site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
मधेस प्रदेश : गत आवकाे भुक्तानी हुन बाँकी पौने दुई अर्ब चालु बजेटबाट चुक्ता गर्ने तयारी
भुक्तानी हुन नसकेको रकम सरकारले चालु आर्थिक वर्षको बजेटबाट दिने गृहकार्य सुरु गरेको अर्थ सचिव गजेन्द्र कुमार ठाकुरले जानकारी दिएका छन् । तस्बिर स्राेत : अर्थ मन्त्रालय, मधेस प्रदेश

जनकपुरधाम । मधेस प्रदेशमा गत आर्थिक वर्षमै सम्पन्न भएका याेजनाकाे पौने दुई अर्ब रकम भुक्तानी हुन बाँकी छ ।

आर्थिक वर्ष ०७८/७९ मा सम्पन्न भएका याेजना तथा कार्यक्रमकाे एक अर्ब ७५ करोड तीन लाख ६ हजार ५३८ रुपैयाँ भुक्तानी हुन बाँकी रहेको अर्थ मन्त्रालयले जनाएको छ । कर्मचारी अभाव र सर्भर डाउनका कारण सो रकम भुक्तानी हुन नसकेको प्रदेश सरकारको भनाइ छ ।

Argakhachi Cement Island Ad

भुक्तानी हुन नसकेको रकम सरकारले चालु आर्थिक वर्षको बजेटबाट दिने गृहकार्य सुरु गरेको अर्थ सचिव गजेन्द्र कुमार ठाकुरले जानकारी दिए । उनका अनुसार सरकारले चालु आर्थिक वर्षको बजेटमा विविध शीर्षकबाट भुक्तानी दिइनेछ ।

असार ३२ गते संसदमा भुक्तानीबारे सांसदहरूले अवाज उठाएपछि सभामुख सरोजकुमार यादवले भुक्तानी हुन बाँकी रहेको रकम बारे विवरण प्रदेशसभामा बुझाउन अर्थमन्त्री शैलेन्द्र प्रसाद यादवलाई निर्देशन दिएका थिए । 

मन्त्रालयले भुक्तानी हुन बाँकी रहेका सबै निकायबाट विवरण मगाएर मंगलबार सभामा पेस गरेकाे हाे ।

संसदले अनुमोदन गरेपछि अर्थ मन्त्रालय र प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयलाई अनुमोदन भएको आदेश पठाएपछि भुक्तानी हुने ठाकुरले बताए । उनका अनुसार संसदबाट अनुमोदन भएको आदेश आउने बित्तिकै भुक्तानी दिन थालिनेछ । 

चालु महिनाको अन्तिम साता वा भदौ पहिलो साता सम्म सबै भुक्तानी भइसक्ने उनको दाबी छ । "यसमा कानुनी जटिलता नआउनु पर्ने हो, किनभने संसदबाट पारित भएर आएको हुन्छ," उनले भने, "संसदले नै भुक्तानी दिनुपर्ने कुरा उठान गरेको छ । संसद सर्वभाैम हुन्छ, त्यसकारण पारित भएपछि समस्या नआउन सक्छ ।"

आएकै बजेटबाट भुक्तानी दिइने भएकाले समस्या नआउने उनको तर्क छ ।

प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १९:५१
प्रतिक्रिया दिनुहोस्