site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले विभाजन गरेपछिको माधव नेपालको एक वर्ष कस्तो रह्यो ?
तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी
Tiktok banner adTiktok banner ad

काठमाडौं । “हाम्रो विरोधीको रूपमा देखिएका ओली गुट । ओली नेतृत्वको एमाले गुट अहिले पनि हामीसँगै आत्तिएको छ, ज्यादा । हामीले बुझिरहेका छौँ । गठबन्धनभित्र पनि हाम्रो दल आफ्नो किसिमको महत्त्व छ । अझै यो महत्त्व कहिले बढ्छ भने जब हामीले शक्ति आर्जन गर्छौं ।”

यो बिहीबार एमालेबाट विभाजन गरेर पार्टी दर्ताको प्रमाणपत्र पाएको वर्ष दिन पुगेको अवसरमा आयोजित कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गरेको भाषणको अंश हो ।

आफ्नो पार्टीको अस्तित्व सम्झाउँदै अभिव्यक्ति दिएका उनले आफ्नो पार्टीलाई सानो नसम्झन चेतावनीसमेत दिए । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहमा पाएको मतले पार्टीलाई अवमूल्यन गर्न नसकिने अवस्थामा रहेको उनको भनाइ थियो । 

“९ लाख २७ हजार जनताको समर्थन पाएको पार्टीलाई पाएको पार्टीलाई अवमूल्यन गर्न खोज्छन् भने त्यसलाई बेवास्था गर्न खोज्छ भने त्यसले ख्याल गरोस् हामी मूकदर्शक भएर बस्ने पार्टी होइन,” उनले चेतावनी दिए । साथै आगामी निर्वाचनमा आफूहरूलाई १५–२० सिट ल्याउन कसैले रोक्न नसक्ने समेत दाबी गरे । 

मुलतः २०७८ असार २८ मा दोस्रोपटक प्रतिनिधिसभा पुन:स्थापना गर्दै कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश दिएपछि एमाले विभाजित भएको थियो । 

त्यसअघि पनि राजनीतिक रूपमा विभक्त भएको थियो । ०७८ भदौ २ गते दर्ता निवेदन दिएको पार्टीलाई निर्वाचन आयोगले भदौ ९ गते दल दर्ताको प्रमाणपत्र थमाएको थियो ।

पार्टीका सम्मानित नेता झलनाथ खनालले भनेझैँ पार्टी विभाजनको वर्ष दिनमा राजनीतिक उथलपुथल भने भए ।

विभाजनपछि एमालेले संघीय सरकारमात्र गुमाएन प्रदेश १ र वाग्मती प्रदेश सरकार पनि गुमायो । ती दुवै प्रदेशमा अहिले एकीकृत समाजवादीले नेतृत्व गरिरहेको छ । लुम्बिनी प्रदेश र गण्डकीमा पनि एमाले विपक्षी बन्न पुग्यो ।

पार्टी पुनर्गठनको एक वर्षमा पुग्दा खनालले ठुला चुनौतीहरू रहेको ठम्याएका छन् । 

“हामीले पार्टी पुनर्गठनको उथलपुथल पूर्ण र प्रगतिको प्रथम वर्ष पार गरेका छौँ । हाम्रासामु ठुल्ठुला चुनौतीहरू पनि छन् र विराट सम्भावनाहरू पनि अगाडि छन्,” उनले समीक्षा सुनाउँदै भने, “हामीले चुनौतीहरूका तालुमा टेक्दै अग्रगतिका विराट सम्भावनाहरूलाई साकार पार्न दृढ कदमका साथ अघि बढ्नुपर्छ ।”

कस्तो बन्यो पार्टी ? 
सत्ताबाट बाहिर पुर्‍याएपछि एमालेले लामो समय एकीकृत समाजवादीलाई पार्टीको मान्यता दिनै इन्कार गर्‍यो । नेपालसहितका १४ सांसदलाई कारबाही गर्न माग गर्दै प्रतिनिधिसभा अवरोध गर्‍यो । तर, स्थानीय तहको चुनावबाट नै दलको रूपमा जनताबाट अनुमोदन भएपछि भने एमालेले अवरोध हटायो । 

पार्टी विभाजनपछिको एकवर्षमा गठबधनम रहँदा एकीकृत समाजवादीको तर्फबाट संघीय सरकारमा चार मन्त्री र एक राज्यमन्त्री छन् । यस्तै प्रदेश १ र वाग्मती प्रदेशमा मुख्यमन्त्रीसहित प्रदेश सरकारहरूमा एकीकृत समाजवादीको प्रतिनिधित्व छ । प्रदेश १ मा राजेन्द्र राई र वाग्मतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्री छन् । 

एकीकृत समाजवादीका प्रतिनिधिसभामा २३ सांसद छन् । राष्ट्रिय सभामा ८ सांसद छन् ।

प्रदेश १ मा १०, मधेसमा १३, वाग्मतीमा १३, लुम्बिनीमा एक, कर्णालीमा ३ र सुदूरपश्चिममा १४ गरी प्रदेश सभामा ५४ सांसद छन् ।  सुदूरपश्चिममा प्रदेश सभाकै ठुलो पार्टीसमेत बनेको छ । 

गठबन्धनमा आबद्ध भएर उक्त पार्टीले वैशाख ३० मा स्थानीय चुनावमा भाग लियो । महानगरपालिका प्रमुख एक, उपमहानगरपालिका प्रमुख एक, नगरपालिका प्रमुख १०, गाउँपालिका अध्यक्ष ८, नगरपालिका उपप्रमुख ११, गाउँपालिका उपाध्यक्ष १२, वडाध्यक्ष १९०, महिला सदस्य १८४, दलित महिला सदस्य १८० र खुला सदस्य ३८९ गरी जम्मा ९८६ स्थानमा प्रतिनिधित्व रहेको छ ।

ज्ञवाली भन्छन्– विभाजनको औचित्य पुष्टि हुँदैन 
माधव नेपाल एमालेमा रहँदा उनकै पक्षमा रहेका धेरै नेताहरूले साथ दिएनन् । तिनैमध्ये एक थिए, युवराज ज्ञवाली । एमाले उपाध्यक्ष ज्ञवाली विभाजनको औचित्य पुष्टि हुने देख्दैनन् । नेपालले पार्टी विभाजन गर्नु इतिहासकै भुल भएको उनको  ठम्याइ छ । 

“ऐतिहासिक भुल गरेको एक वर्ष भयो । त्यसले नकारात्मक परिणाम दिएकै छ । समाजवादलाई जिताउने कि पुँजीवादलाई जिताउने भन्ने हो । कांग्रेसलाई जिताएर समाजवाद आउँदैन भन्ने ठिकसँग बुझ्न जरुरी छ । यसलाई गम्भीर रूपमा आत्मसमीक्षा गर्नुपर्छ । फुट औचित्यपूर्ण छैन । उहाँहरूले पार्टी विभाजन गतल थियो भन्ने भविष्यले पुष्टि गर्छ,” ज्ञवालीले भने ।

पहिले वामदेव गौतमले पार्टी विभाजन गर्दा गलत भन्ने नेपालले पार्टी विभाजन गरेर गलत गरेको उनी बताउँछन् । 

