site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओलीसँगै बसेका एमालेका ‘१० भाइ’ : कसैको टिकटको टुंगो छैन, कसैको आँट छैन !
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले) विभाजनताका '१० भाइ'को चर्चा व्यापक थियो । एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका नेताहरू भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण बिस्ट, भीम आचार्य, रघुजी पन्त र अमृतकुमार बोहोरा '१० भाइ'को रूपमा चर्चामा थिए ।

प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गर्दै राष्ट्रपतिसमक्ष हस्ताक्षर बुझाएका सांसदहरू संसद्मा विश्वासको मत दिन तयार नभएपछि माधव नेपालको साथ नदिने आकलनबाट उनीहरूको चर्चा सुरु भएको थियो । पछि माधव नेपालका तर्फबाट वार्ता गर्न गएर एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट नेपालसँग वार्ता गर्नेगरी फर्किएको भनेर पनि उनीहरूको चर्चा भएको थियो । माधव नेपालले पार्टी फुटाउँदा टिप्पणी गर्ने पनि यीमध्येकै धेरै थिए ।

एमालेलाई सुधार गर्ने, ओलीको एकाधिरको अन्त्य गर्ने र माधव नेपाललाई पश्चाताप गर्न बाध्य पार्ने घोषणासहितको तयारीमा जुटेका यी नेताहरूमध्ये भीम रावल र घनश्याम मात्र ओलीसँग बोल्नसक्ने अवस्थामा बाँकी छन् । अरू नेताहरू भने ओलीसँग भाग माग्नसमेत नसक्ने र आलोचना पनि गर्न नसक्ने अवस्थामा छन् । तत्कालीन समयका '१० भाइ' १०औँ महाधिवेशनसम्म पुग्दा तितरबितर भइसकेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

'दस भाइ'मध्येका रावल एक्ला बनेका छन् । उनी एमालेमै छन् । तर, प्रतिपक्षीका रूपमा पनि उनको कु्नै स्थान छैन । रावल एमालेले लिएका निर्णय वा अध्यक्षसहितका व्यक्तिका अभिव्यक्तिलाई सामाजिक संजालमार्फत टिप्पणी गर्छन् । १०औँ महाधिवेशनमा ओलीसँगै 'बिन्ती गरेर' अध्यक्षमा प्रतिस्पर्धा गर्ने बाटो रोजेका थिए । त्यसयता उनी एमालेका गतिविधिसहित बैठकमा सहभागी हुने काम गरिरहेका छैनन् । ओलीबाट मनोनित हुने केन्द्रीय कमिटी सदस्य वा पोलिटब्युरो वा स्थायी कमिटी आफूलाई अस्वीकार्य हुने बताएपछि उनी सबै कमिटी भन्दा बाहिर छन् । अहिले उनको हैसियत एमाले नेता र सांसद मात्र छ । 

उपाध्यक्षमा प्रतिस्पर्धा गरेका घनश्याम भुसाल पार्टी र अध्यक्षको आलोचकको रूपमा चिनिन्छन् । पार्टी र दलको आलोचना गरिएको भन्दै उनलाई कारबाही गर्न अनुशासन आयोगले सिफारिससमेत गरिसकेको थियो । तर, उनी पार्टीभित्रको प्रतिपक्षीको भूमिकामा डगमगाएका छैनन् । अध्यक्षले अनिच्छा देखाएका विषयमा प्रस्ताव राख्नु, अध्यक्षको देवत्वकरण जारी रहँदा वास्तविक कुरा बोल्न नछोड्नु र आफ्ना अध्ययन र विवेकलाई लागेको कुरा मान्य नभए पनि पार्टी बैठकमा सुनाउनु उनको विशेषता बनेको छ ।

Global Ime bank

त्यसबाहेकका केही नेता ओली निकट भएर आफ्नो अस्तित्व रक्षा गर्दैछन् भने केही नेता हैसियतविहीन रूपमै ओलीलाई समर्थन गरिरहेका छन् । उनीहरू करिब गुमनामजस्तै भएका छन् । उनीहरूमध्ये कतिपय आगामी चुनावमा लड्ने/नलड्ने घोषणसमेत गर्न नसक्ने अवस्थामा छन् । केही भने चुनावको तयारीमा जुटेका देखिन्छन् । 

कसको तयारी कस्तो छ त ? 

