विदेश

बग्दाद । इराकको उत्तरी प्रान्त दुहोकको एउटा रिसोर्टमा घातक बम विस्फोटपछि इराकले शनिबार संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक तत्काल आह्वान गर्न आग्रह गरेको छ ।
इराकी विदेश मन्त्रालयका प्रवक्ता अहमद अल–साहफद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “मन्त्रालयले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्लाई टर्कीको आक्रमणबारे छलफल गर्न तत्काल बैठक गर्न अनुरोध गरेको छ ।”
आक्रमणमा दुहोक प्रान्तमा नौ सर्वसाधारणको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका थिए ।
गएको बुधबार इराकको अर्ध स्वायत्त क्षेत्र कुर्दिस्तानको दुहोक रिसोर्टमा आक्रमण गरिएको थियो । इराकी सरकारले टर्की सेनाले आक्रमण गरेको आरोप लगाएको छ । अंकाराले आरोप अस्वीकार गरेको छ । रासस/सिन्ह्वा
प्रकाशित मिति: शनिबार, साउन ७, २०७९ २०:५५
प्रतिक्रिया दिनुहोस्