site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एकल चुनाव चिह्न : गठबन्धन गर्नेलाई जोखिमपूर्ण दुई विकल्प 
Ghorahi CementGhorahi Cement

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आइतबारबाट दल दर्ता सुरु भएको छ । निर्वाचन आयोगले साउन ३१ गतेसम्मको समयावधी दिएर दल दर्ता थालेको हो । 

दल दर्ताका लागि आह्वान गरिएको आयोगको सूचनामा दुई वा दुईभन्दा बढी दलले एकल चुनाव चिह्न लिन सक्ने उल्लेख छ । 

राजनीतिक दलसम्बन्धी ऐनको दफा ४९ ले एकभन्दा बढी राजनीतिक दलले एकल चुनाव चिह्नमा निर्वाचनमा जानसक्ने व्यवस्था गरेको छ । 

Agni Group

“...तर उपदफा (१) बमोजिम नयाँ निर्वाचन चिह्न लिई संयुक्त रुपमा निर्वाचनमा सहभागी भएकोमा त्यस्ता सबै दलबाट निर्वाचित सदस्यहरूको दफा २४बमोजिम नयाँ संसदीय दल गठन हुनेछ । त्यस्तो संसदीय दलको नाम सोही संसदीय दलले निर्धारण गरे बमोजिम हुनेछ,” दफा ४९ को ४ मा भनिएको छ,“(४) उपदफा (३) बमोजिमको संसदीय दलका सदस्यले दफा २८ को उपदफा (१) विपरीतको कार्य गरेमा त्यस्तो सदस्यले दल त्याग गरेको मानिनेछ ।”

सोही अनुसार निर्वाचन आयोगले शर्तहरू पूरा गरेर निवेदन दिन सकिने सूचना जारी गरेको हो ।  

Global Ime bank

“राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४९ बमोजिम २ वा सो भन्दा बढी दलले एकल चुनाव चिह्न लिई निर्वाचनमा भाग लिने प्रयोजनको लागि दल दर्ताको निवेदन दिँदा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची–१३ बमोजिमको ढाँचामा निवेदन दिनु पर्ने व्यवस्था गरिएको छ,” आयोगको सूचनामा भनिएको छ ,“दल दर्ताको लागि निवेदन पेश गर्दा संविधानको धारा २६९ को उपधारा ४ बमोजिमका शर्तहरू पूरा गरेको र यी शर्तहरू पूरा गर्ने प्रतिवद्धता जनाएको पत्र समेत निवेदनसाथ संलग्न हुनुपर्ने र आयोगबाट स्वीकृत रुजुसूची (चेकलिष्ट) भरी प्रमुख पदाधिकारी वा प्रमुख पदाधिकारीले अधिकार दिएको व्यक्तिले प्रमाणित गरी पेश गर्नुपर्ने छ ।”

गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा पनि राप्रपा नेपाल, नेपाल परिवार दललगायत नेकपा एमालेको चुनाव चिह्नमा लड्न तयार भएका थिए । 

चुनावी तालमेल गरेको सत्ता गठबन्धनकै दलहरूले गठबन्धन गरेर जाँदा पनि मतपत्रमा उमेदवार नै नभएको दलको चुनाव चिह्न राखिएको भन्दै विरोध गरेका थिए । 

कतिपय दलहरूले मतपत्रमा उमेदवार नै नभएको चिह्न राखिएकाले मत बदर भएको र निर्वाचनमा पराजित हुनुपर्ने गुनासो समेत गर्दै आएका छन् । 

निर्वाचन आयोगले दल दर्ता गर्दा नै एकल चुनाव चिह्नका लागि निवेदन दिन सक्ने जानकारी दलहरूलाई दिएको छ । यो व्यवस्थाले गठबन्धन गर्न चाहने वा भएका दलहरूलाई केही सहजता भने भएको छ ।

एकल चुनाव चिह्नमा जाने निर्णय दलहरूले साउन ३१ गतेभित्रै गर्नुपर्ने निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल बताउँछन् । 

“एकभन्दा बढी दलहरूले एकल चुनाव चिह्नमा प्रतिष्पर्धा गर्न पाउने व्यवस्था नौलो होइन । २०७४ सालको निर्वाचनमा अभ्यास भइसकेको छ,” उनले भने । 

२०७४ सालको निर्वाचनमा नेताहरू हृदेयश त्रिपाठीलगायतले नेकपा एमालेको चुनाव चिह्न लिएर निर्वाचनमा गएका थिए । 

एकल चिह्नमा जाने दुई विकल्प 

पहिलो– गठबन्धनमध्ये एक दलको चुनाव चिह्न लिने 

चुनाव चिह्न लिनका लागि गठबन्धनका लागि दुईवटा विकल्प देखिन्छ । 

पहिलो विकल्प हो– गठबन्धन भएका दलहरूमध्ये एकको चुनाव चिह्नमा लड्ने । त्यसका लागि गठबन्धन गर्ने दलहरूले कुन पार्टीको चुनाव चिह्न लिने भन्ने निर्णय हुनुपदर्छ । संयुक्त रुपमा निर्वाचनमा सहभागी हुने दलको तर्फबाट उमेदवारी दिँदा त्यस्तो उमेदवार कुन दलसँग सम्बन्धित हो त्यो समेत खुलाउनु पर्ने व्यवस्था छ । 

“दुई वा दुईभन्दा बढी दलहरूले एकल चिह्नमा चुनावमा जाने निर्णय गरेमा एउटा दलको चिह्नमा चुनाव लड्न पाउँछन् । मानौं, तीनवटा दलहरूले एकल चिह्न लिने निर्णय गरे । तीमध्ये कसैको चुनाव चिह्न टेबल टेनिस बल, अर्कोको ब्याट, अर्कोको बेस बल रहेछ । उनीहरूले मौजुदा चिह्नमध्ये ब्याट चिह्नमा लड्ने निर्णय गरे,” अर्यालले उदाहरण दिँदै भन्छन्,“आफ्नो सिट सुरक्षित गर्न वा धेरै सिट ल्याउनका लागि ती मध्येका दलका उमेदवारहरू मिलाएर लड्लान् । कतै ब्याट चिह्न भएको पार्टीको उमेदवार उठ्लान् कतै अरु पार्टीको पनि उठ्लान् । त्यसमा कुन पार्टीको उमेदवार हो भन्ने अन्योल हुन सक्छ । उमेदवारको नामको पछाडि कुन दल हो भन्ने खुलाउनुपर्छ । तर, चिह्न भने ब्याटबल नै रहन्छ ।”

एक भएर लड्दा ति दलले समानुपातिकतर्फ पनि एउटै बन्दसूची पेश गर्नुपर्ने हुन्छ । 

“समानुपातिकमा पनि त्यही तरिकाले सबैभन्दा पहिले जनजातिमा ब्याटको राखे । अर्को खस आर्यको पहिलो नम्बरमा, अर्कोको मधेसीको पहिलो नम्बरमा राखेर बन्दसूची पेश गर्न सक्छन्,” अर्याल भन्छन्,“कहिलेकाहीँ हरेक दलको फरक–फरक बन्द सूची पनि पेश हुन सक्छ । तर, यहाँ एकै भएर लड्ने भनेपछि छुट्टा– छुट्टै बन्दसूची राख्न पाएनन् ।”

दोस्रो विकल्प– साझा चिह्न लिने 

एकल चुनाव चिह्न लिनका लागि दोस्रो विकल्प हो गठबन्धनमा रहेका सबै दलले छुट्टै चिह्न लिने । दोस्रो विकल्प भने पहिलो जस्तो सहज छ्रैन । यसका लागि अलग– अलग दलहरू एकता नै भएको मानिन्छ । 

“मानौैं, अहिले भएका चारवटा दलहरू एकै चिह्नमा लड्न तयार भए । ती दलहरूले चारवटै दलको चुनाव चिह्न नलिने र अर्को छुट्टै चिह्न लिएर भनेर निर्णय गरे,” उनी भन्छन्,“त्यस्तो बेलामा को– कसको दलको भन्ने छुट्याउन गाह्रो हुन्छ । त्यो एउटै पार्टीजस्तो मानिन्छ । पछि कसैले छुट्टिन चाहेमा त्यो दलले कारबाही गर्न सक्छ ।”

कारबाहीको जोखिम 

एकल चिह्नमा चुनाव लड्दा कारबाहीको जोखिम बढी देखिन्छ ।

पहिलो विकल्प अन्तर्गतको चिह्नमा चुनाव लड्दा जुन दलको बढी सिट आउँछ त्यही दलको नेता संसदीय दलको नेता बन्न सक्ने व्यवस्था छ । 