“उहाँको पार्टी विभाजन गरेको जति पुगोस् । उहाँहरूले गरेको काम अत्यन्त गलत छ । चुनौतीपूर्ण छ । घटनाक्रमले त्यो पुष्टि गर्दै आएको छ । पार्टीभित्र विवाद हुन्छ । तर त्यो पार्टीभित्रै हल गर्नुपर्छ । हिजो माधव नेपाल १५ वर्ष महासचिव हुँदा विवाद थियो, छलफल, बहस थियो,” ज्ञवाली भन्छन्, “वामदेवले महाकाली सन्धिलाई आधार बनाएर पार्टी विभाजन गर्नुभयो । माधव नेपालले पार्टी विभाजन गतल हो भन्नुभयो हामीले भन्यौँ । महाकालीको सन्धि उठाएर हिजो विभाजन गर्नु गलत हो भन्ने कुरा जेएन, माधव कमरेडलाई लागेको थियो । अहिले पनि नेतृत्वसित फरक मत भयो भन्दैमा पार्टी फुटाएर हिँड्नु गलत हो ।”

फेरि माओवादीसँग एकता भएर कम्युनिस्ट पार्टीको सरकार बन्ने सम्भावना सम्झाँउदा पनि नेपालले विभाजन गरेको उनको गुनासो छ। 

“संसद् विघटन भयो त फेरि पुन:स्थापना भइसक्यो नि । स्थानीय तहको त चुनाव नै भइसक्यो । संसद् विघटनलाई आधार मानेर विगतमा भएको घटनालाई आधार बनाएर अलग पार्टी बनाउनु गलत भएको छ । यसले नेपालको राजनीतिमा गम्भीर नकारात्मक प्रभाव परेको छ,” ज्ञवालीले बाह्रखरीसँग भने, “एमालेमात्रै विभाजन भएको छैन । विभाजित नभएको भए आज एमाले र माओवादी तालमेल सहजै हुन्छ भनेर हामीले हिजै विश्लेषण गरेको हो । उहाँलाई त्यो कुरा सम्झाएको हो । क्षणिकको तिक्ताले विभाजन भएको छ । ”

विश्लेषक भन्छन्– आँट सकारात्मक थियो, अनुहार देखिएन 
विश्लेषक नारायण ढकाल नेपालले पार्टी विभाजन गरेर संविधान च्यात्ने अवस्थामा पूर्णविराम लागेको बताउँछन् । त्यतिबेलाको बाध्यात्मक अवस्थामा नेपालले पार्टी विभाजन गरेको उनको भनाइ छ । 

“एमाले, एमालेभित्रको नेतृत्वको केन्द्रीकरणको टुप्पोमा ओलीजी । समस्या त त्यहाँबाट सुरु भएको हो । संविधानलाई दुईपटक च्यात्न खोज्नुभएको थियो । जुन ढंगले पार्टी, संगठन दुवैको हिसाबले पुनर्गठनको मुद्दामा जानुपर्ने तुलनामा माधव नेपालजीलाई के गर्नुभयो त भन्ने प्रश्न गर्न सकिएला,” उनी भन्छन्, “त्यो त इतिहासको बाध्यता भयो उहाँहरूलाई । संविधान च्यात्नेका विरुद्ध उहाँहरू सडकमा आइसक्नुभएको थियो । यथास्थितिमै भएपनि संविधान जोगियोस् भन्ने स्थितिले माधव नेपालजी आउनुभयो ।”

एमाले विभाजनको उद्देश्य सकारात्मक भएपनि राजनीतिक चरित्र भने नदेखिएको ढकालको विश्लेषण छ । 

“जे उद्देश्यसँग पुनर्गठन गर्न खोजेको थियो त्यो चाहिँ भएन । मुलत: समस्या भनेको यसको राजनीतिक चरित्र क्लियर भएन ।  तथापि यसले यसले लोकतान्त्रिक विचलनमाथि जुन हस्तक्षेप गर्न यसले आँट गरेको थियो,” उनको विश्लेषण छ, “यसले जुन ढंगले संगठनमा हस्तक्षेप गर्न खोजेको थियो पूरा हुन सकेन । इतिहासको एउटा गल्तीलाई हस्तक्षेप गर्ने आँट गरेको कुरालाई सकारात्मक लिनुपर्छ । ”

माधव नेपालको पार्टीको अस्थित्व भने कायम रहने उनको विश्लेषण छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९  २१:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro