site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमालेलाई हारको डर, समाजवादीलाई गठबन्धनकै भर 
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (एमाले)ले भदौ १० र ११ गतेको केन्द्रीय कमिटी बैठकबाट बहुमतका लागि १६ प्रतिशत मत वृद्धि गर्नुपर्ने निष्कर्ष निकाल्यो । त्यसका लागि हरेक सदस्यले पाँच मत संरक्षण गर्ने र दुई मत वृद्धि गर्न पहल गर्ने अभियान चलाउने निर्णय भयो । त्यसरी गरिने दुई मत वृद्धिका लागि अन्य पार्टीका कार्यकर्ताहरूलाई प्रवेश गराउने एमालेको योजना छ । 

त्यो निर्णयपछि मत वृद्धिका लागि नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ता तान्ने प्रयासमा एमाले देखिन्छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई केन्द्रबाट यही नेता ल्याउने भनेर पहल गर्ने भन्दा पनि कार्यकर्तालाई तान्ने प्रयास गरिरहेको बताउँछन् । 

“हरेक पार्टी सदस्यले पाँच मतदाता संरक्षण गर्ने र दुई मतदाता थप्ने कार्यक्रम हो । दुई मतदातामा जो पनि हुन सक्छन्,” भट्टराईले बाह्रखरीसँग भने, “सम्बधित क्षेत्रका सदस्यले थप्नका लागि पहल गर्ने हो । त्यसो गर्दा १६ प्रतिशत मत वृद्धि हुन्छ र हामी बहुमतमा पुग्छौँ भन्ने हाम्रो योजना हो ।”

यसअघि एमालेले एक वर्षअघि विभाजित माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीबाट महत्त्वपूर्ण नेताहरू फर्किने अपेक्षा राखेको थियो । तर, अपेक्षित रूपमा त्यस्तो हुन नसकेको नेताहरू स्वीकार गर्छन् । गठबन्धनका कारण एकीकृत समाजवादीका नेताहरू सोही पार्टीमा रहने अवस्था बनेको सचेतक भट्टराईको बुझाइ छ ।

“गठबन्धन नहुने हो भने त्यता मान्छे नै रहँदैनन् । गठबन्धनले त टिकाएको छ । गठन्धन हुँदा जितिएला, सरकारमा गइएला भन्ने आश होला,” भट्टराईले भने, “तर, गठबन्धनमा रहेर सशक्त पार्टी बनाउन सक्छौँ भन्ने आत्मविश्वास देखिँदैन । वाम कार्यकर्ताले कांग्रेस नेतृत्वको गठबन्धनमा कहिलेसम्म भोट हाल्ने ?” 

एमालेका अर्का एक नेता पनि एकीकृत समाजवादीका नेताकार्यकर्तालाई पार्टीमा तान्ने नीति रहेको बताउँछन् । ती नेताका अनुसार गठबन्धको कुरा अघि बढाउँदा अध्यक्ष केपी शर्मा ओली नेपालको नाम नै सुन्न अस्वीकार गर्छन् ।

“वाम एकता वा गठबन्धन अब सम्भव छैन । बरु, अरू पार्टीकालाई तान्ने र चुनाव जित्ने भन्ने हो,” ओली निकट ती नेताले भने, “हाम्रा अध्यक्ष ओलीले माधव नेपालको त नाम नै सुन्न चाहनु हुन्न । त्यही पार्टीका अरूलाई त ल्याउन प्रयास गर्ने हो । चुनावमा गठबन्धनको लफडाले धेरैलाई यता ल्याउन सकिन्छ भन्ने हाम्रो विश्लेषण छ ।”

पछिल्लो समय फाटफुट रूपमा एकीकृत समाजवादीका नेता कार्यकर्ताहरू एमाले प्रवेश गरिरहेका छन् । गएको भदौ १३ गते एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश कमिटी उपसचिव तारा लामा तामाङले एमालेमा नै फर्किने घोषणा गरे । प्रदेशसभा सदस्यसमेत रहेका तामाङले प्रदेशसभा बैठकमा आफू पूर्ववत पार्टीमा रहने जानकारी गराएका थिए ।

त्यस्तै, सुदूरपश्चिम प्रदेश कमिटीका पूर्वअध्यक्ष विक्रमबहादुर शाही पनि एमाले प्रवेश गरेका छन् ।
 
भदौ २० गते एकीकृत समाजवादीका गुल्मी अध्यक्ष र इन्चार्ज एमाले फर्किए । एकीकृत समाजवादी गुल्मीका जिल्ला अध्यक्ष नरेश भण्डारी, जिल्ला इञ्चार्ज गणेश खनाल, लुम्बिनी प्रदेश कमिटी सदस्य हिमाल थापा, मुसिकोट नगर कमिटी अध्यक्ष मदन घिमिरेसहितका नेता कार्यकर्ता एमालेमा फर्किएका थिए ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं रूपन्देही जिल्ला पूर्वइन्चार्ज डा. बालकृष्ण चापागाईं पनि आइतबार मात्रै एमालेमै फर्किएका छन् । उनलाई ओलीले बालकोटस्थित निवासमै स्वागत गरे । 

एकीकृत समाजवादी त्यागेर एमालेमा फर्किएकाहरूले पार्टी विधिमा नचलेको आरोप लगाएका छन् । एमालेबाट विद्रोह गर्दा लिएको मुद्दा छाडेकाले आफू एमालेमै फर्किएको केन्द्रीय सदस्य तारा लामा तामाङको भनाइ छ । 

“जुन मुद्दा लिएर एमालेबाट विद्रोह गरियो । त्यो मुद्दा समाजवादीले छाड्यो । नेकपा फुट हुनुको एउटा कारण एमसीसी पनि थियो । नेकपाको अध्यक्ष हुँदा केपी शर्मा ओलीले एमसीसी अघि बढाउँदा तत्कालीन प्रचण्ड–माधव पक्षले विरोध गरेको थियो,” तामाङले भने, “तर, पछि देउवा सरकारले ल्याउदा पास गर्‍यो । आफ्नो अडान कायम रहन सकेनन् । नागरिकता विधेयक पनि त्यस्तै भयो । विधि मानेन भनेर विद्रोह भएको थियो । तर नेतृत्व त्यही चापमा गएपछि मैले पार्टी त्यागेँ ।”

उनले एमाले बलियो शक्ति भएकाले पनि आफू फर्किएको बताए । “वामपन्थीको ठूलो शक्ति भनेको एमाले हो । यो टुटफुट हुनु भनेको वामपन्थी कमजोर हुनु हो । कुनै पनि बलियो पार्टीको टुटफुट लोकतन्त्रका लागि राम्रो होइन,” उनले भने, “समाजवादी पार्टी एमालेबाटै विद्रोह गरेर गएको हो । एमालेसहित सबै वाम गठबन्धन हुनुपर्छ भन्ने पक्षमा थिएँ । तर, एमालेबाहेकको वाम गठबन्धन बनाउने भन्ने कुराले पनि फर्किएको हुँ ।”

नेता जोगाउने चिन्ता
नेताहरूको दल अदलबदल हुने नै निर्वाचनका बेला हो । चुनावमा टिकट नपाउने भएपछि पार्टी छाड्ने, अर्को पार्टीबाट चुनाव लड्ने कुरा नयाँ होइन । टिकट नपाए पार्टी छाड्ने दाउमा रहेकाहरूलाई जोगाउनु चुनौतीपूर्ण हुने एकीकृत समाजवादीका एक नेता स्वीकार गर्छन् । 

“टिकट नपाए पार्टी छाड्न सक्ने कुरालाई अस्वीकार गर्न सकिँदैन । केहीको त मानसिकता नै त्यस्तो देखिन्छ,” ती नेताले बाह्रखरीसँग भने, “तर, उता गएर पनि टिकटको कन्फर्म हुनुपर्‍यो । जिम्मेवारी पाइने हो कि होइन भन्ने पनि होला । असन्तुष्टहरूलाई जोगाउनुपर्ने कुरा त छ ।”

गठबन्धनमा गठबन्धनमा ४० सिट दाबी गरिहेको एकीकृत समाजवादीका नेताहरू २५ सिटसम्म पाइने अपेक्षामा छन् । तर, कांग्रेस भने एकीकृत समाजवादीलाई १५ सिटमा मिलाउन सके मात्र गठबन्धनको बाँडफाँट सहज हुने बताउँदै आएको छ ।

“दाबी जति भएपनि २५ सिट पाइने अपेक्षा हो । त्यति भएमा प्रवल दाबेदार रहेका नेताहरूको व्यस्थापन गर्न सकिन्छ । तर, गठबन्धनकाले दाबी धेरैको हुने नै भयो,” ती नेताले भने, “विद्रोहमा साथ दिएका सांसदहरूलाई प्राथमिकता दिँदै त्यसपछि अरूको व्यवस्थापन हुन्छ ।”

एकीकृत समाजवादी र माओवादी केन्द्रको एकताको प्रक्रिया नै सुरु हुन लागेको भनेर प्रमुख नेताहरूमार्फत नै सार्वजनिक भएको थियो ।  माओवादी केन्द्रसँगको पार्टी एकताको प्रचारले पनि पार्टीमा अप्ठ्यारो परेको अर्का एक नेताको बुझाइ छ । 

“माओवादीसँग पार्टी एकता भइहाल्छ कि जसो गरेर प्रचार गरियो । त्यसले पार्टीलाई अलिकति घाटा भएको छ,” ती नेताले बाह्रखरीसँग भने, “माओवादीको विगतका कारण पार्टी एकता गरिहाल्नु हुँदैन भन्ने मत पार्टीमा बलियो छ ।” 

सोही पार्टीका नेता बलराम बास्कोटा भने पार्टी छाड्नेहरूमा राजनीतिक कारण देख्दैनन् । पदीय लाभका लागि पार्टी छाड्नेहरू बढेको उनको बुझाइ छ ।

“राजनीतिक भन्दा पनि अवसरका लागि त्यता लाग्नुभएको छ । हामीलाई घाटा त भएको छ,” उनले भने, “विधि पद्धतिबाट पार्टी सञ्चालन भइरहेकाले जानेहरू घर फर्किनुहुन्छ भन्ने विश्वास छ ।”

टिकट कन्फर्म गरे एमाले छोड्ने सांसदको प्रस्ताव 
बास्कोटाका अनुसार एमालेले एकीकृत समाजवादीका नेताकार्यकर्ता ल्याउने दाबी गरिरहँदा एमालेका सांसदहरूले पनि एकीकृत समाजवादीमा जान सर्त राख्न थालेका छन् । गठबन्धनबाट टिकट कन्फर्म भए पार्टी प्रवेश गर्ने प्रस्ताव एमाले सांसद आफैँले राखेको उनको दाबी छ ।

“एमालेका सांसद भइसकेका र बाहवाला केही सांसदहरूले गठबन्धनबाट टिकट कन्फर्म भए हाम्रो पार्टीमा आउने प्रस्ताव गर्नुभएको छ,” बास्कोटाले भने, “एक त एमालेमा टिकट नपाउने चिन्ता छ अर्को टिकट पाए पनि जित्ने आधार कमजोर छ । त्यसैले एमालेबाट यता आउने चाहना राख्नुभएको होला ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९  ०९:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro