कठमाडौं । नेपाली महिला फुटबल यतिबेला एउटा महत्वपूर्ण संघारमा उभिएको छ । जुन संघार पार गर्न सक्यो भने नेपाली महिला फुटबलले सैद्धान्तिक रुपमा नयाँ उचाइ लिनेछ । त्यो पार गर्न सकेन भने ठूलो दुर्घटनामा पनि पर्न सक्छ ।
र यो संघार हो, साफ महिला च्याम्पियनसिपको फाइनल । अझ भनौंँ उपाधि । सैद्धान्तिक यस अर्थमा कि एकपटक उपाधि जित्दैमा त्यहाँको फुटबलले व्यवहारिक रुपमा कायापलट हुन्छ भन्ने हुँदैन । तर, सधैँ हार्दाको निराशाले भने ठूलो असर गर्न सक्छ ।
हुन त नेपाली महिला टोलीले यसअघिका पाँचमध्ये चारपटक यस प्रतियोगिताको फाइनल खेलिसकेको छ । तर, यो फाइनल फरक छ । फरक यस अर्थमा कि नेपालले दशरथ रंगशालामा खेल्दैछ । र फरक यस अर्थमा कि, नेपालको प्रतिद्वन्द्वी यसपटक भारत होइन, बंगलादेश छ ।
उपाधि यात्रामा सधैँको तगारो भारतलाई नेपालले यसपटक सेमिफाइनलमा पन्छाइसकेको छ, जुन आफैँमा एक ऐतिहासिक उपलब्धि हो । किनकि, नेपालले साफमा अहिलेसम्म भारतलाई हराउन सकेको थिएन । नेपालले भारतलाई हराउँदै नहराएको पनि होइन । २०१९ को हिरो महिला गोल्डकपमा नेपालले भारतलाई २–१ ले हराएको थियो । तर, साफमा भने शुक्रबारको जित नै पहिलो हो ।
“भारतलाई हराएर हामीले एउटा इतिहास बनाइसकेका छौँ । अब उपाधि जितेर अर्को इतिहास रच्न चाहन्छौँ । हामी मानसिक र शारीरिक रुपमा तयार छौँ । बंगलादेशविरुद्ध यसघि खेलिसकेका छौँ,” पहिलो पटक कप्तानको भूमिकामा रहेकी गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले भनिन्, “यसपटक बंगलादेश पहिलेभन्दा बलियो भएर आएको छ । तर, हामी उनीहरूलाई हराउन सक्षम छौँ । हाम्रो नारा नै हामी सक्छौँ, हामी गर्छौँ भन्ने हो । त्यसकारण हामी बोलेर भन्दा मैदानमा खेलेर देखाउन चाहन्छौँ ।”
नेपालले जस्तै बंगलादेशले पनि भारतलाई हराएर फाइनलसम्मको यात्रा तय गरेको हो । तर, बंगलादेशले भारतलाई समूह चरणमा हराएको हो । लिग चरणको अन्तिम खेलमा बंगलादेशले भारतलाई ३–० ले हराएपछि समूह विजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको थियो । सेमिफाइनलमा बंगलादेशले भुटानमाथि ८–० को विजय हासिल गर्यो । उक्त खेलमा बंगलादेशका लागि कप्तान सविना खातुनले ह्याट्रिक गरेकी थिइन् ।
सविनाले जारी प्रतियोगतामा दुईपटक ह्याट्रिक गरिसकेकी छन् । सविनाले पाकिस्तानविरुद्ध पनि ह्याट्रिक गरेकी थिइन् । जारी प्रतियोगितामा तीन खेलाडीले मात्र ह्याट्रिक गरेका छन् । सविनाबाहेक भारतकी अञ्जु तामाङ र पाकिस्तानकी नादिया खान । दुवैले माल्दिभ्सविरुद्ध ह्याट्रिक गरेका थिए ।
बंगलादेशकी कप्तान सविनाले ८ गोल गरिसकेकी छन् । र, धेरै गोल गर्ने खेलाडीको सूचीमा शीर्ष पंक्तिमा छिन् । बंगलादेशकै मोसामत सिरत जहान शोपनाले चार गोल गरेर दोस्रो स्थानमा छिन् । भारतकी अञ्जु र पाकिस्तानकी नादियाले पनि समान ४ गोल गरेका छन् ।
यस तथ्याङ्कले पनि बंगलादेशको अग्रपंक्ति कति बलियो छ भनेर देखाउँछ । अग्रपंक्तिमात्र होइन, बंगलादेशको रक्षापंक्ति पनि उत्तिकै सशक्त छ । प्रतियोगितामा बंगलादेशले २० गोल गरिसकेको छ भने एक गोल पनि खाएको छैन । त्यसकारण त बंगलादेशका प्रशिक्षक आफ्नो टिमप्रति विश्वस्त छन् ।
“शारीरिक र मानसिक रुपमा नेपालसँग खेल्न तयार छौँ । नेपाल शारीरिक, मानसिक र प्राविधिक रूपमा राम्रो टिम छ,” प्रशिक्षक गोलम रोब्बानी भन्छन्, “त्यसकारण फाइनल खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने आशा गरेका छौँ । हाम्रो टिमको मनोबल उच्च छ । हामी उपाधिका लागि तयार छौँ ।”
