाल देशको प्रधानमन्त्री भइसकेको व्यक्ति भए पनि रौतहटका जनतालाई न्याय गर्न नसकेको आरोप लगाए । त्यहाँ आफू नै जित्ने समेत दाबी गरे ।
“माधव नेपाल प्रधानमन्त्री भइसकेको व्यक्ति हुनुहुन्छ । उहाँले रौतहट क्षेत्र नम्बर १ बाट दुईपटक प्रतिनिधित्व गर्नुभएको छ । तर, त्यहाँ कुनै विकास भएको छैन,” उनले बाह्रखरीसँग भने,“ रौतहटका जनतालाई उहाँले न्याय गर्नुभएको छैन । यहाँका जनता एमालेको साथमा छन् । जनताले एमालेलाई मत दिनुहुन्छ ।”
नेता नेपाल पनि २०४८ सालदेखि लगातार चुनाव लडेका छन् ।
२०४८ सालमा राष्ट्रिय सभा, २०५६, २०६४, २०७०, २०७४ सालमा भएका हरेक निर्वाचन नेपालले प्रतिष्पर्धा गरेका छन् ।