
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दलहरूले धमाधम उमेदवार सिफारिस गरिरहेका छन् । सत्तारूढ दलहरू आसन्न निर्वाचनका लागि गएको स्थानीय निर्वाचनमा पार्टीले पाएको मतको अंक गणित प्रस्तुत गर्दै सिटको दाबी गरिरहेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पनि आन्तरिक रूपमा मतको विश्लेषण गरिसकेको छ । एमालेले स्थानीय तहमा अन्य दलहरूभन्दा आफ्नो पार्टीले बढी मत रहेको निर्वाचन क्षेत्रमा सहजै जित्ने दाबी गरेको छ । उसले आन्तरिक रूपमा गरेको विश्लेषण अनुसार हामीले काठमाडौंको मत विश्लेषण प्रस्तुत गरेका छौँ ।
एमालेले काठमाडौं क्षेत्र नम्बर २, ४, ५, ९ मा सहजै जित हासिल गर्ने दाबी गरेको छ । जुन निर्वाचन क्षेत्रमा एमाले स्थानीय निर्वाचनको मतलाई हेर्दा पहिलो पार्टी देखिन्छ ।
त्यसैगरी निर्वाचन क्षेत्रहरू १, ६, ७, ८ मा कडा प्रतिष्पर्धा हुने एमालेको निष्कर्ष छ । ०७४ को निर्वाचनमा माओवादी केन्द्रसँग गठबन्धन गरेको दल एमालेले काठमाडौंको क्षेत्र नम्बर २, ३, ५, ७, ८, ९ गरी पाँचवटा निर्वाचन क्षेत्र जितेको थियो । त्यसमध्ये २ र ८ निर्वाचितहरू यतिबेला एकीकृत समाजवादीमा छन् ।
पाँच दलीय गठबन्धन एकातिर र एमाले अर्कोतिर भएका बेला हुन लागेको निर्वाचनबाट एमालेले जित्ने दाबी गरेपनि विरासत जोगाउन सक्ला त भन्ने प्रश्न पनि उठेको छ ।
यस्तो छ काठमाडौं निर्वाचन क्षेत्रहरूमा एमालेको हिसाबकिताब :
काठमाडौं–१
०७४ सालको निर्वाचनमा काठमाडौं १ कांग्रेस निर्वाचित भएको थियो । कांग्रेसका नेता प्रकाशमान सिंह १० हजार ९३६ मत ल्याएका थिए । उनका प्रतिद्वन्द्वी विवेकशील साझाका रवीन्द्र मिश्रले १० हजार ११८ मत पाएका थिए ।
यो निर्वाचन क्षेत्रलाई एमालेले कडा प्रतिष्पर्धा हुने क्षेत्रको रूपमा लिएको छ । स्थानीय तहको मत विश्लेषण गर्दा यहाँ एमालेले दोस्रो पार्टीको रूपमा रहेको छ । एमालेका वडाध्यक्षहरूले कुल ९ हजार ५४१ मत पाएका छन् । त्यस्तै कांग्रेसका उमेदवारले ९ हजार ८९५ मत पाएका छन् । माओवादी केन्द्रले एक हजार १५९ मत पाएको छ । जसपाको मत २६ मात्रै छ । यहाँ गठबन्धनमा रहेका दलहरूको कुल मत एक हजार १८० हुन आउँछ । एमाले भन्दा गठबन्धनसँग एक हजार ५३९ मत बढी छ । त्यस्तै यहाँ राप्रपाका एक हजार १५९ मत छ । लोसपाको ५६ मत छ ।
एमाले र राप्रपाबीच चुनावी तालमेलको सम्भावना छ । तालमेलका लागि छलफल जारी रहेको नेताहरू बताउँछन् ।
यहाँ राप्रपाले एमालेलाई सहयोग गरे पनि गठबन्धनसँग मत बढी हुन आउँछ ।
काठमाडौं–२
०७४ को निर्वाचनमा यो क्षेत्रमा एमाले विजयी भएको थियो । माओवादीसँगको गठबन्धनमा एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल निर्वाचित भएका थिए । नेपालले २७,३६६ मत पाउँदा कांग्रेसका दीपकप्रसाद कुँइकेलले १४ हजार ९०३ मत ल्याएका थिए ।
