site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पौडेलदेखि महामन्त्री शर्मासम्मलाई टिकटको संकट ! कांग्रेसका कुन–कुन नेतालाई छ चिन्ता ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । गएको वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा गठबन्धन गरेका दलहरूले संघीय र प्रादेशिक निर्वाचनमा पनि गठबन्धन गर्ने निर्णय गरिसकेका छन् । संघीय र प्रादेशिक निर्वाचनमा पनि सत्ता गठबन्धनले निरन्तरता पाउँदा नेपाली कांग्रेस नेतृत्वको वाम–लोकतान्त्रिक गठबन्धन सहज अवस्थामा रहन सक्छ ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा सम्मिलित गठबन्धनले निरन्तरता पाए स्थानीय निर्वाचनमा जस्तै नेकपा (एमाले) नेतृत्वको विपक्षी गठबन्धन कमजोर बन्ने धेरैको आकलन छ । केही समयअघि मात्र जसपाबाट अलग्गिएर बाबुराम भट्टराईको नेतृत्वमा गठन भएको नेपाल समाजवादी पार्टीलाई पनि सँगै लिएर हिँड्ने सहमति गठबन्धनभित्र निर्माण भएको बताइन्छ ।

सरकारले आउँदो मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन गर्ने निर्णय गरेलगत्तै गठबन्धनभित्र चुनावी तालमेल गर्ने लिखित सहमति पनि भइसकेको छ । गठबन्धनमा सिट बाँडफाँडका लागि कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा ११ सदस्यीय कार्यदल बनेको छ । कार्यदलमा गठबन्धनमा आबद्ध सबै दलहरूबाट प्रतिनिधित्व छ ।

Prabhu Bank
Agni Group
NIC Asia

उक्त कार्यदलको पहिलो बैठक गएको सोमबार बसेको थियो । सिट बाँडफाँडको ‘मोडालिटी’ बनाउनुपूर्व सबै पार्टीले आ–आफ्नो दलभित्र छलफल गर्ने र पुनः कार्यदलको बैठक बस्ने निर्णय भएको छ । कार्यदल सदस्य तथा एकीकृत समाजवादीका नेता प्रवेश हमालका अनुसार पार्टीभित्र छलफल गरेपछि आ–आफ्ना मोडालिटी कार्यदलको बैठकमा प्रस्तुत गरिनेछ ।

“दलभित्र हामीले कुन मोडालिटीलाई प्राथामिकता दिने भनेर छलफल सुरु गरेकै छैन । हामी आजभोलि नै दलभित्र छलफल गरेर बिहीबारको बैठकलाई तयारी गर्छौँ,” हमालले बाह्रखरीसँग भने, “अन्य दलहरूले पनि यसै गर्नुहुन्छ । सबैको मोडालिटी एक ठाउँमा राख्छौँ र साझा मोडालिटी तयार गर्छौँ ।”

Global Ime bank

देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये कुन दललाई कति दिने, कसले कुन क्षेत्र छाड्ने भनेर दलहरू गृहकार्यमा जुटेका छन् । शीर्ष नेतृत्वबाहेक सबै दलका अरू नेताहरूले सम्मानजनक सिट बाँडफाँड नभए क्षति हुने बताइरहेका छन् ।

पार्टी पहिलो शक्ति बन्न कम्तीमा १०० सिट आफूहरूले पाउनुपर्ने र बाँकी रहने ६५ सिट मात्र अरू दलका लागि छाड्न कांग्रेस सभापति शेरबहादुर देउवालाई पदाधिकारी र नेताहरूले दबाब दिइरहेका छन् । सोमबार बिहान देउवाले बोलाएको पदाधिकारी, पूर्वपदाधिकारीहरू तथा प्रभावशाली नेताहरूको छलफलमा पनि १०० सिट आफूलाई राखेर अरू सिट छोड्नपर्ने सुझाव पदाधिकारी र पूर्वपदाधिकारीबाट आएको थियो । सिट बाँडफाँडका लागि बनेको कार्यदलका संयोजक समेत रहेका नेता कृष्णप्रसाद सिटौला अहिले नै मोडालिटी यो बनिहाल्छ भन्ने अवस्था नरहेको बताउँछन् ।

“प्रारम्भिक बैठक हामीले बसिसकेका छौँ । हामीसँग पर्याप्त समय छ । मोडालिटीको बारेमा सबै दलहरूले आफूभित्रै छलफल गरेपछि समितिमा कुरा अघि बढ्छ,” उनले भने, “सिट बाँडफाँडको विषय संवेदनशील हो । सजिलो विषय हैन र हतारिएर पनि हुँदैन । हामी अब बस्ने बैठकमा मोडालिटीको विषयमा छलफल अघि बढाउनेछौँ ।”

