
काठमाडौं । केही समयअघि मात्रै दर्ता भएको डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रको चुनाव चिह्नमा चुनाव लड्नका लागि निवेदन दिएको छ ।
राजनीतिक दल सम्बन्धी ऐनको दफा ४९ ले एकभन्दा बढी राजनीतिक दलले एकल चुनाव चिह्नमा निर्वाचनमा जान सक्ने व्यवस्था गरेको छ ।
सोहीअनुसार सो पार्टीका नेताहरुले मंगलबार निर्वाचन आयोग पुगेर माओवादीको चुनाव चिह्न गोलाकारभित्रको हँसिया हतौडामा चुनाव लड्न निवेदन दिएका हुन् ।
माओवादीको चुनाव चिह्नमा चुनाव लडेसँगै अब प्रतिनिधि सभामा बाबुरामका पार्टीबाट निर्वाचित हुनेहरु माओवादीका सांसदको हैसियतमा हुनेछन् ।
उनीहरुबीच हाल निर्वाचन प्रक्रियामा मात्रै तालमेल गरेर जाने सहमति भएको छ ।
निर्वाचनमा साझा चिह्न र घोषणापत्रमा जाने सहमति भए पनि पनि पार्टी एकताको भने कुनै समझदारी भएको छैन ।
डा.भट्टराईले पनि चुनावी प्रयोजनका लागिमात्रै तालमेल गरिएको बताए ।
माओवादी केन्द्र्रीय कार्यालय पेरिसडाँडामा माओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरुसँगको छलफलपछि उनले चुनावी तालमेल मात्रै भएको जानकारी दिए ।
“तत्काल दुई पार्टीबीच चुनावी तालमेल गरेर अघि बढ्छौँ । आगामी दिनमा बृहत् अग्रगामी शक्तिहरूको धुव्रीकरण गरेर देशलाई विकास, सुशासन, समृद्धिको दिशामा लिएर जाने संकल्प छ,” भट्टराईले भने ।
त्यस्तै मंगलबार बिहान बसेको माओवादीको स्थायी कमिटी बैठकले बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानलाई पनि पार्टीको चिह्न दिने निर्णय गरेको छ ।
सोही अनुसार वामदेव गौतम पनि आफ्नो पार्टीमा निर्णय गरी दल दर्ताका लागि मंगलबार आयोग पुगेका थिए ।
तर आयोगले दफा ४९ को प्रावधानका बारेमा बुझाएपछि उनी हच्किएका छन् । त्यसपछि उनले दफा ४९ अनुसार निवेदन दिएनन् । सो दफामा संयुक्त चिह्नको व्यवस्था गरिएको छ । गौतमको पार्टी भने छुट्टै दर्ता भएको छ ।
दफा ४८ अनुसार दर्ता भएको उक्त पार्टीको चुनाव चिह्न गोलाकारभित्र झुलेका धानका बाला रहेको छ । उनले भने माओवादीले चुनाव चिह्न दिए साेही अनुसार जाने र नदिए आफ्नो चुनाव चिह्नमै जाने तयारी गरेका छन् ।
गौतमले माओवादीको चुनाव चिह्न लिएर भने जान सक्नेछन् । जस्तो २०७४ सालको निर्वाचनमा हृदयश त्रिपाठीले सूर्य चुनाव चिह्न लिएर उठेका थिए ।
आयोगले माओवादीको चुनाव चिह्नमा जाने भए राजनीतिक दल सम्बन्धी ऐनको दफा ४९ बमोजिम दर्ताको निवेदन दिनुपर्ने, ४८ अनुसार दर्ता भए पछि सहकार्य सकिने जानकारी गराएपछि साेही अनुसार निवेदन दिइएको पार्टीका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए । तथापी माओवादी र आफ्नो पार्टीले हँसिया हतौडा चुनाव चिह्नमा जाने निर्णय गरिसकेकाले सोहीअनुसार निर्वाचनमा सहभागी हुने उनको दाबी छ ।
गौतमले पनि आफूहरुबीच एकै चिह्नमा चुनाव लड्ने मात्रै सहमति भएको बताएका छन् । निर्वाचित भएमा कानुनअनुसार माओवादी केन्द्रको सांसद बने पनि नेकपा एकता राष्ट्रिय अभियानकै पदाधिकारी हुने उनको भनाइ छ ।
“हामीले चुनावमा गोलाकारभित्र हँसिया हतौडा चुनाव चिह्न प्रयोग गर्न खोजेको हो । कानुनी रुपमा त जे छ त्यही हुन्छ । हामी राष्ट्रिय एकताको पदाधिकारी हो । त्यो भइरहन्छौँ,” उनले भने ।
भट्टराईले कुनै पनि हालतमा कम्युनिस्ट नबन्ने भन्दै सार्वजनिक रुपमा बताउँदै आइरहेका छन् ।
त्यसैले माओवादीमा नै एकता हुने सम्भावना नरहेको नेताहरु बताउँछन् । पार्टी एकता नहुने भएपछि एकल चिह्नमा लड्न राजी भएका हुन् ।
गौतमको भने नेकपा एकता अभियान चलाइरहेकाले भविष्यमा माओवादीसँग एकता हुन सक्ने सम्भावना देखिन्छ ।
पाण्डे एकता अभियान चलाइरहेकाले एकताको सन्देश दिन एकल चिह्नमा लड्न तयार भएको बताउँछन् । चुनावपछि एकताको विषयमा छलफल हुने उनको भनाइ छ ।
“अहिले त चुनावी तालमेल हो । एकताको विषय चुनावपछि हुन्छ । पार्टी निर्माण नै एकताका लागि भएको हो । त्यही भएर अर्को पार्टीको चिह्नमा जान तयार भएको हो । हामीले सन्देश दिन खोजेको एकताकै हो ” उनले बाह्रखरीसँग भने ।
पाण्डेले एकताकै निम्ति माओवादीको चिह्न रोजेको भने पनि अहिले भने उनीहरुले आफ्नो सिट सुरक्षित गर्न माओवादीको चिह्नमा लड्न तयार भएको देखिन्छ ।
पार्टी दर्ताको निवेदन दिने क्रममा गौतमले आफ्नो जित सुनिश्चित गर्न माओवादीको चुनाव चिह्न लिएको स्वीकार गरे ।
“गोलाकारभित्र हँसिया हतौडा भएको चुनाव चिह्नमा म चुनाव लड्छु भनेर इच्छा जाहेर गरेको हुँ,” उनले सञ्चारकर्मीहरुसँग भने,“त्यसो गर्न म किन बाध्य भएँ भने गठबन्धनले मलाई न लिए पनि गठबन्धनमा सामेल भएको हुन्छु । जित सुनिश्चित हुन्छ ।”
त्यस्तै, जनता समाजवादी पार्टी छाडेर भर्खरै पार्टी दर्ता गराएका बाबुराम भट्टराई पनि गठबन्धनको सहारामा नै सिट सुरक्षित गर्न खोजेका छन् ।
“पार्टी भर्खरै दर्ता भएको छ । उहाँ गठबन्धन बाहिर जाँदा चुनाव जित्न सक्ने अवस्था छैन । त्यसैले हाम्रो चिह्नमा जान तयार हुनुभएको हो,” माओवादीका एक नेता भन्छन् ।
सिट सुरक्षित गर्नका लागि उनीहरुले जोखिम मोलेरै माओवादीको चिह्नमा जान तयार भएको ती नेताको भनाइ छ ।
माओवादीको चिह्नबाट चुनाव लडेर निर्वाचित भए बाबुराम र वामदेवका पार्टीका सांसदलाई माओवादीकै ह्वीप लाग्ने छ ।
समयक्रममा विवाद भएमा ती पार्टीबाट निर्वाचित भएकाहरु मूल पार्टीमा फर्किन चाहेमा भने माओवादीले उनीहरुलाई कारबाही गर्न सक्ने अधिकार कानुनले दिएको छ ।
संयुक्त चुनाव चिह्नमा निर्वाचनमा जाने छुट दिएको दफा ४९ कै उपदफा ४ ले कारबाही गर्ने अधिकार दिएको हो ।
“..तर उपदफा (१) बमोजिम नयाँ निर्वाचन चिह्न लिई संयुक्त रुपमा निर्वाचनमा सहभागी भएकोमा त्यस्ता सबै दलबाट निर्वाचित सदस्यहरूको दफा २४ बमोजिम नयाँ संसदीय दल गठन हुनेछ । त्यस्तो संसदीय दलको नाम सोही संसदीय दलले निर्धारण गरे बमोजिम हुनेछ ,” दफा ४९ को ४ मा भनिएको छ, (४) उपदफा (३) बमोजिमको संसदीय दलका सदस्यले दफा २८ को उपदफा (१) विपरीतको कार्य गरेमा त्यस्तो सदस्यले दल त्याग गरेको मानिनेछ ।”
आयोग स्रोतले पनि एकल चिह्नले दलको अतित्व नै समाप्त पारिदिने बताउँछ । त्यसैले ठूला दलहरुले यसको प्रयोग नगरेको एक आयुक्तले बताए ।
“हाम्रो अनुभवमा आफ्नो दलको अस्तित्व समाप्त पारेर ठूला दल यता लाग्दैनन् । साना दलहरुका लागि उपयोगी हुन सक्छ भनेर हामीले कानुनी व्यवस्था गरेर दल दर्ता गर्दा नै जानकारी गराउनुपर्ने व्यवस्था राखेका थियौं,” आयोग स्रोतले भन्यो ।
* हेडलाइन परिवर्तन गरिएको ।