एमालेले यो निर्वाचन क्षेत्रलाई सहजै जित्ने क्षेत्रको रूपमा दाबी गरेको छ ।
स्थानीय निर्वाचनमको मत परिणाम हेर्दा एमालेले यो क्षेत्रमा १७ हजार ३२८ मत पाएको छ । त्यस्तै कांग्रेसले १४ हजार १२८, माओवादीले तीन हजार १३१, एकीकृत समाजवादीले ७ हजार ९११ र जसपाले १२९ मत पाएको छ । यसरी हेर्दा गठबन्धनसँग कुल २५ हजार २९९ मत हुन आउँछ । यो एमालेभन्दा ७ हजार ९७१ ले बढी हो ।
यो क्षेत्रमा राप्रपासँग २ हजार ७०० र लोसपासँग ८ मत छ । यदी एमालेलाई राप्रपाले सहयोग गरे पनि गठबन्धन नै बलियो देखिन्छ ।
काठमाडौं–३
अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्र एमालेले जितेको थियो । एमालेका कृष्ण राई १९ हजार १६९ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका अम्बिका सिग्देलले १४,८८४ मत ल्याएकी थिइन् ।
आसन्न निर्वाचनमा यो क्षेत्रमा कडा प्रतिष्पर्धा हुने हुने एमालेको आकलन छ । यहाँ एमालेका वडाध्यक्षका उमेदवारहरूले १४ हजार ८७६ मत छ ।
त्यस्तै कांग्रेसले १५ हजार ७९५, माओवादीले १ हजार ७३० मत, एकीकृत समाजवादीका वडाध्यक्षका उमेदवारले १० मत पाएका छन् । गठबन्धनमा रहेका यी दलहरूको कुल मत १७ हजार ५३५ हुन आउँछ । जुन एमालेको भन्दा दुई हजार ६५९ मत बढी हो । यहाँ राप्रपाका वडाध्यक्षले १ हजार ३१४ मत पाएका थिए । यहाँ एमालेले राप्रपाकै साथ पाए पनि गठबन्धन बलियो देखिन्छ ।
काठमाडौं–४
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा अघिल्लो निर्वाचनमा नेपाली कांग्रेस निर्वाचित भएको थियो । कांग्रेसका हालका महामन्त्री गगन थापा २५ हजार ५५८ मत ल्याएर निर्वाचित भएका हुन् । उनीसँग एमालेका राजन भट्टराई १८ हजार १४० मत ल्याएर पराजित भएका थिए ।
यो निर्वाचन क्षेत्रमा कडा प्रतिष्पर्धा हुने एमालेको आकलन छ ।
स्थानीय तहको हेर्दा यहाँ एमालेले १६ हजार ५०७ मत पाएको छ । त्यस्तै कांग्रेसले १५ हजार ७६३, माओवादीले ८८४ मत पाएको थियो । एकीकृत समाजवादीले २ हजार ४१४, जसपाले ३१७ मत प्राप्त गरेको निर्वाचन आयोगको नतिजाले देखाउँछ ।
यसरी हेर्दा यहाँ गठबन्धनसँग १९ हजार ३३८ मत हुन आउँछ । जुन एमालेभन्दा २ हजार ८३१ मतबढी हो । त्यस्तै राप्रपाले २ हजार २९३ र लोसपाले २९ मत पाएको छ ।
काठमाडौं–५
काठमाडौं क्षेत्र नम्बर ५ मा ०७४ को निर्वाचनमा एमाले विजयी भएको थियो । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल निर्वाचित २३ हजार २९ मतसहित निर्वाचित भएका थिए ।
यो निर्वाचन क्षेत्रलाई एमालेले सहजै जित हुने क्षेत्रको रूपमा दाबी गरेको छ । यहाँ स्थानीय निर्वाचनमा एमालेको मत गठबन्धनको भन्दा बढी छ । काठमाडौंमा गठबन्धन भन्दा धेरै मत रहेको क्षेत्र यो मात्रै हो ।
यो निर्वाचन क्षेत्रमा स्थानीय निर्वाचनमा एमालेले १९ हजार ७०३ मत पाएको छ ।
यस्तै कांग्रेसले १४ हजार ८५३, माओवादीले १ हजार १६८ मत पाएको आयोगको नतिजाले देखाउँछ । त्यस्तै एकीकृत समाजवादीले १ हजार ८२७, जसपासँग ३५ मत छ । यहाँ गठबन्धनसँग १७ हजार ८८३ मत हुन आउँछ । जुन एमालेको भन्दा १ हजार ८२० मत कम हो ।
यहाँ राप्रपाले वडा तहमा २ हजार ८२२ पाएको छ । राप्रपाले एमालेलाई मत दिएमा एमालेसँग गठबन्धन भन्दा ४ हजार ६४२ मत बढी हुन आउँछ ।
एमालेले आगामी चुनावमा काठमाडौंमा जित हुने क्षेत्रको रूपमा आश गरेको छ । एमालेको आन्तरिक मत विश्लेषण सुनाउँदै एक नेता ५ मा भने जित सुनिश्चित रहेको दाबी गर्छ ।
“क्षेत्र नम्बर २, ४ र ९ मा अरू पार्टीको तुलनामा हाम्रो पार्टीको बढी मत रहेको क्षेत्र हो । काठमाडौं ५ मा गठबन्धन भन्दा धेरै मत देखिन्छ । त्यसैले गठबन्धन हुँदा पनि जित्ने क्षेत्र भनेको काठमाडौं ५ हो । यो एमालेले आश गरेको क्षेत्र हो,” ती नेताले बाह्रखरीसँग भने ।
काठमाडौं–६
अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा यहाँ कांग्रेसका भीमसेनदास प्रधान १६ हजार ७८५ मतसहित निर्वाचित भएका थिए । उनका प्रतिष्पधी माओवादीका झक्कुप्रसाद सुवेदीले १५ हजार ४८५ मत ल्याएका थिए । सुवेदी एमाले र माओवादी गठबन्धनका उमेदवार थिए ।
मंसिर ४ को निर्वाचनमा यो क्षेत्रमा कडा प्रतिष्पर्धा हुने विश्लेषण छ ।
स्थानीय चुनावको नतिजा हेर्दा काठमाडौं ६ मा एमालेका वडाध्यक्षका उमेदवारहरूले १४ हजार ३०३ मत ल्याएका थिए । त्यसैगरी नेपाली कांग्रेसले १७ हजार २७७, माओवादीले २ हजार ४६२ मत पाएको छ । एकीकृत समाजवादीका वडाध्यक्षले १ हजार ८५९ मत पाए ।
यसरी हेर्दा यो निर्वाचन क्षेत्रमा गठबन्धन दलसँग कुल २१ हजार ५९८ मत हुन आउँछ । एमालेभन्दा गठबन्धन दलसँग ७ हजार २९५ मत बढी देखिन्छ ।
यहाँ राप्रपाका वडाध्यक्षले १ हजार ८१६ मत ल्याएका छन् । राप्रपाले एमालेलाई साथ दिएमा पनि एमाले मतका हिसाबले कमजोर देखिन्छ ।
काठमाडौं–७
०७४ को प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्रमा एमालेका रामवीर मानन्धर १८ हजार १०२ मतसहित निर्वाचित भएका थिए । उनका प्रतिष्पर्धी राप्रपाका विक्रमबहादुर थापाले १० हजार ७९ मत ल्याएका थिए ।
स्थानीय निर्वाचनको मतलाई हेर्दा यसपटक कडा प्रतिष्पर्धा हु्ने क्षेत्रको रूपमा एमालेले लिएको छ ।
यो निर्वाचन क्षेत्रमा एमालेका वडाध्यक्षहरूले १२ हजार २०२ मत ल्याए । गठबन्धनमा रहेका दल कांग्रेसले १४ हजार १६७, माओवादी ५७६ र एकीकृत समाजवादीका वडाध्यक्षले ३८ मत पाएका थिए । त्यस्तै जसपाका वडाध्यक्षले १९८ मत पाएका थिए ।
