site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
रुपन्देहीमा चुनावी सरगर्मी : गठबन्धनले उत्साहित कांग्रेस, एमालेलाई विरासत जोगाउने चुनौती
Sarbottam CementSarbottam Cement

बुटवल । सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति घोषणा गरेसँगै सबै राजनीतिक दलहरु तयारीमा जुटेका छन् । आकांक्षीहरु टिकटको लबिङमा लागसँगै दलहरु आ–आफ्ना उमेदवारहरु टुंगो लगाउने कसरतमा छन् । जसको प्रभाव रुपन्देहीमा पनि देखिन थालेको छ । सत्ता गठबन्धन र नेकपा (एमाले)बीच हुने भिडन्तमा यहाँ प्रतिनिधिसभा उमेदवारमा पुरानै अनुहारहरु दोहोरिने सम्भावना बढ्दै गएको छ । 

संघीय सरकारका गृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण, एमालेका उपाध्यक्ष विष्णु पौडेल, कांग्रेसका भरत कुमार शाह, प्रमोद यादव, एमालेका घनश्याम भुसाल, छविलाल विश्वकर्मालगायत केन्द्रीय राजनीतिमा समेत प्रभाव पार्ने नेताहरुको गृहजिल्ला रुपन्देहीमा उमेदवार र निर्वाचनको विषय चासोसाथ हेरिँदै आएको छ । 

११ लाखभन्दा बढी जनसंख्या रहेको रुपन्देहीमा पाँच प्रतिनिधिसभा र १० प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् । अघिल्लो निर्वाचन (०७४)मा संघीयतर्फ पाँचमध्ये तीन क्षेत्रमा एमाले र दुई क्षेत्रमा नेपाली कांग्रेसका उमेदवार विजयी भएका थिए । एमालेले क्षेत्र नम्बर १, २ र ३ तथा कांग्रेसले ४ र ५ मा जित हात पारेको थियो ।  प्रदेशसभातर्फ एमालेले पाँच, कांग्रेसले तीन, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) ले एक÷एक क्षेत्रमा जितेका थिए ।
 
गत वैसाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनबाट जिल्लामा नेपाली कांग्रेस पहिलो र एमाले दोस्रो स्थानमा झरेकाले यसपटक एमालेलाई विगतको विरासत जोगाउने चुनौति थपिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

रुपन्देही–३ : त्रिपक्षीय भिडन्तमा खाँण, भुसाल र बोहोरा

संघीय सरकारका गृहमन्त्री रहेका कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँण, एमाले नेता घनश्याम भुसाल र राप्रपा नेता दीपक बोहराको  निर्वाचन क्षेत्र रुपन्देही ३ हो । क्षेत्र नम्बर ३ मा बुटवल उपमहानगरको वडा नम्बर १४ देखि १९, सिद्धार्थनगर नगरपालिका, शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिकाका वडा नम्बर ७ र ८, ओमसतिया गाउँपालिकाको वडा नम्बर २, सियारी गाउँपालिकाका वडा नम्बर १, २, ३, ६ र ७ तथा तिलोत्तमा नगरपालिकाका वडा नम्बर १३ र १४ पर्दछन् । अघिल्लो निर्वाचनमा यहाँबाट घनश्याम भुसाल विजयी भएका थिए । एमालेबाट भुसालले ३२ हजार ८६६ मत ल्याएर जित निकाल्दा राप्रपाका दिपक बोहरा २७ हजार ४२२ मतसहित पराजित भएका थिए। 

Global Ime bank

यसपटक पाँच दलीय गठबन्धनबाट टिकट पाएको अवस्थामा गृहमन्त्री खाँण निकै सुरक्षित छन् । स्थानीय तहको नतिजाको आधारमा हेर्ने हो भने बुटवल, तिलोत्तमा, सिद्धार्थनगर, सुद्धोधन लगायतका पालिकामा कांग्रेसका उमेदवारहरु विजयी भएका छन् । अघिल्लो पटक प्रत्यक्ष निर्वाचनमा सहभागी नभएका खाँण यसपटक भने प्रत्यक्षबाट नै निर्वाचन लड्ने तयारीमा छन् ।

