मुम्बई । बलिउडका विवाहित जोडी विक्की कौशल र कट्रिना कैफलाई ज्यान मार्ने धम्की दिने व्यक्ति पक्राउ परेका छन् । अभिनेत्री कट्रिनालाई अनलाइनमार्फत धम्की आएपछि विक्कीले सान्ताक्रूज प्रहरी चौकीमा एफआईआर दर्ता गराएका हुन् ।
विक्कीको एफआईआरको केही घण्टाभित्रै प्रहरीले उक्त व्यक्तिलाई पक्राउ गरेको हो । प्रहरीले आईपीसीको धारा ५०६ (२) र ३५४ (डी) अन्तर्गत मुद्दा दर्ता गरेको छ । यसका साथै उनीविरुद्ध आईटी ऐन ६७ अन्तर्गत पनि मुद्दा दर्ता गरेको छ ।
प्रहरीका अनुसार विक्की र कट्रिनालाई मार्ने धम्की दिने व्यक्तिको नाम मानविन्दर सिंह हो । मानविर मुम्बईमा स्ट्रगलिंग एक्टर हुन् । उनी बलिउड चलचित्रमा काम गर्ने प्रयास गरिरहेका छन् ।
प्रहरीको सोधपुछमा मानविरले अभिनेत्री कैफलाई एकतर्फि माया गरिरहेको बताएका छन् । आरोपितले फेक इन्स्टाग्राम अकाउन्ट बनाएर धम्की दिने गरेका छन् । लखनउका मानविन्दरले आफ्नो मिडिया अकाउन्टमा कट्रिनालाई श्रीमती र प्रेमिका भन्दै आएका छन् । आउन्टमा उसले विक्कीको टाउकोमा आफ्नो टाउको हालेरसमेत फोटो राखेका छन् । नवभारत टाइम्स