site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘दल अदलबदलको जिल्ला’ कपिलवस्तुमा यस्तो छ चुनावी रौनक

बुटवल । लुम्बिनी प्रदेशमा सबै भन्दा धेरै दल अदलबदल गर्ने नेताहरूको जिल्लाको रूपमा परिचित बन्न लागेको कपिलवस्तुमा मंसिर ४ मा हुने निर्वाचनको रौनक सुरु भएको छ । प्रतिनिधि सभाको तीन र प्रदेश सभाको छ निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा उमेदवार बन्न केन्द्रीय स्तरका नेताहरूलाई नै समस्या पर्ने देखिएको छ ।  

पूर्वमन्त्री नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्याय, माओवादी केन्द्रका सचिव चक्रपाणि खनाल (बलदेव), कांग्रेस प्रदेश महामन्त्री सुरेन्द्र आचार्य, नेकपा एमालेका हृदयेश त्रिपाठी, बलराम अधिकारीको गृह जिल्ला कपिलवस्तुको निर्वाचनलाई निकै रौनकताका साथ हेरिएको छ ।

क्षेत्र नम्बर १ मा उपाध्याय, खनाललाई टक्कर दिन को आउला ?

क्षेत्र नम्बर १ नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्याय, अतहर कमाल, माओवादी केन्द्रका चक्रपाणि खनाल (बलदेव), नेकपा एमालेका प्रदेश सांसद विष्णु पन्थी तथा पूर्वसांसद बलराम अधिकारीको निर्वाचन क्षेत्र हो । 

यहाँ नेकपा एमालेको उमेदवार को बन्छ भन्दा पनि गठबन्धनको उमेदवार को बन्ने विषय निकै रोचक देखिन्छ । 

०४८ सालदेखि लगातार चुनावी मैदानमा उत्रिएर पटक–पटक जित निकालेका उपाध्यायले आफ्नो क्षेत्र परिवर्तन गर्ने या के गर्ने भन्नेमा आफ्नो धारणा राखेका छैनन् । गठबन्धनबाट माओवादीका सचिव खनाल मैदानमा जाने हुँदा उनलाई केही समस्या सिर्जना भएको छ । 

गठबन्धनका दलहरूबिच जितेका ठाउँ नछाड्ने सहमतिको आधारमा यो स्थान माओवादीले पाउने जिल्ला स्तरीय नेताहरू बताउँछन् । अघिल्लो निर्वाचनमा खनालले उपाध्यायलाई पराजित गरेका थिए । यता कांग्रेसका कमाल पनि दाबेदारको रूपमा भित्रि कसरत थालेका छन् । 

एमालेबाट लुम्बिनी प्रदेशका सार्वजनिक लेखा समिति सभापति विष्णु पन्थी तथा पूर्वसांसद बलराम अधिकारीमध्ये एकजनाले उमेदवारी दिने एमाले स्रोतले जनाएको छ । 

०७४ सालमा  क्षेत्र नम्बर १ मा माओवादीका खनालले २९ हजार ६ सय ९३ मत पाएका थिए भने नेपाली कांग्रेसका दीपकुमार उपाध्यायले २८ हजार ७ सय ४७ मत ल्याएका थिए । 

हालको स्थानीय निर्वाचनमा वडा अध्यक्षहरूले पाएको मतका आधारमा हेर्दा यहाँ अहिले नेपाली कांग्रेस अगाडि छ । कांग्रेसका वडा अध्यक्षहरूले २८,२७१ मत पाएका छन् भने एमाले वडाअध्यक्षहरूले २६,८२३ पाएका छन् । 

यस्तै, जसपा १३,५१०, माओवादी केन्द्र ९,३३८, एस ३,७२२, लोसपा ३,४२४, राप्रपा २,४८० मत पाउन सफल भएका छन् । 

माओवादी केन्द्र र नेपाली कांग्रेससहित स्थानीय मत हेर्दा एमालेका उमेदवारलाई जित्न सकस पर्ने देखिन्छ ।
    