दोधारमा रावल 
एमालेका पूर्वउपाध्यक्षसमेत रहेका भीम रावल अछाम क्षेत्र नम्बर–१ बाट सिफारिसमा परेका छन् । उनी एकल रूपमा सिफारिस भएका छन् । ०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट २४ हजार ८९३ मतसहित निर्वाचित भएका थिए । आगामी निर्वाचनका लागि एकल सिफारिसमा परेपनि रावल आफैँ भने चुनाव लड्ने कि नलड्ने भन्ने निर्णयमा पुगिसकेका छैनन् । पार्टी केन्द्रबाट निर्णय भइसकेपछि मात्रै आफू निष्कर्षमा पुग्ने उनको भनाइ छ ।

“जिल्लाबाट निर्णय भयो । त्यो त प्रदेशमा आउँछ । केन्द्रमा आउँछ । अब ती सबै कुरा स्पष्ट नहुँदै अहिले नै यसो हुन्छ भन्ने कुरा त भएन् । त्यसपछि निश्चित बिन्दुमा पुग्छु,” उनले बाह्रखरीसँग भने ।

पार्टीका कमिटीमै नबस्ने, नेतृत्वको आलोचना गर्ने कुारले टिकटको समस्या हुन्छ भन्ने त हैन नि ? भन्ने प्रश्नमा उनी सत्य, न्यय र राष्ट्रका पक्षमा बोल्दा विपक्षी ठानियो भने आफूसँग त्यसको जवाफ नभएको बताए । 

“देशको पक्षमा बोल्दा, विधिको पक्षमा बोल्दा प्रतिपक्षी ठान्ने हो भने अब त्यसको जवाफ त के दिनु ?,” रावलले भने, “नभए म त पार्टीको नीति, विधि, पद्धति, कार्यक्रमको पक्षमा दृढतापूर्वक उभिएको छु । तर, राष्ट्रियतामाथि आँच पुर्‍याउने जस्तासुकै नीति हुन्, जस्कासुकै हुन्, त्यसलाई मैले त्यसो नगरौँ यसौ गरौँ भन्दै आएको छु, भनिरहन्छु । त्यसो गर्दा प्रतिपक्ष ठानिन्छ भने मलाई कुनै पनि चिन्ता छैन ।”

शाक्य  चुनाव नलड्ने 
उपाध्यक्ष अष्टलक्ष्मी शाक्य पनि चुनाव नलड्ने निष्कर्षमा पुगिसकेकी छन् । वाग्मती प्रदेशमा पूर्वमुख्यमन्त्रीसमेत बनेकी शाक्यले आफू चुनाव नलड्ने निष्कर्षमा पुगेको बताइन् । 

“म चुनाव नलड्ने पक्षमा छु । केही साथीहरूलाई म चुनाव लड्दिनँ भनेर भनिसकेको पनि छु,” शाक्यले बाह्रखरीसँग भनिन्, “पार्टी अध्यक्षसँग चाहिँ भेटेर कुरा गर्न बाँकी छ ।”

अब युवाहरूलाई अघि बढाउनुपर्ने उनको भनाइ छ । 

“म मन्त्री मुख्यमन्त्री भइसकेँ । अब नयाँलाई स्थान दिनुपर्छ । युवाहरूलाई अघि बढाउनुपर्छ भन्ने पक्षमा छु,” उनले बाह्रखरीसँग भनिन् ।  

अन्यौलमा ज्ञवालीे  
एमालेका उपाध्यक्ष युवराज ज्ञवाली प्रतिनिधिसभा निर्वाचनका लागि दाङ–३ बाट सिफारिस भएका छन् । तर, उनी चुनाव लड्ने कि नलड्ने भन्ने निचोडमा पुगिसकेका छैनन् । 

