काठमाडौं । नेकपा एमालेले नागरिकता विधेयकमाथि संसदीय समितिमा छलफल नगरेर सत्तापक्षले पेलेको बताएको छ । आजको प्रतिनिधि सभा बैठकमा एमाले सांसद खगराज अधिकारीले कोही नेपाली अनागरिक नहुन् भन्नेमा आफूहरु सचेत रहेको बताए ।
“हामीले कुन–कुन कुरा नमिलेका हुन् समितिमा लैजाऔं भनेका थियौं । एक दिनमा छलफल गरौं र त्यही प्रतिवेदन पारित गरौं भन्दाभन्दै सत्ताले ठेलमठेल गर्यो ,” नागरिकता विधेकमाथि दफाबार छलफलमा संशोधनको प्रस्ताव राख्दै उनले भने, “ कोही नेपाली अनागरिक नहुन् । नागरिकता पाउने अधिकार भएका सम्पूर्ण नेपालीले नागरिकता पाउनुपर्छ भन्ने कुरामा सबै सहमत छौं ।”
उनले राज्य व्यवस्था समितिले झण्डै पौने तीन वर्ष लगाएर निष्कर्ष निकालेको बताए । तर, अहिले सत्ताको लागि सिद्धान्त विर्सिएको उनको आरोप छ ।
“सामान्य नीतिहीन, सिद्धान्तहीन संविधानहीन, संविधानको मूलमर्मभन्दा बाहिर गएर फगत सत्ताका लागि हामीले हाम्रो सिद्धान्त विर्सन मिल्छ र ? हामी मूलरुपमा सहमतिमा नै जाऔं,” उनले भने ।