गठबन्धनको मोडालिटी फाइनल भइनसके पनि दलहरू आफूले ०७४ सालमा जितेको ठाउँ त्याग गर्ने पक्षमा छैनन् । ०७४ को निर्वाचनमा माओवादीले प्रत्यक्षमा ३६ सिट जितेको थियो । तर, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साहलगायत नेताले माओवादी परित्याग गरेपछि यो सिट ३३ मा खुम्चेको छ ।

अहिले एकीकृत समाजवादीको प्रत्यक्षमा आठ सिट छ । बाबुराम भट्टराईको पार्टीसँग पनि प्रत्यक्षतर्फ दुई सिट छ । यस्तो अवस्थामा कसरी सिट बाँड्ने भन्ने अन्योल सत्ता गठबन्धनमा छ ।

कांग्रेस महामन्त्री गगन थापानिकट केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी भूगोल, निर्वाचन क्षेत्र र प्रभावका आधारमा दलहरूको सूक्ष्म विश्लेषण गरेर मात्र सिट बाँडफाँड गर्नुपर्ने बताउँछन् ।

“वाग्मती प्रदेशका ३३ सिटमध्ये नेकपा (एस)लाई चार, माओवादीलाई बढीमा नौ सिट तथा बाबुराम भट्टराईलाई एक सिट दिएर बाँकी कांग्रेसले लिन सक्छ । माओवादीले आफ्नो प्रभाव भएका कर्णाली प्रदेशमा केही सिट बढी लिन सक्ला,” शिवाकोटीले भने, “मेरो भनाइको अर्थ प्रभाव क्षेत्रलाई आधार मान्नुपर्छ । यस्तै, एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा पनि छिमेकी जिल्लामा पनि प्रभाव हेर्नुपर्छ । संघमा नपाएको ठाउँमा प्रदेश छ । तर, गठबन्धनभित्रका अरू दलको प्रभाव नै नभएको ठाउँमा भने कांग्रेसले टिकट छाड्नु हुँदैन ।”

गठबन्धनको नेतृत्वकर्ता भएका कारण अरू दल कांग्रेससँग ‘बार्गेनिङ’ गर्ने भूमिकामा छन् । तर, कांग्रेस आफैँचाहिँ सिट व्यवस्थापनको संकटमा छ । ०७४ मा कम्युनिस्टहरूको गठबन्धनसँग प्रतिस्पर्धा गर्दा कांग्रेसका प्रभावशाली नेताहरू समेत पराजित भएका थिए । ती नेताका निर्वाचन क्षेत्रमा एमालेको सहयोग लिए पनि धेरै ठाउँमा माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका नेताहरू निर्वाचित भएका छन् ।

अहिले सिट बाँडफाँडको मोडालिटी बनाउँदा जितको ठाउँमा सम्बन्धित पार्टीकै उमेदवार जिताउने प्रस्ताव स्वाभाविक रूपमा आउनेछ । तर, स्थानीय तह निर्वाचनमा प्राप्त मतका आधारमा ती दलले पाएको मत थोरै हुँदा कांग्रेस नेताहरूको निर्वाचन क्षेत्र व्यवस्थापन ‘फलामे चिउरा चपाउनु’सरह हुने निश्चित छ ।

कांग्रेसका यी शीर्ष नेतालाई टिकटको संकट !
सिट बाँडफाँडमा दलहरूले ०७४ मा आफूले जितेको ठाउँ नछाड्ने सहमति भए कांग्रेसभित्र शीर्ष नेताहरूकै सिट सुरक्षित नहुने देखिन्छ । यसरी सिटको समस्या पर्नेमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलदेखि महामन्त्री विश्वप्रकाश शर्मासहित धेरै केन्द्रीय नेताहरू छन् ।

नेता पौडेलको निर्वाचन क्षेत्र तनहुँ–१ हो । उनले ०७४ मा यहाँबाट निर्वाचन हारेका थिए । नेता पौडेल तत्कालीन एमालेका उमेदवार कृष्णकुमार श्रेष्ठ (किसान)सँग पराजित भएका थिए । श्रेष्ठ अहिले एकीकृत समाजवादीमा छन् । देउवा नेतृत्वको सरकारमा मन्त्री भइसकेका श्रेष्ठले अहिले पनि प्रतिस्पर्धा गर्ने आकांक्षा राखिरहेका छन् । यदि, दलहरू पहिले जितेको स्थानलाई नचलाउने सहमतिमा पुगे पौडेल टिकटको संकटमा पर्नेछन् ।