“मलाई दाङको क्षेत्र नम्बर–३ बाट सिफारिस गरिएको छ । तर, म के गर्ने भन्ने निष्कर्षमा पुगिसकेको छैन,” ज्ञवालीले बाह्रखरीसँग भने, “चुनाव लड्छु भने टिकट नपाउने त प्रश्न आउँदैन । आफैँ टुंगोमा नपुगेकाले हो । चुनाव लड्न पैसा पनि त चाहियो ।”

उनी अघिल्लोपटक पनि चुनाव महँगो भएको भन्दै नलड्ने बताएर समानुपातिकतर्फ बसेका थिए । तर, यसपटक एमालेले समानुपातिकमा नदोहोर्‍याउने नीति लिएको छ । 

“पहिल्यै एकपटक समानुपातिक भइसकेकाले समानुपातिक बस्ने कुरा नहोला,” उनले भने ।

चितवन–१ मा चुनावी तयारी गर्दै पाण्डे 
एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे चितवन क्षेत्रनम्बर–१ बाट उमेदवारमा सिफारिस भएका छन् । तर, उनी एकल ।रूपमा भने सिफारिस भएएका छैनन् । उनीसँगै नेता जगन्नाथ थपलिया पनि सिफारिस भएका छन् । अघिल्लो निर्वाचनमा उनी चितवन १ बाटै ५१ हजार ८० मत ल्याएर निर्वाचित भएका थिए । यसपटक उनी सोही क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन् । तर, माधव नेपालले पार्टी फुटाउने तयारी नहुँदै नेतृत्वविरुद्ध अभियान चलाएको भन्दै चितवन–१ मा उनी विरुद्ध कार्यकर्ताले नारा लगाएका थिए । 

भुसाल दुई ठाउँबाट सिफारिस 
स्थायी कमिटी सदस्यसमेत रहेका घनश्याम भुसाल प्रतिनिधिसभा निर्वाचनका लागि दुई क्षेत्रबाट सिफारिसमा परेका छन् । तर, उनी क्षेत्रीय कमिटीबाट एकल सिफारिसमा भने परेका छैनन् । 

रूपन्देही क्षेत्र नम्बर ३ बाट भुसालसहित चारजना सिफारिस भएका छन् । सो क्षेत्रबाट वासुदेव घिमिरे, यज्ञजित शाह र दुर्गा भुसाललाई पनि उमेदवार सिफारिस गरिएको छ । 

भुसालको घर क्षेत्र नम्बर १ मा पर्छ । त्यहाँबाट उनीसँगै एमाले सचिव छविलाल विश्वकर्मा पनि सिफारिस भएका छन् ।  उनी अघिल्लो चुनावमा पनि क्षेत्र नम्बर ३ बाटै निर्वाचित भएका थिए । 

ताप्लेजुङ १ को तयारीमा भट्टराई 
एमाले केन्द्रीय सचिव योगेश भट्टराई ताप्लेजुङ–१ बाटै चुनाव लड्ने तयारीमा छन् । उनी जिल्ला कमिटीबाट एकल सिफारिसमा पर्न भने सकेनन् ।

जिल्ला कमिटीले बुधबार उनीसँगै नेताहरू दिलकुमार मेनेङबो, पासाङ शेर्पा, टंक आङबुहाङ र राम सुवेदीलाई सिफारिस गरेको छ । सिफारिसमा परेका पासाङ र टंक भने पूर्वमाओवादी हुन् । 

भट्टराईले सोही निर्वाचन क्षेत्रबाट लड्नेगरी दाबी प्रस्तुत गरेको उनी निकट नेताहरू बताउँछन् । भट्टराई यसअघि ताप्लेजुङ–१ बाटै २९ हजार ४७९ मतसहित निर्वाचित भएका थिए । 

गुल्मी–२ बाटै लड्ने तयारीम बिस्ट 
एमालेका सचिव गोकर्ण बिस्ट गुल्मी क्षेत्र नम्बर २ बाट सिफारिसमा परेका छन् । ०७४ को निर्वाचनमा पनि क्षेत्र नम्बर २ बाट निर्वाचित भएका उनी भने एकल सिफारिसमा परेका छन् । उनी चुनावी तयारीमा जुटिसकेका छन् । 

सुनसरी–२ को तयारीमा आचार्य
प्रदेश नम्बर–१ मा सबैभन्दा छोटो कार्यकाल मुख्यमन्त्री भएका भीम आचार्य यसपटक प्रतिनिधिसभामा जाने तयारीमा छन् । उनी सुनसरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको उमेदवारका लागि सिफारिस भएका छन् । ०७४ सालको निर्वाचनमा सुनसरी प्रदेश सभा १ को 'ख'बाट निर्वाचित भएका उनी अहिले १ नम्बर क्षेत्रबाटै प्रतिनिधिसभा आउन चाहेका थिए । तर, २ नम्बर क्षेत्रका नेता कार्यकर्ताहरूको दबाबका कारण २ बाट सिफारिस भएको उनले बताए ।

“क्षेन नम्बर १ को तयारीमा थिएँ । क्षेत्र नम्बर २ का साथीहरूको आग्रहका कारण उता छाड्न तयार भए,” उनले बाह्रखरीसँग भने । 

एकल सिफारिसमा नपरेपनि आफू नै एमालेबाट त्यहाँको उमेदवार हुने उनको दाबी छ । 

के गर्लान् रघुजी ? 
एमालेका स्थायी कमिटी सदस्य रघुजी पन्त काठमाडौं–७ मा सिफारिस भएका छन् । उनी एकल सिफारिसमा भने परेका छैनन् । 

यो क्षेत्रबाट विद्यासुन्दर शाक्य, इन्दिरा पन्त, बीपी ढकाल र श्याम घिमिरे पनि सिफारिस भएका छन् । चुनावबारे अहिले आफू केही नबोल्ने उनले बताए । 

“अहिले केही बोल्दिनँ । पछि कुरा गरौँला,” पन्तले यतिमात्र भने । 

कुनै तयारी माछैनन बोहोरा 
एमाले नेता बोहोरा लामो समय माधव नेपाल पक्षमा थिए । पार्टी विभाजनमा हुँदा नेपालको साथ छोडेर एमालेमै बसेका उनी आसन्न चुनावका लागि कुनै तयारी गरेका छैनन् । एमाले सल्लाहकार परिषद्का अध्यक्षसमेत रहेका बोहोरा चुनाव लड्ने मनस्थितिमा नरहेको नेताहरू बताउँछन् । 

के '१० भाइ'लाई टिकट पाउन सकस छ ? 
पहिले नेपालसँग भएकाहरूलाई टिकट पाउन अफ्ठ्यारो हुने चर्चा पनि एमालेमा हुँदै आएको छ । तर, नेताहरू सार्वजनिक रूपमा भने दसौँ महाधिवेशन भएर छुट्टै ठाउँमा आसकेकाले अब त्यो अघिको पक्ष विपक्ष भन्नु आवश्यक नरहेको बताउँछन् । 

हुन त यी '१० भाइ' महाधिवेशनमा पनि सामूहिक रूपमा उभिएका होइनन् । कुनै नेतालाई नजिताउनु भनेर एमालेमा सर्कुलर जारी भएको थियो भने कतिपयलाई जिताउनका लागि । त्यसैले उनीहरूबीच साझा धारणा र साझा कार्यक्रम पनि छैनन् ।

एमाले उपाध्यक्ष ज्ञवाली टिकट पाउनै गाह्रो छ भन्ने कुरालाई अस्वीकार गर्छन् । 

“टिकट नपाउने त समस्या नै छैन । मेरो हकमा त मैले निर्णय गर्न मात्रै बाँकी हो,” ज्ञवालीले भने, “कसैलाई फरक व्यवहार छैन । पार्टीमा त्यस्तो कुनै समस्या छैन ।”

माधव पक्षमा पहिले रहेका नेता भीम आचार्य पनि टिकट पाउन अफ्ठ्यारो नरहेको बताउँछन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९  १८:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC