राज्यले जनसाधारणका समस्यालाई कहिल्यै प्राथमिकता दिएको देखिँदैन । राज्यका नीतिहरू ‘जनमुखी’ भनिएको शासनमा पनि सामान्य जनताका समस्यामा केन्द्रित हुँदैनन् । साधारण जनताका समस्यको उपेक्षा गर्ने राज्यमा नेपाल सम्भवतः अगिल्लै पङ्क्तिमा पर्छ ।
नेपालमा कोभिड-१९ को महामारीमा सरकारी संयन्त्रको उपेक्षाले महामारीको बोझ सबैभन्दा गरिब र कमजोर समूहले नै बढी मार सहेका थिए । महामारी मत्थर नहुँदै राज्यले विभिन्न वर्ग र समूहका लागि अनेकौं सहुलियत दियो तर जनसाधारणप्रति लक्षित कुनै कार्यक्रम आएन ।
आर्थिक वर्ष २०७९/८० को बजेटले अर्थतन्त्र उकास्ने नाममा उद्यमी व्यापारीलाई सहज हुने प्रावधानहरू समावेश गरियो । सरकारी कर्मचारीहरूको यस वर्षसमेत तलब बढ्यो । परन्तु, जनसाधारणको जीवन सहज हुने कुनै कार्यक्रम न नीतिमा आयो न बजेटमै पर्यो ।
यसैगरी नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीतिको नकारात्मक असर सबैभन्दा बढी जनसाधारणले भोग्नुपर्छ तर सामान्य जनताको अवस्थाका सम्बन्धमा त्यसमा एक अक्षर पनि लेखिएको हुँदैन ।
सेयर बजार र आयात निर्यात, भन्सार महसुलजस्ता विषयमा मात्र सरकार र राष्ट्र बैंकको चासो सीमित देखियो । सरकारी कर्मचारीलाई महँगीको मारबाट जोगाउन तलब बढाउने सरकारले कर तिर्ने जनताको बोझ हलुङ्गो बनाउन भने कहिल्यै चासो लिएको देखिँदैन ।
बजारमा दैनिक उपभोगका सामानको भाउ बढेको बढ्यै छ । महँगी बढ्ने क्रम रुसले युक्रेनमाथि आक्रमण गरेपछि तीव्र भएको छ । विश्व बजारसँग जोडिएकाले सरकारले मूल्यवृद्धि पूरै नियन्त्रण गर्न सक्तैन । यद्यपि, सरकारले चाहे केही गर्नै नसक्नने भने होइन ।
आन्तरिक उपाय अपनाएर मूल्यवृद्धि रोक्न गर्नुपर्ने प्रयत्न नै सरकारले गरेन । पेट्रोलियम पदार्थको मूल्यवृद्धि रोक्न नसकेपछि सरकारले कर आंशिकरूपमा कटौती गरेको छ । त्यही निर्णय केही पहिले गरेको भए सम्भवतः बजार अपेक्षाकृत स्थिर हुनेथियो ।
जनसाधारणबाहेक अरू वर्ग र समूहको स्वार्थमा नीतिगत परिवर्तन गर्ने सरकारले जनताका लागि बजारको नियमित र प्रभावकारी नियमन गर्नसमेत नहुने त थिएन । नियमित अनुगमनले बजारलाई पनि अनुशासनमा राख्ने थियो ।
जनताको धैर्यको परीक्षण सरकारकै लागि प्रत्युत्पादक हुनसक्छ । फजुल खर्चमा कटौती र बजारको प्रभावकारी अनुगमन गरिएको देखे भने जनतामा सरकारप्रति समर्थन र विश्वास बढ्नेछ । यसैले राज्यप्रति जनमानसमा वितृष्णा उत्पन्न हुन नदिन सरकारले केही देखिने काम गरोस् ।