महामन्त्री शर्मालाई पनि संकट
पौडेलजस्तै टिकटको संकटमा रहेका अर्का नेता हुन्, महामन्त्री विश्वप्रकाश शर्मा । महामन्त्री शर्मा झापा क्षेत्र नम्बर–१ बाट ०७० र ०७४ को निर्वाचनमा पराजित भएका थिए । उनी ०७४ मा वाम गठबन्धनका तर्फबाट माओवादी नेता सुरेन्द्र कार्की (राम)सँग पराजित भएका हुन् । अहिले माओवादीसँगै गठबन्धन भए माअ‍ोवादीले त्यो क्षेत्र आफूले पाउनुपर्ने दाबी गर्ने निश्चित छ । यदि, मापदण्ड बनाउँदा नै गठबन्धनका दलले जितेको स्थानमा अर्कोले दाबी नगर्ने सहमति भए झापा–१ मा कार्की नै दोहोरिने अवस्था बन्न सक्छ । त्यस्तो भएको अवस्थामा शर्मा टिकटको संकटमा पर्न सक्छन् ।

सहमहामन्त्री उपाध्यायलाई उस्तै चिन्ता 
कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना)लाई पनि शीर्ष नेताहरूकै जस्तो चिन्ता छ । उनी गएको निर्वाचनमा तत्कालीन एमाले नेता एवं हालका एकीकृत समाजवादीका सांसद् विरोध खतिवडासँग पराजित भएकी थिइन् । अहिले एकीकृत समाजवादी कांग्रेससँगै गठबन्धनमा छ । देउवा सरकारको स्वास्थ्यमन्त्री समेत भएर काम गरिसकेका उनी टिकटका लागि पनि प्रधानमन्त्री देउवाकै तहमा वार्ता गर्न सक्छन् ।

यस्तै, एकीकृत समाजवादीले जित्न सक्ने कम क्षेत्रमध्ये उनको क्षेत्रलाई पनि राखिएको हुँदा अध्यक्ष माधवकुमार नेपालले पनि उनका लागि कडा ‘लबिङ’ गर्न सक्छन् । त्यस्तो अवस्थामा उपाध्यलाई टिकट पाउन समस्या पर्ने देखिन्छ ।

सधैँजसो चुनाव जित्ने केन्द्रीय नेताहरू पनि संकटमा 
एक मात्र निर्वाचन क्षेत्र भएको सोलुखुम्बुमा कांग्रेसका पुराना नेता बलबहादुर केसी छन् । उनी सोलुखुम्बुबाट ०४८ यता पटक–पटक निर्वाचित भएका छन् । मन्त्री पनि बनिसकेका नेता हुन् । उनले ०६४ को संविधानसभा निर्वाचन र कम्युनिस्ट गठबन्धन भएको ०७४ को आमनिर्वाचनबाहेक ०४८ यताका सबै चुनाव जितेका छन् ।

०७४ मा वाम गठबन्धनका तर्फबाट प्रतिस्पर्धा गरेका माओवादी नेता हेमकुमार राई निर्वाचित भएका थिए । अहिले माओवादी नै कांग्रेससँग गठबन्धनमा रहँदा मंसिर ४ मा हुने निर्वाचनमा केसीलाई टिकटको संकट पर्ने सक्ने देखिएको छ ।

कांग्रेसभित्र टिकट पाउनै जोखिममा रहेका अर्का नेता हुन्, केन्द्रीय सदस्य महेश आचार्य । ०७४ मा मोरङ क्षेत्र नम्बर–४ बाट प्रतिस्पर्धा गरेका आचार्य माओवादी नेता अमनलाल मोदीसँग निर्वाचन हारेका थिए । जसले जितेको छ, उसले नै चुनाव लड्ने समझदारी भए आचार्य पनि टिकटको संकटमा पर्नेछन् ।

टिकटकै समस्या हुने कांग्रेसका अर्का केन्द्रीय सदस्य हुन्, अमृत अर्याल । कांग्रेस मोरङको दशक बढी नेतृत्व गरेका अर्याल मोरङ क्षेत्र नम्बर–५ बाट प्रतिस्पर्धा गर्ने तयारीमा छन् । तर, ०७४ मा माओवादी नेता शिवकुमार मण्डलसँग पराजित भएका उनलाई टिकट पाउन नै गठबन्धनको निर्णय कुर्नुपर्ने अवस्था छ ।

