
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बयान लिइँदै छ । बुधबार समितिले ४३ प्रश्न बनाएर जबरासँग जवाफ मागेको हो ।
नेपाली कांग्रेसका सचेतक मीन विश्वकर्माले समयमा नै बैठकमा उपस्थित भएर जबराले प्रश्न स्वीकार गरेको जानकारी दिए । सिंहदरबारस्थित संसदीय समितिको सभाकक्षमा उनीसित बयान लिइँदै छ ।
विश्वकर्माका अनुसार जबरालाई पारिवारिक, नातागोताका सम्बन्ध, प्रधानन्यायाधीश भएपछि गरेका कामका बारेमा प्रश्न सोधिएको छ । उनले आफूविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय भइसक्नुपर्ने भन्दै विरोधाभाषपूर्ण अभिव्यक्ति दिएको विश्वकर्माले बताए ।
“उहाँले दुईवटा कुरा गर्नुभयो, महाअभियोग प्रस्ताव निष्क्रिय भएको हुनुपर्ने भन्नुभएको छ । एउटा सदनले टुंग्याउनुपर्ने भन्नुभएको छ । सदन टुंगिएको पनि छैन,” समिति सदस्य उनले भने, “बोल्ने सिलसिलामा उहाँले लामो समय भयो, निष्कृय हुनुपर्थ्यो, तथापि म संसद्को सम्मानमा आएको छु भनेर आफैँले विरोधाभाषपूर्ण अभिव्यक्ति दिनुभएको छ ।”