भारतलाई हराएर नेपालको मनोबल जति उच्च छ, बंगलादेशको पनि त्यस्तै छ । नेपालले भन्दा बंगलादेशले प्रतियोगितामा एक खेल बढी खेलेको छ । बंगलादेश सम्मिलित समूह ‘ए’मा चार टोली थिए ।
घरेलु टिम भएकाले नेपाललाई घरेलु दर्शकको साथ हुनेछ । भारतविरुद्धको सेमिफाइनलमा साढे सात हजार दर्शक दशरथ रंगशालामा उपस्थित थिए । फाइनलमा यो संख्या बढ्ने अनुमान गरिएको छ ।
तर, बंंगलादेशकी कप्तान सविना दर्शकको दबाब आफूहरूलाई नहुने बताउँछिन् । उनी भन्छिन्, “घरेलु टोलीलाई दर्शकको फाइदा हुन्छ । तर, उमेर समूहदेखि हामी यसमा अभ्यस्त छौँ । बंगलादेशमा आयोजना हुँदा त्यहाँ पनि ठूलो संख्यामा दर्शक थिए । त्यसकारण हामीलाई यसले धेरै ठूलो अर्थ राख्दैन ।”
यसअघि, बंगलादेशले २०१६ मा एकपटक मात्र फाइनलमा प्रतिस्पर्धा गरेको छ । जतिबेला नेपाल सेमिफाइनलमा भारतसँगै हारेको थियो । नेपालले भने चारपटक फाइनल खेलिसकेको छ । त्यसकारण दबाब नेपाल माथि पनि हुनेछ ।
अझ सेमिफाइनलमा भारतलाई हराएपछि समर्थकको अपेक्षा ह्वात्तै बढेको छ । समर्थकको मनोविज्ञान ‘भारतलाई त जित्यो, अब फाइनल पनि जित्छ’ भन्ने खालको छ । नेपालका प्रशिक्षक कुमार थापा पनि समर्थकलाई निराश नपार्ने बताउँछन् । त्यसमा उनी आत्मविश्वासी पनि देखिएका छन् ।
“सेमिफाइनलमा खेलाडीको गरेको प्रदर्शनबाट खुसी छु र फाइनलमा त्योभन्दा राम्रो प्रदर्शन गर्नेमा विश्वस्त छु । अर्को संस्करणसम्म ट्रफी यहीँ राख्न चाहन्छौँ । हाम्रो अर्जुनदृष्टिमा ट्रफीबाहेक अरु केही छैन । हाम्रो लोगोमा स्टार छैन । हामी लोगोमा त्यो स्टार थप्न चाहन्छौँ,” फाइनलअघिको पत्रकार सम्मेलनमा थापाले भने, “यो जित्नका लागि हामीले धेरै मिहिनेत गरेका छौँ । उपाधिभन्दा हामीले एक रौँ पनि तलमाथि सोचेका छैनौँ । जसरी भए पनि हामी सन्तुलित टिम बनाउँछौँ र जित्नेमा एकदम विश्वस्त छौँ ।”
साफमा नेपाल र बंगलादेश यसअघि तीनपटक आमने सामने भएका छन् । २०१० र २०१९ मा नेपाल समान ३–० को नतिजामा विजयी भएको थियो । २०१४ मा भने नेपाल १–० ले विजयी भएको थियो । साफमा नेपाल अहिलेसम्म बंगलादेशसँग हारेको छैन । त्यो लयलाई नेपाल फाइनलमा पनि निरन्तरता दिन चाहन्छ ।
“भारत र बंगलादेशसँग खेल्नु धेरै फरक छ । अहिले बंगलादेश पनि धेरै बलियो भएको छ । बंगलादेशले अहिलेसम्म गोल खाएको छैन । हामीले पनि खाएका छैनौँ,” नेपालका प्रशिक्षक थापाले थपे, “गोल गर्ने टिमले जित्ने हो । हामी गोल नखानका लागि गल्ति कमभन्दा कम गर्ने प्रयास गर्नेछौँ । गोल गर्ने टिमले जित्ने हो र गोल गरेर जित्छौँ ।”
नेपालको मुख्य स्ट्राइकर सावित्रा भण्डारी र मिडफिल्डर मञ्जलीकुमारी योञ्जनले डेंगीका कारण अघिल्ला खेल गुमाएका थिए । फाइनलमा उनीहरूको उपस्थितिबारे प्रशिक्षक थापाले थपे, “भोलि एकपटक परीक्षण गर्नेछौँ । त्यसपछि मात्र थाहा हुन्छ ।”
हुन त नेपालले यसअघि २०१९ मा पनि घरेलु मैदानमा खेलेको थियो । त्यतिबेला पूर्वी सहर विराटनगरमा प्रतियोगिता भएको थियो । यसपटक काठमाडौंमा आयोजना भएको छ । प्रशिक्षक थापा काठमाडौंको फुटबल माहोल फरक भएको बताउँछन् । उनी दर्शकलाई आफ्नो शक्तिको रुपमा अथ्र्याउँछन् ।
“नेपाल देश नै फुटबलको क्रेज भएको देश हो । विराटनगर, पोखरालगायत अन्य सहरमा पनि राम्रो माहोल छ । तर, काठमाडौं राजधानी हो,” ” नेपालका प्रशिक्षक थापाले भने, “यहाँको फुटबल वातावरण फरक छ । हामीलाई त्यही वातावरण चाहिएको पनि छ । दर्शकले हामीलाई इनर्जी दिनुहुन्छ । हामी उपाधि दिन्छौँ ।”