कांग्रेसमा कुनै बेला प्रभावशाली नेताको पहिचान बनाएका पूर्वसहमहामन्त्री डा. रामशरण महतलाई पनि टिकटको समस्या हुने देखिएको छ । लामो समयदेखि कांग्रेसको प्रभाव क्षेत्रका रूपमा चिनिएको नुवाकोटमा अघिल्लोपटक कांग्रेस शून्य बनेको थियो । क्षेत्र नम्बर–१ मा अर्जुननरसिंह केसीलाई हराएका नारायण खतिवडा एमालेमै हुँदा केसीलाई टिकटको धेरै समस्या देखिँदैन । तर, क्षेत्र नम्बर–२ मा डा. महतलाई पराजित गरेका माओवादी नेता हितबहादुर तामाङले स्वाभाविक दाबी गर्नेछन् । गठबन्धनले पनि अन्यथा निर्णय नगरे उनलाई टिकटको समस्या पर्ने निश्चित छ ।

यसबाहेक पनि डा. महतका लागि उनकै भाइ समेत रहेका कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत चुनौती बनेका छन् । अघिल्लो निर्वाचनमा आफ्ना दाइलाई नै सजिलो पार्न काठमाडौं क्षेत्र नम्बर–५ बाट प्रतिस्पर्धा गरेका प्रकाशशरण योपटक जिल्ला फर्कने तयारीमा छन् । देउवाका विश्वासपात्रका रूपमा रहेका प्रकाशशरण फर्कने अवस्थामा रामशरणलाई टिकटको अर्को समस्या हुनसक्छ ।

टिकट पाउनै अप्ठेरो देखिएका अर्का कांग्रेस नेता हुन्, केन्द्रीय सदस्य मोहन बस्नेत । ०७४ को निर्वाचनमा बस्नेत सिन्धुपाल्चोक क्षेत्र नम्बर–१ बाट माओवादी नेता तथा सभामुख अग्निप्रसाद सापकोटासँग पराजित भएका थिए । योपटक माओवादीसँगै गठबन्धन हुने निर्णयपछि बस्नेतले आफ्नो क्षेत्रमा भने गठबन्धन नहुने घोषणा गरिसकेका छन् । आफूले टिकट नै नपाउने सम्भावना देखेपछि उनले नेताहरूलाई आफ्नोबाहेकको क्षेत्रमा तालमेल गर्न आग्रह गरेका छन् । आफ्नो क्षेत्रमा पनि गठबन्धन गरेर माओवादीलाई टिकट दिए विद्रोह हुने चेतावनी समेत दिइसकेका छन् ।

माओवादीले जितेका अरू थुप्रै क्षेत्रहरू छन्, जसमा कांग्रेसका केन्द्रीय नेताहरू नै टिकट पाउनबाट वञ्चित हुनुपर्ने अवस्था आउन सक्छ । कांग्रेसका चिनकाजी श्रेष्ठ ०७४ को निर्वाचनमा गोरखा–१ मा हारेका थिए । उनी माओवादीका हरिराज अधिकारीसँग पराजित भएका हुन् ।

त्यति बेला भोजपुरमा माओवादीका सुदन किरातीले कांग्रेस केन्द्रीय सदस्य तथा नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री उमेशजंग रायमाझीलाई हराएका थिए । यी क्षेत्रमा पनि टिकट व्यवस्थापन कांग्रेसका लागि चुनौती बन्दै छ ।

धनुषा–१ मा कांग्रेसका पुराना नेता आनन्दप्रसाद ढुंगाना माओवादी नेता मातृका यादवसँग पराजित भएका थिए ।

यस्तै, कांग्रेस कर्णाली प्रदेश सभापति अमरसिंह पुन रोल्पा–१ मा माओवादी नेता वर्षमान पुनसँग पराजित भएका थिए ।

तेह्रथुममा कांग्रेस केन्द्रीय सदस्य सीता गुरुङ हाल एकीकृत समाजवादीका नेता तथा वर्तमान स्वास्थ्यमन्त्री भवानी खापुङसँग पराजित भएकी थिइन् ।

कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर डोटी–१ मा हाल एकीकृत समाजवादीका सांसद प्रेम आलेसँग पराजित भएका थिए । यी सबै पराजित नेताहरू पुनः टिकटको दौडमा छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २५, २०७९  ०८:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC