
काठमाडौं । कोभिड–१९ संक्रमणपछि पहिलोपटक नेपाली चलचित्र ‘कबड्डी–४’ ले उत्साहजनक व्यापार गर्यो । त्यसअघि, हिन्दी सिनेमा ‘सूर्यवंशी’, ‘आरआरआर’, ‘केजीएफ च्याप्टर–२’, ‘पुष्पा’लगायत चलचित्रले नेपालमा राम्रो बक्सअफिस कलेक्सन गरेका थिए ।
नेपाली सिनेमा हलले नेपाली चलचित्रको उल्लेख्य कलेक्सनका लागि भने कबड्डी–४ नै कुर्नुपर्यो । अरू नेपाली चलचित्रले अपेक्षित व्यापार नगरिरहेका बेला कबड्डी–४ ले अपेक्षाभन्दा धेरै कलेक्सन गर्यो । यसका मुख्य कलाकार तथा वितरकले नै यो चलचित्रको व्यापारलाई ‘अनपेक्षित सफलता’ भने । व्यापार राम्रो गर्छ भन्ने अपेक्षा भए पनि जसरी दर्शकको चाप यो चलचित्रमा देखियो, त्यसलाई कबड्डी–४ का मुख्य पात्र दयाहाङ राईले नै अपेक्षाभन्दा धेरै व्यापार गरेको बताए ।
कबड्डी–४ ले हालसम्मकै सर्वाधिक कलेक्सन गर्यो । ‘छक्का पञ्जा’को नाममा रहेको सर्वाधिक कलेक्सनको रेकर्ड यो चलचित्रले ‘ब्रेक’ गरेको निर्माण पक्षको दाबी छ । चलचित्रले ५१ दिन मनाइसकेको छ ।
त्यसयता पनि थुप्रै नेपाली चलचित्र रिलिज भइसके । केही राम्रो हाइप बनाएका र अपेक्षा गरेका चलचित्र रिलिज भए । केही औसत अपेक्षा गरिएका चलचित्र प्रदर्शनमा आए ।
कबड्डी–४ पछि अपेक्षा गरिएको र राम्रो हाइप बनाएको चलचित्र ‘चिसो मान्छे’ रिलिज भयो । अपेक्षा गरिएको अर्को चलचित्र ‘दोख’ पनि प्रदर्शन भयो । ‘सम्झना बिर्सना’, ‘सिल्ली फो’ प्रदर्शनमा आए । तर, यी कुनै पनि चलचित्रले अपेक्षित व्यापार गरेनन् ।
‘चिसो मान्छे’, ‘दोख’ र ‘सम्झना बिर्सना’ले राम्रो व्यापार गर्ने वितरकको अपेक्षा थियो । तर, चलेनन् । त्यसैले कबड्डी–४ ले नेपाली सिनेमाको बजार फर्काएको धेरैले गरेको अनुमान ‘फेल’ भयो ।
चलचित्र वितरक गोविन्द शाही पब्लिसिटीका लागि प्रयोग गरिने गीत, ट्रेलर, टिजर, पोस्टरले दर्शकको मन खिच्नुपर्ने बताउँछन् । अन्यथा, जतिसुकै राम्रो चलचित्र भए पनि नचल्ने उनको दाबी छ ।
“अझै पनि कबड्डीको गीत मान्छेले सुनिरहेका छन् । टिकटकमा टिकटक बनिरहेको छ,” उनी भन्छन्, “जबसम्म पब्लिसिटी म्याटरले दर्शकलाई हलसम्म डोर्याउँदैन, चलचित्र चल्दैन ।”
कबड्डी–४ को ५५ दिनसम्म पनि हलमा ६०÷७० दर्शक रहेको तर त्योभन्दा पछि रिलिज भएका चलचित्र उत्रिसकेको उनी बताउँछन् । कन्टेन्ट राम्रो नहुनु र प्रोमोसन नपुग्नु नै चलचित्र नचल्नुको मुख्य कारण भएको वितरक शाहीको निष्कर्ष छ । कन्टेन्ट नै दर्शकको रोजाइमा पर्नुपर्ने र त्यसले छुन सक्नुपर्नेमा उनको जोड छ ।
हलिउड र बलिउडका सिनेमा पनि रिलिज भइरहेका तर त्यसमा पनि दर्शकको उपस्थिति नदेखिएको उनको भनाइ छ ।
वितरक करण श्रेष्ठ पनि कबड्डी–४ पछि अपेक्षाअनुसारको व्यापार नभएको स्वीकार गर्छन् । राम्रो हाइप बनाएका चलचित्रले पनि दर्शकलाई भने हलसम्म उल्लेख्य रूपमा तान्न नसकेको उनी बताउँछन् ।
कोभिड–१९ का कारण लामो समय सम्पूर्ण व्यापार–व्यवसाय गुमाएर बसेका दर्शक तत्काल गम्भीर सिनेमा हेर्न तयार नभइसकेको श्रेष्ठको निष्कर्ष छ । “हाइप राम्रो बनाएका, टिम राम्रो भएको, निर्देशक र कलाकारसमेत स्टार भएको चलचित्र पनि चलेन भन्नुको अर्थ कोभिडको त्रासबाट बाहिर भर्खरै आएका दर्शक अझै पनि गम्भीर सिनेमा हेर्न तयार भइसकेका छैनन् भन्ने हो,” वितरक श्रेष्ठ भन्छन्, “अहिलेको अवस्था हेर्दा रमाइला र कमेडी चलचित्र मात्रै चल्ने देखियो । हाँस्ने र हँसाउने प्रकृतिका चलचित्र मात्रै हेर्न दर्शकले रुचाएको देखिएको छ ।”
चिसो मान्छेले लगानी उठाए पनि यसले उल्लेख्य कलेक्सन गर्ने अपेक्षा रहेको उनी सुनाउँछन् । लगातार एकै समय एउटै प्रकृतिका चलचित्र आउनु पनि त्यसको अर्को कारण हुन सक्ने उनको बुझाइ छ । ‘चिसो मान्छे’, ‘दोख’ उस्तैउस्तै चलचित्र एकै समय आएको उनले उल्लेख गरे ।
कलाकार तथा निर्माता दीपकराज गिरी नेपालमा अझै केही समय गम्भीर सिनेमा नचल्ने बताउँछन् । दर्शकले सिनेमाबाट शिक्षा र उपदेशभन्दा पनि मनोरञ्जन नै खोज्ने र यसलाई नजरअन्दाज गर्न नहुनेमा उनी जोड दिन्छन् ।
दर्शकलाई गम्भीर हुने धेरै बहाना रहेको तर खुला हृदयले हाँस्ने अवसर कमै हुने भएकाले यसका लागि दर्शक सिनेमा हेर्न हल जाने गरेको तथ्य बिर्सिन नहुने दीपक बताउँछन् । यसलाई नजरअन्दाज गर्ने चलचित्र व्यापारमा पछि पर्ने उनको भनाइ छ ।