क्षेत्र नम्बर २ मा आचार्य र गुप्ताबीच मुख्य प्रतिस्पर्धा

पाँच दलीय गठबन्धन मिलेर चुनावी मैदानमा जाँदा क्षेत्रहरू विभाजन गर्नुपर्ने अवस्थामा छ । गठबन्धनभित्र क्षेत्र नम्बर १ माओवादीलाई पर्ने निश्चित जस्तै छ । क्षेत्र नम्बर २ र ३ नेपाली कांग्रेस उमेदवारहरूले पाउने देखिन्छ ।

यस क्षेत्रमा नेपाली कांग्रेसबाट सुरेन्द्र आचार्यले टिकट पाउने सम्भावना बढी छ । अघिल्लो निर्वाचनमा पराजय भोगेपनि कांग्रेस प्रदेश महामन्त्री समेत रहेका आचार्य गठबन्धनबाट बलियो उमेदवार हुनेछन् । यता एमालेले भने वृजेशकुमार गुप्तालाई मैदानमा ल्याउँदैछ ।

०७४ सालमा हृदयेश त्रिपाठीको स्वतन्त्र राजनीतिक समूहमा रहेर पनि सूर्य चिह्न लिएर चुनाव जितेका उनी अहिले एमालेमा प्रवेश गरेका छन् । पटक–पटक यहाँ जितेका गुप्तालाई एमालेले टिकट दिने निश्चित जस्तै रहेको जिल्ला स्तरीय नेताहरू बताउँछन् । 

०७४ सालमा हृदयेश त्रिपाठीको स्वतन्त्र राजनीति समूहमा रहेर पनि सूर्य चिह्न लिएर चुनाव लडेका बृजेश कुमार गुप्ताले ३५ हजार १ सय २७ मतका साथ विजयी हुँदा नेपाली काँग्रेसका सुरेन्द्र राज आचार्यले ३१ हजार ५ सय ६६ मत ल्याएका थिए ।

यहाँ अहिले स्थानीय चुनावमा वडा अध्यक्षहरूले पाएको मतका आधारमा नेपाली काँग्रेस नै अगाडि देखिन्छ । कांग्रेसका वडा अध्यक्षहरूले ३०,९९८ मत पाएका छन् भने एमालेका वडा अध्यक्षहरूको २७,२९८ मत छ । यस्तै, जसपा ६,९०८, लोसपा ६,३८६, माओवादी ४,४५९, राप्रपा २,०३५, एकीकृत समाजवादीले ६९१ मत पाएका छन् । 

क्षेत्र नम्बर ३ मा गठबन्धनमा सकस, एमालेबाट गुप्ताको सम्भावना

केन्द्रीय स्तरका नेताहरू धेरै हुँदा गठबन्धनलाई उमेदवार टुंगो लगाउन निकै समस्या हुने गरेको छ । कपिलबस्तु ३ मा कांग्रेसका नेता अभिषेक प्रताप साह र कांग्रेसका लुम्बिनी  प्रदेश संसदीय दलका नेता वीरेन्द्र कनोडिया दुवैले प्रतिनिधि सभामा आकांक्षा व्यक्त गरेका छन् । 

यद्यपि, साहलाई टिकट ल्याउन सहज छ । साहले ०७४ सालमा तत्कालीन संघीय समाजवादी फोरम हाल जसपाका मङ्गलप्रसाद गुप्तालाई पराजित गरेका थिए । 

मङ्गल गुप्ता यतिबेला नेकपा एमालेमा छन् । यो पटक यहाँबाट एमालेका उमेदवार नै उनी हुन् । हाल एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य समेत रहेका गुप्तालाई पार्टीले चुनावी मैदानमा अगाडि सार्ने सम्भावना रहेको जिल्लास्तरीय नेताहरू बताउँछन् । यहाँ साह र गुप्ताबिच नै प्रतिस्पर्धा हुने सम्भावना धेरै रहेको छ । 

स्थानीय तहमा आएको मतमा यहाँ एमाले अगाडि छ । एमालेका वडा अध्यक्षहरूले १८,७४७ मत पाएका छन् । कांग्रेसका वडा अध्यक्षहरूले १५,७७० मत पाएका छन् । यस्तै, जसपा ९,९७४, माओवादी ६,८४४, राप्रपा ६,०७४, लोसपा ४६७५, एकीकृत समाजवादीको १,९८६ मत रहेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९  १०:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
सरकारले तत्काल सम्बोधन गरोस् !
सरकारले तत्काल सम्बोधन गरोस् !
Hamro patroHamro patro