एकै चिह्नमा लड्दा र पछि छुट्टिन चाहेमा कारबाही भोग्नुपर्ने देखिन्छ । कुनै एकको चुनाव चिह्नमा लड्दा अलग हुन चाहेमा कानुनी कारबाही हुने छैन भनेर सम्झौता गरेका रहेछन् भने त्यो विषय प्रमुखता भएर कारबाही नहुन पनि सक्ने अवस्था रहन्छ । 

संयुक्त चुनाव चिह्नमा निर्वाचनमा जाने छुट दिएको दफा ४९ कै उपदफा ४ ले भने निर्वाचित प्रतिनिधिले जसको चुनाव चिह्न लिएको हो उसैको निर्देशन पालना गर्नुपर्ने व्यवस्था गरेको छ । 

“..तर उपदफा (१) बमोजिम नयाँ निर्वाचन चिह्न लिई संयुक्त रुपमा निर्वाचनमा सहभागी भएकोमा त्यस्ता सबै दलबाट निर्वाचित सदस्यहरूको दफा २४ बमोजिम नयाँ संसदीय दल गठन हुनेछ । त्यस्तो संसदीय दलको नाम सोही संसदीय दलले निर्धारण गरे बमोजिम हुनेछ,” दफा ४९ को ४ मा भनिएको छ, “(४) उपदफा (३) बमोजिमको संसदीय दलका सदस्यले दफा २८ को उपदफा (१) विपरीतको कार्य गरेमा त्यस्तो सदस्यले दल त्याग गरेको मानिनेछ ।”

गठबन्धन के गर्छ ? 

सत्तारुढ गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा ( राजमो) ले चुनावमा गठबन्धन गरेर जाने निर्णय गरिसकेको छ । 

स्थानीय तहको निर्वाचनमा उमेदवार नभएको चिह्नमा मत परेर बदर भएकाले संयुक्तरुपमा चुनाव चिह्न लिनेबारे छलफल भइरहेको कांग्रेसका केन्द्रीय सदस्य रामहरी खतिवडाले जानकारी दिए । 

“स्थानीय तह निर्वाचनमा जस्तो बदर मत घटाउनका लागि एकल चुनाव चिह्न उपयुक्त हो । अहिले गठबन्धनका दलबीच एउटै चुनाव चिह्नमा लड्ने/नलड्ने भन्ने निष्कर्षमा त पुगिएको छैन । छलफल भने भइरहेको छ,” उनी भन्छन्,“कतै रुखमा, कतै हसिँया हथौडामा लड्नुपर्ने हुनसक्छ । यो छलफलको विषय हो ।”

उता, एकीकृत समाजवादीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडा भने यो विषय गठबन्धनमा प्रवेश नै नभएको बताउँछन् । 

“यो विषयमा गठबन्धनमा छलफल नै भएको छैन । यो सम्भावना पनि देखिँदैन,” उनी भन्छन् । 

एउटै चिह्नमा लड्दा कानुनी जलिटता रहने भएकाले त्यो सम्भावना नै नभएको माओवादीका एक नेताको जिकिर छ । 

०७४ को निर्वाचनमा एमाले र माओवादी पार्टी एकता नै गर्नेगरी अघि बढ्दा समेत आ–आफ्नो दलको चुनाव चिह्नमा लिएका थिए । 

माओवादीका प्रमुख सचेतक देव गुरुङ पनि एक चुनाव चिह्नको विषयमा छलफल नभएको बताएका छन् । 

“यो विषयमा छलफल भएको छैन । शीर्ष नेताहरूबीच कुरा भएको भए थाहा भएन,” गठबन्धनको कार्यदलमासमेत रहेको गुरुङ भन्छन्, “हामीलाई यसबारे सुझाव दिन भनिएको छैन ।”

०७४ को निर्वाचनमा एमाले र माओवादी पार्टी एकता नै गर्नेगरी अघि बढ्दा समेत आ– आफ्नो दलको चुनाव चिह्नमा लिएका थिए । अहिले त गठबन्धन मात्रै भएकाले एकल चिह्नको सम्भावना नै नरहेको  नेताहरू बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २२, २०७९  १९:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC