काठमाडौं । नेपाली युवा टोली एएफसी यू–१७ एसियन कप २०२३ छनोट प्रतियोगिताका लागि अहिले भियतनाममा छ । तर, एन्फा नेतृत्वले भने यस छनोट प्रतियोगितालाई कुनै महत्व दिएको छैन ।
राजनीतिक भागबन्डाका लागि तछाडमछाड गर्ने एन्फा नेतृत्व प्रतियोगिताअघि टोलीलाई गर्नुपर्ने समान्य मानवीय व्यवहार पनि नगरी दसैँ मनाउन हतारिँदै जिल्ला प्रस्थान गरेका छन् । जसका कारण गत शनिबार एन्फा मुख्यालयमा राखिएको खेलाडी बिदाइ कार्यक्रममा दुई पदाधिकारी मात्र उपस्थित थिए, तैपनि निकै ढिला गरी ।
यसले एसियन कप छनोट जस्तो महत्वपूर्ण प्रतियोगिता खेल्न जान लागेको युवा टोलीको मनोबल कस्तो भयो होला ? कल्पना मात्र गर्न सकिन्छ ।
एन्फाले शनिबार बिहान ९ः३० बजे बिदाइ कार्यक्रम राखेको थियो । तर, १० बज्दासम्म एन्फा मुख्यालयमा हलको ढोका खोल्ने मान्छे कोही थिएनन् । समयमै तयार भएर पुगेका खेलाडी तथा अफिसियल हलबाहिर बेवारिसे बनेका थिए ।
बुधबार मात्र विशेष साधारण सभाबाट एन्फा केन्द्रीय सदस्यमा निर्वाचित रुपेश अधिकारी निकै ढिला गरी एन्फा मुख्यालय आइपुगे । वरिष्ठ उपाध्यक्ष बीरबहादुर खड्का अझै ढिला गरी खेलाडी बिदाइ गर्न आइपुगे ।
टिमलाई बिदाइ गर्न आएका ती दुवै पदाधिकारीलाई आफ्नो यू–१७ टोली कुन प्रतियोगिता खेल्न जान लागेको भन्ने राम्रो ज्ञान पनि थिएन । थाहा हुन्थ्यो भने त उनीहरूले कम्तीमा प्रतियोगिताको नाम शुद्ध उच्चारण गर्न सक्थे । दुवैले प्रतियोगिताको नाम शुद्धसँग उच्चारण समेत गर्न सकेनन् । कहिले एसियन कप त कहिले क्वालिफायर्स भन्थे ।
यसबाटै थाहा हुन्छ, एन्फा पदाधिकारीहरूको ध्यान फुटबल विकासमा होइन, फुटबलका नाममा प्राप्त हुने लाभमा मात्र छ ।
एन्फा अध्यक्ष पंकज नेम्वाङ शुक्रबार बिहानै दसैँ मनाउनका लागि जिल्ला प्रस्थान गरेका थिए । महासचिव किरण राई पनि शुक्रबार नै जिल्ला हिडेका थिए, दसैँ मनाउनकै लागि ।
के दसैँ खेलाडीहरू थिएन र ? खेलाडीहरू भने दसैँकै बीचमा देशका लागि भनेर प्रतियोगिता खेल्न भियतनाम जाँदै थिए । तर, पदाधिकारीलाई त्यसको कुनै पर्बाह थिएन ।
तिनै खेलाडीको नाममा राजनीति गर्ने, तिनै खेलाडीलाई देखाएर फिफा, एएफसी र सरकारबाट आएको रकममा रजाइँ गर्नेहरूले नै खेलाडीहरू एसियन कप छनोट जस्तो प्रतियोगिता खेल्न जाँदा बेवास्ता गरेका छन् । एएफसी एसियन कप छनोट जस्तो प्रतियोगितालाई एकदमै हलुका ढंगबाट लिएका छन् ।
बिदाइको अघिल्लो दिन शुक्रबारसम्म एन्फाका सबै पदाधिकारीहरू मुख्यालयमा निकै हतारमा देखिन्थे । तर, त्यो हतारो शनिबार भियतनाम जाने टोलीलाई व्यवस्थित रूपमा बिदाइ गर्नका लागि थिएन ।
त्यो हतारो महिला साफ च्याम्पियनसिप तथा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलको पैसा लिन र बिल पास गराउनका लागि थियो । आफ्नो दुनो सोझ्याउन तछाडमछाड गर्नेहरू देशको प्रतिनिधित्व गरी भियतनाम जान लागेको यू–१७ राष्ट्रिय टोलीको व्यवस्थापनमा भने उदासिन देखिए ।
जतिसक्दो चाँडो बिल पास गराएर पैसा लिएर जिल्ला हिँड्न हतारिएका पदाधिकारीलाई त्यही मुख्यालय प्राङ्गणमै भएको होस्टेलमा रहेका खेलाडीप्रति कुनै चासो थिएन ।
दसैँ त ती खेलाडीहरूकाे हाे । उनीहरूका पनि परिवार छन् । नेपाली खेलाडी प्रायःजसो निम्नमध्यम वर्गीय परिवारकै छन् । ती खेलाडीले श्रीलंकामा सम्पन्न यू–१७ साफ च्याम्पियनसिप खेल्न जाँदाको भत्ता अहिलेसम्म पाएका छैनन् ।
आफ्नो बिल पेस गराउन भाैतारिएका पदाधिकारीलाई ती खेलाडीको पनि भत्ता समयमै दिनुपर्छ भन्ने सामान्य ख्याल सम्म भएन । समयमै खेलाडीले रकम पाएको भए, दसैँमा केही किनमेल गर्न सक्थे । रकम बचाएर घरमा पठाउन सक्थे । आखिर परिवारबाट दसैँको टीका थाप्न नपाए पनि त्यसैमा चित्त बुझाउँन सक्थे । तर, खेलाडीको पीरमर्कामा एन्फा नेतृत्वले कुनै मतलब गरेको देखिएन ।
‘‘फिफाबाट स्वीकृति नलिइ खेलाडीलाई भत्ता दिने पैसा छैन,’’ एन्फाको जवाफ यस्तै थियो । तर, यू–१७ साफ च्याम्पियनसिपको फाइनल हेर्नकै लागि एन्फा नेतृत्व हुल बाँधेर श्रीलंका पुगेका थिए । त्यही हुल बाँधेर श्रीलंका पुग्ने खर्च जोगाएको भए पनि खेलाडीलाई भत्ता दिने रकमको जुगाड हुनसक्थ्यो । तर, आफ्नो बलबुतामा खेलाडीलाई भत्ता दिन नसक्ने एन्फा नेतृत्वबाट भविष्यमा के आशा गर्ने ?