अहिलेसम्मको परिस्थिति हेर्दा रुपन्देही ३ मा एमालेका भुसाल र गठबन्धनका तर्फबाट कांग्रसका खाँणबीच प्रतिष्पर्धा हुने देखिन्छ । एमालेबाट भुसाल नउठेमा तिलोत्तमा नगरपालिकाका निवर्तमान नगरप्रमुख बासुदेव घिमिरे उमेदवार बन्नेछन् । राप्रपाका दिपक बोहोराको क्षेत्र भए पनि अस्वस्थ्य रहेकोले यसपटक उनी प्रत्यक्ष चुनाव नलड्ने संम्भावना रहेको उनीनिकट स्रोतले जनाएको छ । स्थानीय तहको मतपरिणम हेर्दा एमालेलाई यो क्षेत्रमा एक्लै जित्न निकै चुनौति छ । तर, राप्रपासँग तालमेल भएको खण्डमा भने चुनौति गठबन्धनमाथि बढ्ने देखिन्छ ।

यो क्षेत्रबाट सामाजिक अभियन्ता अधिवक्ता प्रख्यात बन्जाडेले पनि स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् । उनी नेपाली कांग्रेस निकट हुन् । यसअघिको चुनावमा यो क्षेत्रबाट प्रदेशसभातर्फ एमालेका तुलसी चौधरी र जसपाका सन्तोषकुमार पाण्डेय निर्वाचित भएका थिए । 

ह्याट्रिक गरेका पौडेललाई रोक्न रुपन्देही–२ मा को आउला ?

रुपन्देही क्षेत्र नम्बर २ एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलको निर्वाचन क्षेत्र हो । उनले यसै क्षेत्रबाट ह्याट्रिक जित निकालेका छन् । बुटवल उपमहानगर, तिलोत्तमा र सैनामैना नगरपालिकाका विभिन्न वडाहरु समेटिएको यस क्षेत्र रुपन्देहीकै निकै चासोका साथ हेरिएको क्षेत्र हो । यो क्षेत्रमा बुटवल उपमहानगपालिकाका १ देखि १३ नम्बरसम्मका वडाहरू, सैनामैना नगरपालिकाका १ देखि ४ सम्मका वडाहरू र तिलोत्तमाका १ देखि ६ नम्बरसम्मका वडा पर्दछन् ।
 
०४८ सालको निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसका बालकृष्ण खाँण विजयी भएका थिए भने ०५१ सालमा एमालेका मोदनाथ प्रश्रितले खाँणलाई हराएका थिए । यो क्षेत्रबाट पौडेलले २०६४, २०७० र २०७४ को निर्वाचनमा जितेका थिए । पौडेलले ०६४ मा माओवादीका भक्ति पाण्डे, ०७० मा डा.बाबुराम भट्टराई र कांग्रेसका सूर्यप्रसाद प्रधान तथा २०७४ मा कांग्रेसका युवराज गिरीलाई हराएका थिए । यो क्षेत्रमा एमालेबाट अहिले पनि पौडेल उम्मेदवार बन्ने पक्का जस्तै छ ।
 
अघिल्ला तीन निर्वाचनमा लगातार जितेका पौडेललाई यसपटक भने प्रदेश राजधानीको विषयले चुनौतिपूर्ण वातावरण निर्माण भएको छ । बुटवल उपमहानगरमा २४ वर्षपछि नेपाली कांग्रेसले जित्नुको मुख्य कारण नै राजधानी रहेको एमालेले निष्कर्ष निकालेको थियो । लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट दाङ लैजानको लागि अर्थमन्त्रीसँग राजधानी साटेको आरोप भोग्दै आएका पौडेलप्रति उनकै कार्यकर्ताहरुले समेत असन्तुष्टि जनाउँदै आएका छन् ।
 
