
काठमाडौं । प्रतिनिधिसभाको शून्य समयमा बोल्ने अधिकांश सांसदहरू निर्धारित समयमा आफ्नो भनाइ राख्न सक्दैनन् । बिहीबारको प्रतिनिधिसभाको शून्य समयमा पनि यस्तै माहोल देखियो ।
शून्य समयमा बोल्ने अधिकांश सांसदहरूले निर्धारित समयमा विषयवस्तु प्रस्तुत गर्न नसक्दा आधा वाक्यमै भनाइ टुंग्याउनुपर्यो । सांसदहरूले धेरै विषयवस्तु राख्न त खोजे तर कुनैपनि विषयलाई पूरा गर्न सकेनन् ।
शून्य समयमा बोल्ने नेकपा (एमाले)का सांसद महेश बस्नेत, एमालेकै सांसद रामवीर मानन्धर, नेपाली कांग्रेसका राजेन्द्र केसीलगायतका अन्य सांसदहरू समयमै आफ्ना कुरा संसद्समक्ष राख्न सकेनन् ।
शून्य समयमा सभामुख अग्निप्रसाद सापकोटाले समयको किटान गरेर (हरेक सांसदलाई १ मिनेट) मात्र बोल्न अनुमति दिएका थिए । तर, सांसदहरूको विषय, प्रस्तुत गर्ने शैली शून्य समयमा तोकिएको समयसीमा भन्दा लामो थियो । जसकारण पनि उनीहरूले पूरा सम्बोधन गर्न पाएनन् । आधा विषयवस्तु बोल्दा नै उनीहरूको समय सकिएर माइकमा साउन्ड काटिएको थियो । संसद्मा प्रभाव जमाएका सांसदहरूसमेत संसद्को शून्य समयको परीक्षामा अनुत्तीर्ण रहे ।
बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्ने एमाले सांसद बस्नेतले पूरा विषय बोल्न नपाउँदै एक मिनेटको समय सकिएको थियो ।
उनले बोल्दै गर्दा समय सकिएको थियो । उनी समय सकिएर माइकमा साउन्ड नआएपछि मुसुक्क हाँस्दै आफ्नो आसनमा बसेका थिए ।
त्यस्तै, शून्य समयमा बोल्ने मायादेवी न्यौपानेले पनि बोल्दाबोल्दै समय सकिएको थियो । उनले भर्खरै उपसभामुखमा निर्वाचित पुष्पा भुसाललाई सफल कार्यकालको शुभकामना दिँदा नै एक मिनेटको समय सकिएको थियो । तर, सांसद न्यौपानेले शुभकामनापछि मातृकाप्रसाद कोइराला र अर्का नेता भन्ने क्रममा नै समय सकियो । उनले पनि पूरा बोल्न सकिनन् ।
उनलाई आफ्नो समय सकिएको पनि थाहा भएन । यतिसम्मकि सभामुख सापकोटाले अर्का सांसदलाई बोल्न दिँदासमेत उनी बोलिरहेकी थिइन् ।
लगत्तै बोल्ने सांसद मिना सुब्बाले पनि एक मिनेटको समयमा कुरा राख्न सकिनन् । उनले निर्वाचन आयोगले खरिद गरेका सामग्री प्रयोगविहीन भएकोबारे बोलेकी थिइन् । सांसद सुब्बाले अघिल्लो निर्वाचनमा निर्वाचन आयोगले अर्बौं रुपैयाँ लगानी गरेर खरिद गरिएका मेसिन प्रयोगविहीन रहेको बताइन् । यत्तिकैमा उनको समय सकियो । उनले बोलेको पछिल्लो वाक्य पूरा नभएको दृश्य र अडियो सुन्न र देख्न सकिन्छ ।
लगत्तै बोलेकी सांसद मैनाकुमारी भण्डारीले पनि एक मिनेटमा संसद्मा कुरा राख्न सकिनन् । सांसद भण्डारीले गुल्मीका खोलामा आएको बाढीले घरजग्गा कटान गरेको विषय उठाएकी थिइन् । उनले सिँचाइमन्त्रीको ध्यानाकर्षण बोल्नुबाहेकका शब्द संसद्मा रेकर्ड हुन सकेनन् । त्यत्तिकैमा उनको बोल्ने समय सकियो ।
त्यसपछि शून्य समयमा बोल्ने नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले पनि समयको ख्याल गरेर विषय प्रस्तुत गर्न सकेनन् । उनले गत आर्थिक वर्षमा पुँजीगत खर्च ५७ प्रतिशत मात्रै भएको र त्यसमा ५० प्रतिशत भन्दा बढी असारे विकास भएको बताए । सांसद केसीले विकास निर्माणको काम अत्यन्त लजास्पद रूपमा बताए । सांसद केसीले भूकम्पको अवस्थामा पनि यस्तो अवस्था देखिएको थिएन भन्ने शब्द बोल्दै गर्दा माइकको आवाज काटियो । वाक्य पूरा गर्ने उनको चाहना पनि पूरा हुन सकेन ।
त्यसपछि बोल्ने सांसद राजेन्द्रप्रसाद गौतम पनि संसद्को समयसीमाको परीक्षामा अनुत्तीर्ण रहे । उनले असार २४ गते संखुवासभाको चैनपुर डुमकटामा भएको ट्याक्टर दुर्घटनाबारे बोलेका थिए । सांसद गौतमले दुर्घटनामा घाइतेहरूको उपचारको क्रममा मनकामना अस्पताल खाँदबारी भन्ने वाक्यांश पूर्ण गर्न नपाउँदै समय सकियो ।
त्यस्तै सांसद राधाकुमारी ज्ञवाली पनि शून्य समयको समयमा फेल भइन् । उनले किसानहरूलाई सरकारले समयमा नै मल उपलब्ध गराउन नसक्नु नालायकीपन भएको बताइन् । उनले सिँचाइ नभएको कारण रोपेको धानसमेत सुकेर किसानको नोक्सान भएको छ भन्न नपाउँदै समय सकिएको थियो ।
शून्य समयमा बोलेका सांसद रामवीर मानन्धरको अवस्था पनि फरक थिएन । उनले श्रीमानहरूले बनाएको प्रचण्ड प्रतापी भूपतिको सरकारले एक वर्षमा कुनैपनि राम्रो काम नगरेको आरोप लगाए । उनले पनि पूरा बोल्न नपाउँदै समय सकियो ।
त्यस्तै, सांसद रेखा कुमारीले पनि संसदीय समयको सीमामा बोल्न सकिनन् ।
यसरी बिहीबारको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्ने १० जना सांसदहरूले एक मिनेटको समयमा आधा मात्रै कुरा राख्न पाए । सांसदहरू आवश्यक समयमा बोल्ने विषयवस्तु तय गर्न नसक्दा समय सीमामा धेरैपटक चुकेका छन् । यी आजको
प्रतिनिधि सभाका प्रतिनिधिमूलक घटना मात्रै हुन् । अन्य दिन पनि यस्तो दोहोरिरहन्छ ।