काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो ।
“भुवन केसीलाई सोमबारको क्याविनेट बैठकले नियुक्त गर्ने निर्णय गरेको छ । औपचारिक घोषणा हुन भने बाँकी छ,” सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको सचिवालयले भन्यो ।
स्रोतका अनुसार केसीले आजै सञ्चार मन्त्रालयबाट नियुक्तीको चिठ्ठी बुझ्ने छन् ।
सञ्चार मन्त्रालयले बोर्ड अध्यक्षका लागि आह्वान गरेको दरखास्तमा केसीसहित १० जनाले दरखास्त दिएका थिए । केसीसँगै बोर्डको अध्यक्षका लागि अरुण कुमार प्रधान, दीपक श्रेष्ठ, नरेश कुमार पौड्याल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रृष्ठ, सुशील कुमार पोखरेल र सुष्मा कार्कीको उमेदवारी परेको थियाे । १० जनामध्ये सरकारले केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो ।
केसी स्थानीय निकायको निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।