वरिष्ठ उपाध्यक्ष खड्काले त बिदाइमा सिधै भने, ‘‘संस्था अहिले अप्ठ्यारो अवस्थामा छ । त्यसकारण म अहिले तपाईंहरूसँग केही वाचा गर्न सक्दिँन ।’’
बिदाइको समयमा बोलिएका यस्ता कुराले खेलाडीको मनोविज्ञान कस्तो भयो हेला ? के कुनै ठूलो प्रतियोगिताअघि एन्फाले खेलाडीलाई उत्प्रेरित गर्ने तरिका यस्तै हो ? यस्तै हो भने नेपाली खेलाडीले कुन उत्प्रेरणाका साथ खेल्नेछ । अनि कसरी ती टोलीबाट नतिजाको आशा गर्ने ?
भत्ताको त कुरा छाडौँ । सामान्य सुविधा दिने कुरामा पनि एन्फा चुकेको छ । २३ खेलाडी, प्रशिक्षकहरूको टोली अनि व्यवस्थापकलाई कमसेकम दुई जोर ट्र्याकसुट पनि दिन सकेको छैन । एक जोर दिइएको छ । जुन श्रीलंका जाँदा दिइएको थियो ।
फरक प्रतियोगिता खेल्न जाँदा पनि एक जोर नयाँ ट्र्याकसुट दिन एन्फाले जरुरी ठानेन । दिइएको ट्र्याकसुट पनि असाध्यै कमसल छ । न त दिइएको दुई जोर जर्सी र कट्टु नै गतिला छन् ।
भियतनाम जानेबेलामा दिइएको एक जोर जुत्ताको स्तर रत्नपार्कमा पाइने नक्कली जुत्ताभन्दा कमसल छ । किशोर खेलाडी जसको मनोबल बढाउन सकेको सुविधा दिनुपर्ने हो । त्यसमा त एन्फा चुकेकै छ, ठिकठिकै स्तरको किट दिन पनि एन्फा लोभाएको छ ।
एन्फा नेतृत्वमा रहेकाहरू आफू चाहिँ महँगा जुत्ता र ट्र्याकसुटमा सजिने, अनि जसका कारण एन्फाको अस्तित्व छ, उनीहरूप्रति चाहिँ हेपहा प्रवृत्ति देखाउने, देशको फुटबल चलाउने यो कस्तो काइदा हो ?
नेपाली टोली मलेसियामा १२ घण्टाको ‘ट्रान्जिट’पछि सोमबार नेपाली समयअनुसार सवा २ बजेतिर भियतनाम ओर्लिएकाे छ ।
नेपालले बुधबार प्रतियोगिताको पहिलो खेल थाइल्यान्डविरुद्ध खेल्दैछ । लामो समयको यात्रा गरेर भियतनाम पुगेको नेपाली टोलीले मस्किलले ४८ घण्टा नपुग्दै खेल्नु पर्ने बाध्यता छ ।
यसबीचमा नेपाली टोली न त्यहाँको वातावरणमा भिज्न सक्छ, न त्यहाँ गएर राम्रो प्रशिक्षण गर्ने समय पाउँछ ।
यसको ज्वलन्त उदहारण त बहराइनमा यू–२० टोली हो । ढिला गरी यू–२० एसियन कपका लागि बहराइन पुगेको नेपाली टोलीले पहिलो खेलमै सबैभन्दा कमजोर मानिएको भुटानसँग २–० को नमिठो हार बेहाेर्नुपरेको थियो । हार्नुका धेरै कारणमध्ये त्यहाँको वातावरण र खानपिनमा अभ्यस्त नहुँदा खेलाडी बिरामी पर्नु पनि एक थियो ।
तर, झण्डै दुई साता अघिको त्यस घटनाबाट एन्फाले पाठ सिकेको देखिएन । एन्फाले एक त चाँडै पठाउन नै कन्जुस्याइँ गरेको छ भने अर्को ‘कमिसनको आशामा जति घण्टाको ट्रान्जिट भए पनि हुन्छ’ भनेर टिकट बुक गरेको छ ।
यी तमाम कुराले प्रतियोगिता अघि नै खेलाडीको मनोबल गिरेको छ । अब त्यो टिमबाट समर्थकले कस्तो नतिजाको आशा गर्ने ? राष्ट्रले कस्तो नतिजाको आशा गर्ने ?