site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओलीको निर्णयको पर्खाइमा बादल : प्रचण्डसँग चुनाव लड्लान् ?
Tiktok banner adTiktok banner ad

काठमाडौं । ०७८ असोज ८ गते नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चुनाव लड्ने संकेत गरे ।

चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले भनेका थिए, “चुनाव घोषणा भइसकेपछि पार्टीले निर्णय गर्छ । त्यो स्थितिमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ ।”

जनयुद्धका सूत्राधारमध्येका एक हुन्, बादल । ०३७ सालदेखि पूर्णकालीन आन्दोलनमा होमिएका बादल र प्रचण्डको सम्बन्ध स्थिर रहेन । बादल खासै बोल्दैनन् । उनको मौनता नेकपा विवाद क्रममा पनि देखिएको थियो । प्रचण्डसँग प्रतिस्पर्धा गर्ने बादलको अभिव्यक्तिलाई चासोको साथ हेरियो ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रचण्डको नाम विभिन्न क्षेत्रबाट सिफारिस गरिएको छ । तर, उनले चितवन क्षेत्र नम्बर–३ बाटै प्रतिस्पर्धा गर्ने बताउँदै आएका छन् । सोही क्षेत्रबाट एमालेका चितवन जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने सिफारिस भएका छन् ।

एकपटक मात्र चुनाव लडेका बादल 
४२ वर्षे राजनीतिक यात्रामा बादलले एउटै मात्र आम निर्वाचनमा प्रतिस्पर्धा गरेका छन् । ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनले चितवन–२ बाट चुनाव लडेका थिए । २१ हजार ४०९ मत पाएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका एकनाथ रानाभाटले १३ हजार मत पाएका थिए ।

२०७० सालको निर्वाचनमा उनी मोहन वैद्य ‘किरण’ नेतृत्वको माओवादीमा थिए । उक्त पार्टीले चुनाव बहिष्कार गरेको थियो ।

०७४ को निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल भयो । चितवनका तीन निर्वाचन क्षेत्रमध्ये एमालेले दुइटा पायो । चितवन–३ बाट प्रचण्डले प्रतिस्पर्धा गरे । बादलले राष्ट्रियसभा रोजे ।

राष्ट्रियसभामा उनी तत्कालीन प्रदेश नम्बर–३ को खुलातर्फ माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । राष्ट्रियसभा सदस्य निर्वाचनमा जनप्रतिनिधिले मात्र मतदान गर्न पाउँछन् । उनी ६ वर्षका लागि राष्ट्रियसभामा पुगेका थिए । पछि उनले एमाले रोजे । त्यसपछि माओवादीले कारबाही गर्‍यो । उनको पदावधि बीचैमा टुंगियो । सर्वोच्च अदालतको निर्णयबाट तत्कालीन नेकपामा एकीकृत भएका एमाले र माओवादी आ–आफ्नै अस्तित्वमा फर्किएका थिए । त्यति बेला एमाले रोजेपछि बादल पार्टी कारबाहीमा परेका हुन् ।

माओवादीलाई छाडेर साथ दिएबापत एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई राष्ट्रियसभामा दोहोर्‍याउन चाहेका थिए । तर, तत्कालीन एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले साथ दिएन । नेपालले माओवादी, कांग्रेससहितको समर्थनमा खिमलाल देवकोटालाई उमेदवार बनाएका थिए । ०७८ जेठ ६ गते भएको निर्वाचनमा बादल देवकोटासँग पराजित भए ।

अब के गर्छन् ?
बादलले योपटक पनि निर्वाचनमा प्रतिस्पर्धा गर्ने इच्छा खासै व्यक्त गरेका छैनन् । आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गरेको खण्डमा उनले चितवन–२ रोज्ने उनीनिकटस्थ बताउँछन् । चितवन–२ बाट अघिल्लो निर्वाचनमा एमालेका कृष्णभक्त पोखरेल निर्वाचित भएका थिए ।

“उहाँ निर्वाचन लडे चितवन–२ नै हो । यो कृष्णभक्त पोखरेलको क्षेत्र हो । यसअघि पनि निर्वाचित भइसक्नुभएका पोखरेलले नछाड्ने भए त बादलले बल गर्ने कुरा भएन,” एक निकटवर्तीले बाह्रखरीसित भने ।

एमालेको चितवन जिल्ला कमिटीले क्षेत्र–२ बाट पाँच आंकाक्षी नेताको नाम सिफारिस गरेको छ । कमिटीले अघिल्लोपटक निर्वाचित भएका पोखरेल र भरतपुर महानगरपालिकाको मेयर पदमा पराजित भएका देवी ज्ञवालीसहितका नेताहरूको नाम प्रदेश कमिटीमा पठाएको हो । त्यसमा बादलको नाम समावेश छैन ।

एमाले चितवन जिल्ला कमिटी अध्यक्ष रामप्रसाद न्यौपाने बादलको हकमा केन्द्रले निर्णय गर्ने भएकाले जिल्लाबाट नाम सिफारिस नगरिएको बताउँछन् । बादललाई उठाउने/नउठाउने निर्णय अध्यक्ष ओलीले नै गर्ने उनको भनाइ छ । “जिल्लाबाट आकांक्षी साथीहरूको नाम प्रदेश कमिटीमा पठाएका छौँ । बादल कमरेडले चुनाव लड्ने/नलड्ने कुरा केन्द्रबाट अध्यक्षज्यूबाटै निर्णय हुने कुरा हो,” उनी भन्छन्, “उहाँ अहिले आमाको निधनका कारण पनि व्यस्त हुनुहुन्छ । अहिले जिल्लाबाट सहमतिमा नै नाम नपठाइएको हो ।”

बादलले त्यतिखेर पार्टीले निर्णय गरे प्रचण्डसँग चुनाव लड्ने बताए पनि अहिले स्थिति फरक भएको उनको भनाइ छ । “त्यतिखेर पार्टीले पठाउँदा जहाँबाट पनि लड्न सकिन्छ भन्ने विषयमा त्यस्तो भन्नुभएको हो,” न्यौपाने भन्छन्, “यही क्षेत्रबाट नै निर्वाचन लड्नुपर्छ भन्ने मान्यतमा उहाँ हुनु हुन्न ।”

अर्का एक नेताका अनुसार बादल अहिले प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्ने मुडमा छैनन् । समानुपातिकमा बस्दा नै बादलले आफूलाई सुरक्षित देखेका छन् । “पार्टीले निर्णय गरेको खण्डमा त फरक कुरा भयो, पार्टीको निर्णय मान्नैपर्ला । तर, उहाँको व्यक्तिगत इच्छाचाहिँ प्रत्यक्ष चुनाव लड्ने देखिँदैन । समानुपातिकमा बस्नेजस्तो बुझिन्छ,” ती नेताले भने ।

गत वर्षको मंसिरमा सम्पन्न एमालेको दशौँ राष्ट्रिय महाधिवेशनबाट बादल उपाध्यक्षमा निर्वाचित भएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९  ११:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro