बुटवल । लुम्बिनी विकास कोषले गठन गरेको विद्युतीय गाडी सञ्चालन कार्यदलले तोकिएको समयमै प्रतिवेदन र कार्यविधि बुझाएको छ । कार्यदलका संयोजक एंव लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भटराई (सिद्धिचरण)सहितको टोलीले आइतबार कोषका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई विद्युतीय बस सञ्चालनसम्बन्धी प्रतिवेदन र सञ्चालन मस्यौदा कार्यविधि बुझाएको हो ।
तीन वर्षदेखि लुम्बिनी विकास कोषलाई एसियाली विकास बैंकबाट सहयोगमा प्राप्त बिद्युतीय बस कार्यविधिको अभावमा सञ्चालनमा आउन नसकेपछि कोषाध्यक्ष भटराईको संयोजकत्वमा विश्वराज पौडेल र राजे शाक्य रहेको तीन सदस्यीय टोली गठन गरिएको थियो ।
लुम्बिनी विकास कोषको जेठ १९ गते बसेको बैठकले तोकेको समयभित्र कार्यदलले प्रतिवेदन र कार्यविधि निर्माण गरी पेस गरेको संयोजक एंव कोषका कोषाध्यक्ष भट्टराईले बताए ।
मन्त्री श्रेष्ठलाई अध्ययन प्रतिवेदन, कार्ययोजना, आर्थिक प्रक्षेपण, अत्यावश्यक सिफारिसहरू र कार्यविधि मस्यौदासहितको दुईवटा दस्ताबेज बुझाइएको संयोजक भट्टराईले जानकारी दिए । प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले प्रतिवेदन अध्ययन गरी छिट्टै कोषको बैठक बसेर निर्णय गरी विद्युतीय बस तथा ई–भ्यान सञ्चालनमा ल्याउने बताए ।
कार्यविधि कार्यान्वयनमा आए लुम्बिनीमा अनुदानमा प्राप्त भएका विद्युतीय बस र भ्यान सञ्चालनमा आउनेछन् ।
प्रतिवेदनमा विद्युतीय सार्वजनिक यातायातको भाडादर, भ्यानहरूको बुकिङ प्रणाली र भाडादर कायम गर्न प्रस्ताव गरिएको कोषाध्यक्ष एंव संयोजक भट्टराईले बताए । उनका अनुसार प्रस्ताव गरिएको भाडादर यातायात व्यवस्था विभागले तोकेको प्रतिकिलोमिटर भाडा भन्दा केही प्रतिशत सस्तो हुनेछ । बस तथा भ्यानहरूको अग्रिम र नियमित बुकिङलाई डिजिटलाइज्ड गर्नुपर्नेसमेत प्रतिवेदनमा भनिएको छ ।
प्रस्तावमा लुम्बिनी विकास कोषको यो कार्यक्रमको ब्रान्ड नाम 'धम्म यात्रा' राखिएको छ ।
धम्म यात्राले बृहत्तर लुम्बिनी क्षेत्र हुँदै दैनिक लुम्बिनी र एयरपोर्ट जोड्ने रुट अनुमतिको प्रस्ताव गरेको छ । प्रतिवेदनले इकाइ गठनसँगै स्टाफहरू चालकहरू करार गर्ने प्रस्ताव गरेको छ भने तीन चरणका कार्ययोजना अघि सारेको छ ।
जसमा अफिसियल परीक्षण ५ दिन, घटस्थापनाबाट परीक्षण सञ्चालन दुई महिनासम्म र त्यसपछि औपचारिक सञ्चालन गरी तीनवटा चरण प्रस्ताव गरेको छ ।
कोषलाई प्राप्त पाँचवटा बस र १४ भ्यानहरू १२ करोड बढी लागतका हुन् भने यसलाई चार्जिङ स्टेसन निर्माण गर्न झण्डै १४ करोड रुपैयाँको लागतमा सौर्य ऊर्जा केन्द्र निर्माण भएको छ । ६ भागमा बाँडिएको अध्ययन प्रतिवेदन ५६ पृष्ठको छ । कार्यविधि १२ पृष्ठको छ । प्रतिवेदनमा अध्ययनका कानुनी, प्राविधिक र आर्थिक पक्षको विश्लेषण, सञ्चालन मोडालिटी, बस र भ्यानहरूको रुट व्यवस्थापन, सञ्चालन कार्ययोजना, अनुमानित आयव्यय प्रक्षेपणसहित अनुसूचीमा प्रतिवेदनमा प्रस्तुत गरेका दाबीहरूको प्रमाण राखिएको संयोजक भट्टराईले बताए ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट लुम्बिनी र बृहत्तर लुम्बिनी क्षेत्रमा जाने पर्यटकहरूलाई सुविधा होस् भनेर अनुदानमा प्राप्त बस तथा भ्यानहरू एसियाली क्लिन इनर्जी फन्डको सहयोगमा वातावरणमैत्री तथा वैकल्पिक ऊर्जाको प्रयोगलाई बढाउने अभिप्रायले आएको हो ।
कार्यदलले आइतबार नै नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालयमा प्राधिकरणका वैकल्पिक ऊर्जा विभाग, विद्युतीय बस तथा भ्यान सप्लायर कम्पनी सिमेक्स प्रालि, सौर्य ऊर्जा केन्द्र निर्माण कम्पनि इशाकासँग घटस्थापना अघि नै प्राविधिपक्ष चुस्त बनाउन प्रतिवद्धता लिएको छ ।