यसरी हेर्दा गठबन्धनसँग कुल १४ हजार ९७९ मत हुन आउँछ । यहाँ राप्रपाको वडाध्यक्षले २ हजार २७ मत ल्याएका छन् । यहाँ राप्रपाले एमालेलाई सहयोग गरेको खण्डमा पनि एमालेसँग १४,२०२ मत हुन आउँछ । त्यसो भएमा गठबन्धनसँग ७५० मत बढी देखिन्छ ।
काठमाडौं–८
अघिल्लो निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ मा एमाले निर्वाचित भएको थियो । एमालेबाट जीवनराम श्रेष्ठ १३ हजार ३९७ मतसहित निर्वाचित भएका थिए । उनका प्रतिष्पर्धी कांग्रेसका नविन्द्रराज जोशीले १२ हजार ९५३ मत पाएका थिए ।
यतिबेला श्रेष्ठ एकीकृत समाजवादीमा छन् । यो निर्वाचन क्षेत्रमा कडा प्रतिष्पर्धा हुने एमालेको आकलन छ । यो निर्वाचन क्षेत्रमा एमालेका वडाध्यक्षका उमेदवारले ९ हजार २३५ मत पाएका छन् ।
त्यस्तै कांग्रेसले १० हजार ८७२, माओवादीले १८९, एकीकृत समाजवादीले ५ हजार १४२ र जसपाले ९७ मत पाएको छ । स्थानीय चुुनावको मत हेर्दा गठबन्धनले १६ हजार ३०० मत छ । जुन एमालेको मत भन्दा ७ हजार ६५ मत बढी हो ।
यो निर्वाचन क्षेत्रमा राप्रपासँग ३ हजार १६० मत छ । त्यस्तै लोसपाका उमेदवारले ११ मत पाएका थिए ।
काठमाडौं–९
काठमाडौं क्षेत्र नम्बर ९ मा अघिल्लो निर्वाचनमा एमाले निर्वाचित भएको थियो । नेता कृष्णगोपाल श्रेष्ठ २२ हजार ८ ५२ मतसहित निर्वाचित भएका थिए । उनका प्रतिष्पर्धी कांग्रेसका ध्यान गोविन्द रञ्जितले १४ हजार ८०२ मत ल्याएका थिए ।
स्थानीय निर्वाचनको परिणाम अनुसार यो निर्वाचन क्षेत्रमा एमालेबाट निर्वाचित वडाध्यक्षहरूले १९ हजार २ सय ८२ मत पाएका थिए ।
कांग्रेसले १९ हजार ९१६, माओवादीले ६९५, एकीकृत समाजवादीले ४६५ र जसपाका वडाध्यक्षले ९२ मत पाएका छन् । जुन हिसाब गर्दा गठबन्धनसँग २१ हजार १६८ मत छ ।
गठबन्धनसँग एमालेभन्दा १ हजार ८८६ मत बढी छ । यहाँ राप्रपासँग २ हजार ४०१ मत छ । एमाले र राप्रपाबीच तालमेल त्यसको मत गठबन्धनभन्दा बढी हुन आउँछ ।
काठमाडौं–१०
निर्वाचन क्षेत्र नम्बर १० मा ०७४ को प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस निर्वाचित भएको थिए । कांग्रेसका राजन केसी २४ हजार १९० मतसहित निर्वाचित भएका थिए । उनका प्रतिष्पर्धी माओवादी केन्द्रका हितमान शाक्यले २१ हजार ९०७ मत ल्याएका थिए ।
स्थानीय तहको निर्वाचनमा एमालेले १८ हजार ८३८ मत पाएको छ ।
त्यस्तै गठबन्धनमा रहेका दल कांग्रेसको मत २४ हजार ६७५, माओवादले ४,९४२ मत पाएको छ । त्यस्तै एकीकृत समाजवादीसँग १ हजार ३४२ , जसपासँग २५४ मत छ ।
यहाँ गठबन्धनको मत हिसाब गर्दा ३१ हजार ४६७ मत छ । यो एमालेभन्दा १२ हजार ६२९ मत बढी हो । यहाँ राप्रपासँग २ हजार ४९६ मत छ ।