बुटवल–बेलहिया ६ लेन सडक, तिनाउ दानव कोरिडोर, सिद्धबाबा सुरुङमार्ग, झुम्सा खानेपानी, बुटवल–नारायणगढ र बुटवल–चन्द्रौटा सडक विस्तार, गौतमबुद्ध विमानस्थलमा दोस्रो टर्मिनल भवन, तिनाउ नदीमा सिग्नेचर पुल लगायतका योजना पूरा गर्ने एजेण्डासहित यसपटक उक्त क्षेत्रमा एमालेबाट पौडेल नै उमेदवार बन्ने उनी निकट स्रोतले जनाएको छ ।
 
स्थानीय चुनावमा उक्त निर्वाचन क्षेत्रमा पर्ने पालिका तथा वडामा गठबन्धन विजयी भएकोले यसपटक कांग्रेसमा पनि टिकटका आकांक्षीहरु चुनाव लड्ने जोडबलमा रहेका छन् । अघिल्लो पटक पौडेलसँग २२ हजार मतान्तरले पराजित युवराज गिरी यसपटक पनि उमेदवार बन्ने योजनामा रहेको बताउँछन् । उनले यो क्षेत्रबाट यसपटक आफूले जित निकाल्ने दाबी गर्छन् । कांग्रेसबाट रामबहादुर कार्की, बालकुमारी भण्डारी, एन्फा उपाध्यक्षसमेत रहेका व्यवसायी दीर्घकुमार केसी, अर्का व्यवसायी चुन्नु पौडेल, रोमणीप्रसाद पाठकले पनि यसपटक चुनाव लड्ने आकांक्षा व्यक्त गरेका छन् । कांग्रेस नेता चन्द्र भण्डारीले समेत बुटवलबाटै चुनाव लडने चर्चा भए पनि उनीनिकट स्रोतले भने भण्डारी गुल्मीमै रहने दखाबी गर्यो। 

सत्ता गठबन्धन कायमै रहेको अवस्थामा क्षेत्र नम्बर २ नेकपा (एकीकृत समाजवादी)लाई पर्ने पनि चर्चा छ । यसो हुँदा एकीकृत समाजवादीबाट पार्टीका प्रदेश सचिव राजु गुरुङ उम्मेदवार बन्ने बताइन्छ । उनले आफूले मात्रै पौडेललाई हराउन सक्ने व्यक्ति भएको बताउँदै आएका छन् । समाजवादीबाटै डा. बालकृष्ण चापागाईंले पनि यस क्षेत्रमा दाबी गरिरहेका छन् ।
 
यता ०६४ को संविधानसभा सदस्य तथा नेकपा (माओवादी केन्द्र)का नेता  बिनोद पहाडीले पनि संघीय चुनावको लागि आन्तरिक तयारी थालेका छन् । गठबन्धन रहेको अवस्थामा जित निश्चित हुने भएपछि पहाडीले आन्तरिक तयारी थालेका हुन् । यही क्षेत्रमा डा. निकोलश भुसाल स्वतन्त्र उमेदवार बन्ने तयारीमा छन् । उनले सामाजिक सञ्जाल तथा विभिन्न कार्यक्रम गर्दै उमेदवारी घोषणा गरेका छन् ।

शाह र भट्टराईमध्ये रुपन्देही–५ मा कस्ले मार्ला बाजी ?

रुपन्देही–५ ०७४ मा कांग्रेस नेता भरत शाहले जितेको क्षेत्र हो । यहाँ गैडहवा गाउँपालिका, सैनामैना नगरपालिकाका ५, ६, ७, ८, ९, १० र ११, कञ्चन गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिकाका वडा नम्बर १ देखि ११ सम्म र मायादेवी गाउँपालिकाका केही वडा पर्दछन् । 

आउदो चुनावमा पनि यस क्षेत्रमा कांग्रेसबाट शाह नै उम्मेदवाका रुपमा बलियो दाबेदार हुन् । यस क्षेत्रमा एमालेबाट राष्ट्रियसभा सदस्य खिमलाल भट्टराई उम्मेदवार बन्ने पक्का जस्तै छ । अघिल्लो चुनावमा शाहले एमाले र माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार रहेका माओवादीका डिलाराम आचार्यलाई पराजित गरेका थिए । स्वतन्त्रबाट यहाँ भीष्म रानाले उम्मेदवार बन्ने घोषणा गरेका छन् ।
 
यसअघि, २०५६ सालमा शाहले जित निकालेको यस क्षेत्रमा २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा भने एमालेका स्वर्गीय नेता रामनाथ ढकालले शाहलाई पराजित गरेका थिए । २०७० को निर्वाचनमा ढकाललाई शाहले झिनो मतले पराजित गरेका थिए भने भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा एमाले र कांग्रेसको मत बराबर जस्तै छ । 

रुपन्देही–१ : एमालेका विश्वकर्मा भर्सेस कांग्रेसका रज्जाक

रुपन्देहीको पूर्वी क्षेत्र मानिने क्षेत्र नम्बर १ एमालेका छविलाल विश्वकर्मा र कांग्रेस नेता अब्दुल रज्जाकको क्षेत्र हो । देवदह नगरपालिका, तिलोत्तमा नगरका वडा नम्बर ७, ८, ९, १०, ११, १२, १५, १६ र १७, ओमसतिया गाउँपालिकाका १, ३, ४, ५, ६ र रोहिणी गाउँपालिका यस क्षेत्रमा पर्दछ ।
 
०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा माओवादीले जितेको यो क्षेत्रमा ०७० मा विश्वकर्मालाई रज्जाकले हराएका थिए । ०७४ मा आउँदा विश्वकर्माले रज्जाकलाई पराजित गरेका थिए । यसपटक यहाँबाट एमालेका विश्वकर्मा नै उमेदवार बन्ने लगभग पक्का छ । गठबन्धनको तर्फबाट कांग्रेसले सभापति शेरबहादुर देउवानिकट रहेका रज्जाकलाई नै उठाउने जिल्ला स्तरीय नेताहरु बताउँछन् । 

स्थानीय तहको मतपरिणाम हेर्दा यहाँ एमाले निकै बलियो रहेको छ । यहाँ राप्रपाको पनि राम्रो प्रभाव रहेको छ । जसले गर्दा रज्जाक विश्वकर्माभन्दा तुलनात्मक रुपमा कमजोर देखिन्छन् । यस क्षेत्रमा क्षेत्र नम्बर ३ छाडेर राप्रपाका दिपक बोहोरा उठ्नेसम्मको चर्चा पनि राप्रपाभित्र सुरु भएको छ । तर, कुनै औपचारिक निर्णय भने नभएको राप्रपाका लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदयले जानकारी दिए । 

क्षेत्र नम्बर चारमा यादवलाई शुक्लाको चुनौती

मधेशी समुदायको बाहुल्यता रहेको क्षेत्र नम्बर ४ मा सम्मरीमाई, मर्चवारी र  कोटहीमाई गाउँपालिकाका पूरै वडा तथा मायादेवी गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाका केही वडाहरु रहेका छन्। यो क्षेत्र कांग्रेसका प्रमोद यादव र लोसपाका सर्वेन्द्रनाथ शुक्लाको क्षेत्र हो ।
 
यस क्षेत्रबाट २०७४ को चुनावमा कांग्रेसका यादव र तत्कालीन राष्ट्रिय जनता पार्टीका तर्फबाट शुक्ला उमेदवार रहँदा यादव विजयी भएका थिए । अहिले पनि यहाँ यीनै दुई अनुहारबीच चुनावी भिडन्त हुने निश्चित जस्तै छ । कांग्रेसका यादव उमेदवार बन्ने पक्का हुँदा अघिल्लो निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका ओमप्रकाश यादव जसपामा प्रवेश गरेका छन् । गठबन्धनबाट टिकट पाएको अवस्थामा उनी बलियो प्रतिस्पर्धी हुन सक्छन् ।

अहिलेसम्म गठबन्धनमा सामेल नभएको लोसपाका शुक्लालाई भने यसपटक एमालेको सहयोगको अपेक्षा छ । अघिल्लो निर्वाचनमा कांग्रेस उमेदवारले भन्दा एमालेका उमेदवारले ३० हजार कम मत ल्याएका कारणले पनि एमालेको समर्थन आफूलाई रहने शुक्लाको विश्वास छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ३, २०७९  ११:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC