site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
नेपाल नागरिकता विधेयक पारित भएकाेमा एनआरएनएद्वारा स्वागत

लन्डन । प्रतिनिधि सभाद्वारा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ परित भएकोमा गैरआवासीय नेपाली सङ्घले स्वागत गरेको छ । सदनले गत शुक्रमबार बहुप्रतिक्षित सो विधेयक पारित गरेको थियो । 

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का कार्यकारी अध्यक्ष कुल आचार्यले विधेयक पारित भएसँगै विश्वभर रहेका नेपालीलाई मातृभूमिसँग जोड्ने र नेपालमा विदेशी लगानी भित्र्याउन सहज हुने बताए । संघले स्थापनाकालदेखि नै गैरआवासीय नेपाली संघले प्रवासी नेपालीसँग रहेको सीप, स्रोत र पूँजी नेपालको हित र उन्नतिमा परिचालन गर्न जोड दिँदै आएको स्मरण गरे । उनले भने, “विधेयक कार्यान्वयनमा आएपछि दोस्रो पुस्तासमेत नेपालसँग कसिलो गरेर जोडिने छन् ।” 

Argakhachi Cement Island Ad

संघका अर्का अध्यक्ष रविना थापाले पनि नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित भएकामा त्यसको स्वागत गरिन् । “हामी गैरआवासीय नेपाली (एनआरएन)हरूले मातृभूमिका लागि गर्नुपर्ने धेरै बाँकी छ । आशा गर्दछु सम्पूर्ण हामी गैरआवासीय नेपाली एक भई जन्मभूमिका लागि जुट्ने छौँ”, उनले भनिन् । 

उक्त विधेयकअनुसार विदेशमा रहेका कुनै पनि नेपालीका बाबु–आमा, बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको प्रमाण भए त्यस्ता व्यक्तिले गैरआवासीय नागरिकता प्राप्त गर्नेछन् । तर, सार्क मुलुकमा रहेका र बसोबास गरेका नागरिकले यस्तो नागरिकता प्राप्त गर्न सक्ने छैनन् । रासस 

प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  ०७:२६
प्रतिक्रिया दिनुहोस्