site stats
बाह्रखरी :: Baahrakhari
अविच्युरी
मेरो लागि त ‘गड फादर’ नै हुनुहुन्थ्यो दुर्गा प्रकाश 

काठमाडौं । पूर्वउपसचिव हर्षरमण उपाध्याय उमेरले ७९ लागिसके । विगतमा घटेका घटनाका तिथिमिति झट्ट याद गर्न सक्दैनन् । तर पूर्वसचिव दुर्गा प्रकाश पाण्डेयका धेरै कुरा उनलाई याद छन् ।

तिनै यादहरुको संगालोलाई कोभिड १९ ले मुलुकमा ‘लकडाउन’ भएको बेला उनले संघर्ष र हर्ष भन्ने आत्मवृतान्तमा उतारेका छन् । 

२६४ लामो पेजको ९९, ११८ र १२५ मा गड फादर भन्न रुचाउने यी प्रिय हाकिमलाई समर्पित गरेका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सरकारी जागिरेको रुपमा भन्सार कार्यालयमा काम गर्दागर्दै उनले भन्सार विभागको निर्देशकको रुपमा कडा प्रशासकको रुपमा पहिचान बनाएका दुर्गा प्रकाशसँग काम गर्ने अवसर पाए । 

शाखा अधिकृतमा लिखित र अन्तर्वार्तामा नाम निकालिसकेका उनलाई भन्सार विभागमा भने शाखा अधिकृतको कुनै दरबन्दी थिएन । 

तर उनी मेहनती र इमान्दार लाग्थ्यो । उनी दुर्गा प्रकाशको नजरमा परे । भन्छन्, “म भन्सारमा नै काम गर्न चाहन्थेँ । तर कुनै सोर्स फोर्स थिएन । उहाँलाई आफ्नो कुरा राखेँ ।” 

दुर्गा प्रकाशले उनलाई मुख्य सचिव कृष्णबम मल्लको लागि सिफारिस गरिदिएका थिए । उनी भन्छन्, “त्यसैले पनि म उहाँप्रति सधैँ अनुग्रहित छु ।” 

उपाध्यायका लागि दुर्गा प्रकाश जतिको नजिक र सहयोगी त कोही छैनन् । 

भन्छन्, “भन्सारमा उहाँ मिस्टर क्लिन जस्तो मान्छे । अनियमितता र बदमासी गरेको उहाँ सहनै सक्नुहुन्नथ्यो ।” 

कर्मचारीहरुमा दुर्गा प्रकाशले उनलाई सबैभन्दा बढी विश्वास गर्ने गरेको उनी खुसी हुँदै सुनाउँछन् । त्यतिबेला भन्सारमा मूल्यांकन शाखा थियो । त्यसको इन्चार्ज  उपाध्याय थिए । 

भन्छन्, “त्यस शाखामा हुने गतिविधिको निर्णय उहाँले गर्नुहुन्थ्यो । त्यहाँ अनुसन्धान गर्नुपर्‍यो तथा जाँच्नुपर्‍यो भनेदेखि मलाई मात्र अह्राउनुहुन्थ्यो । त्यसैले उहाँको प्रभाव ममा बढी थियो ।”

काम चोर, ठग, अनुशासनहीन र भ्रष्टचारी कर्मचारीलाई दुर्गा प्रकाश फिटिक्कै मन पराउँदैनथे । 

एकदिन उपाध्याय, महानिर्देशक दुर्गा प्रकाश र अन्य दुई कर्मचारी वीरगन्जमा निरीक्षण भ्रमणमा निस्केका थिए । फर्किँदा बाटोमा दामनमा हिउँ पर्‍यो ।

“उहाँले गाडी रोक्नुभयो । हामी पनि बाहिर निस्केर हिउँ हेर्न थाल्यौँ । पछाडिबाट कसैले मलाई हिउँको डल्लाले हान्यो । यसो  हेरेको त डाइरेक्टर साहेब पो हुनुहुँदो रहेछ,” उनले भने, “कहिले नहाँस्ने यस्तो गर्नुहोला भन्ने विश्वास नै गर्न नसकिने । उहाँजति सहज र सरल व्यक्ति विरलै हुन्छन् ।”

उनी कार्यरत हुँदा अहिलेको जस्तो भन्सारको इमेज थिएन । त्यहाँ काम गर्ने धेरै राम्रा र थोरै मात्र नराम्रा दुवै खालका कर्मचारी थिए । त्यसबेलाका कर्मचारीले बिहान ७ बजेदेखि राति ८ बजेसम्म सेवा दिन्थे । 

सो सेवा दिएर छिटो छरितो काम गरेबापत साधारण टिप्स सेवाग्राहीबाट पाउँथे । जसलाई दस्तुर भनिन्थ्यो । ५ पैसा, १ रुपैयाँदेखि कसैले ५ रुपैयाँसम्म दिन्थे । 

ती सबै जम्मा पारेर महिनामा सबै कर्मचारीमा बाँडेर खाने चलन थियो । त्यसको अलवा अहिलेजस्तो छुट्टै घुस लिने चलन नभएको उनी सम्झन्छन् । अहिलेजस्तो भ्रष्टाचार होइन । भन्सारको काम त्यही दिनको काम त्यही दिन सकाउनुपर्ने नियम थियो । सडक मार्गबाट वीरगन्ज रक्सौल भई सामान आउँथ्यो भने हवाईजहाजबाट विमानस्थलमा सामान आउँथ्यो । 

“आएका सामानको एक–एक जाँच गर्ने चलन थियो,” उनले भने ।  उनकाअनुसार उनी आफैँ पनि हार्डलाइनरको रुपमा चिनिन्थे । 

भन्छन्, “नभएको भए उहाँसँग चिनजान हुँदैनथ्यो होला । उहाँ अनुशासित भएकोले नै मेरो अनुशासन चिन्नुभयो । उहाँ जस्तो इमानदार मान्छे भए देशको स्थिति यस्तो हुँदैनथ्यो होला ।” 

दुर्गा प्रकाशले सरकारी जागिरे जीवनमा भन्सारमा करिब ९ वर्ष बिताए भने उनले करिब ६ वर्ष उनको नेतृत्वमा काम गरे ।

दुर्गा प्रकाशको देहान्तभएपछि उनी तेस्रो दिन मानभवन उनको घर गएका थिए । 

आफू निम्ममध्यम वर्गीय परिवारमा जन्मेर पनि भन्सारमा केही राम्रा काम गरेको श्रेय उनी दुर्गा प्रकाशलाई दिन चाहन्छन् । भन्छन्, “मलाई मेरो फादर नै गुमाए जस्तो भएको छ । टाढा भए पनि मेरो लागि नजिकको व्यक्तित्व हुनुहुन्थ्यो ।” 

 

 
 

प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९  ०८:२४
प्रतिक्रिया दिनुहोस्